newskoseli.Com

२० देशका उच्च सैनिकको अभ्यास राजधानीमा सुरु

 

विपदको समयमा मानवीय उद्धारमा खटिँदा बहुराष्ट्रिय सेनाबीच सम्पर्क कायम गरी सूचना प्रवाहलाई कसरी व्यवस्थित तुल्याउन सकिन्छ भन्ने उद्देश्यले राजधानीमा सोमबारदेखि २० मुलुकका उच्च सैनिकको अभ्यास सुरु भएको छ ।

अमेरिकी सेनाको प्रशान्त क्षेत्र कमान्डको सहयोगमा नेपाली सेनाद्वारा आयोजित उक्त अभ्यासमा आ–आफ्ना देशका सैनिकले सञ्चालनमा ल्याएका दूरसञ्चार (सिग्नल) मार्फत बहुराष्ट्रिय सेनाबीच विपदका समयमा सम्पर्क र समन्वय गरी मानवीय कार्यलाई प्रभावकारी तुल्याउनेबारे सैद्धान्तिक र व्यावहारिक अभ्यास हुनेछ ।

अभ्यासमा विभिन्न मुलुकका उपरथी तहसम्मका २ सय ७५ सैनिकको सहभागिता छ । सन् २००५ मा जापानमा आएको सुनामीपछि ठूलाखाले प्राकृतिक प्रकोपका घटनाका बेलामा उद्धारमा खटिएका बहुराष्ट्रिय सेनाको जिम्मेवारी र मानवीय उद्धार कार्यलाई व्यवस्थित तुल्याउन सैनिकले प्रयोग गर्ने दूरभाष यन्त्रलाई समयानुकूल बनाउन यस्ता कार्यले निकै ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ ।

भूकम्प, सुनामीजस्ता ठूलाखाले विपदका घटना आएर सम्बन्धित मुलुकको दूरसञ्चार प्रणाली अवरुद्ध भएको समयमा सहयोग र सम्पर्क आदान–प्रदान गर्न सैनिकले सञ्चालन गर्ने फ्रिक्वेन्सी निकै प्रभावकारी सावित हुँदै आएको छ । चौधदिने सो अभ्यासमा नेपाल, अष्ट्रेलिया, बंगलादेश, कम्बोडिया, फिजी, फ्रान्स, इन्डोनेसिया, जापान, मंगोलिया, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, सिंगापुर, श्रीलंका, थाइल्यान्ड, टोगो, भियतनाम, दक्षिण कोरिया, पपुवा न्युगिनी र अमेरिका सहभागी छन् ।

स्थलगतरुपमा प्राप्त गरिएको ज्ञानका आधारमा नेपाली सेनाले २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पका समयमा बहुराष्ट्रिय सेनासँग आफनो सिग्नलमार्फत सम्पर्क, सहयोग र समन्वय प्रभावकारी ढंगबाट गरेको थियो । विश्वमा सूचना र प्रविधिको क्षेत्रमा के–कस्तो विकास भइरहेको छ भन्ने बारेमा जानकारी हासिल गर्न सहयोग पुग्ने यो कार्यक्रम नेपालमा दोस्रो पटक आयोजना गरिएको हो ।

तीन पटक योजना बनाएर त्यसका आधारमा वार्षिक रुपमा यस्ता अभ्यास विभिन्न मुलुकमा गरिन्छ । कार्यक्रमको उदघाटन गर्दै युद्धकार्य महानिर्देशक उपरथी प्रभुराम शर्माले प्राकृतिक विपदको समयमा हुन सक्ने मानवीय क्षतिलाई रोक्न र उद्धार कार्यलाई प्रभावकारी तुल्याउन बहुराष्ट्रिय सेनाबीच सहयोग र सम्पर्क कायम राख्न सहयोग पुर्‍याउने यस्ता अभ्यास निकै अर्थपूर्ण रहने धारणा व्यक्त गरे ।

नेपालमा २०७२ को भूकम्पका बेला बहुराष्ट्रिय सेनाबाट भएको उद्धार, सहयोग र समन्वयको स्मरण गराउँदै विपदका बेला सेनाबीच सूचना आदान–प्रदान र सही व्यवस्थापनको खाँचो भएको उनले बताए । अमेरिकी सेनाका कृष्टी विल्सनले विपदको समयमा बहुराष्ट्रिय सेना परिचालन हुँदा मानवीय सहायता कार्यलाई निकै परिणाममुखी तुल्याउन सकिने धारणा व्यक्त गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर