newskoseli.Com

‘चौथो श्रीमती बन्न खोज्दा’ फसिछन् महिला फन्दामा…

 

पाँच वर्षदेखि श्रीमानले वास्ता गर्न छाडेपछि डडेल्धुराकी २२ वर्षीया नन्दिता भट्ट (नाम परिर्वतन) बिचल्लीमा परेकी छन् । कलिलो उमेरमै विवाह गरेकी नन्दिता श्रीमानले छाडेपछि मानव बेचबिखनमा संलग्न समूह (दलाल) को फन्दामा परिन् ।

नन्दिताको अवस्थालाई नजिकबाट नियाल्दै आएका अमरगढी नगरपालिका– ८, डडेल्धुराका रुपेन्द्र पाण्डेयले अनेकौं प्रलोभनमा पारेर भारत लाँदै गरेको अवस्थामा कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट उद्दार गरिएपछि घटनाको रहस्य खुलेको छ । पाण्डेयले नन्दितालाई धनगढीमा १२ कोठे घर र अन्य सम्पत्ति समेत छ भन्दै फकाएर भारत लगिरहेको अवस्थामा उनीहरु प्रहरीको फन्दामा परेका हुन् ।

कञ्चनपुरको प्रहरी हिरासतमा रहेका पाण्डेयले सामान किन्ने बहानामा नन्दितालाई दिल्ली लैजाँदै गर्दा उनी गड्डाचौकीमा पक्राउ परेका हुन् । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि गड्डाचौकीमा स्थापना गरिएको ‘थ्री एन्जल्स नेपाल’ नामक संस्थाले असार २३ मा नन्दिताको उद्धार गरी आफ्नो संरक्षणमा राखेको छ ।

‘नन्दिताका श्रीमान् पनि लामो समयदेखि भारतमै मजदुरी गरिरहेका रहेछन्’– थ्री एन्जल्स नेपालका कञ्चनपुर इन्चार्ज बेलु नेपालीले भनिन् । आर्थिक अवस्था निकै कमजोर भएपछि नन्दिता दलाल पाण्डेयको प्रलोभनमा परेकी रहिछन् । नन्दितालाई आफूले विवाह गर्ने प्रलोभन पाण्डेयले दिएको नेपालीले बताइन् । विवाहलगत्तैदेखि नै भारत बस्दै आएका नन्दिताका श्रीमान् अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।

मानव बेचबिखनमा सक्रिय पाण्डेयलाई लामो प्रयासपछि प्रहरीले डडेल्धुराको पोखराबाट पक्राउ गरेको हो । ‘नन्दिताको गहना समेत बेचेर ‘मेरै श्रीमती हो’ भन्दै भारत लगिरहेको थियो’– थ्री एन्जल्स नेपालकी इन्चार्ज नेपालीले भनिन् । सोधपुछका क्रममा नन्दितालाई नियन्त्रणमा लिएपछि अभियुक्त पाण्डेय भारतको वनबासातर्फ भागेका थिए । उनी भारतको झुलाघाट हुँदै बैतडीबाट डडेल्धुरा फर्किएका थिए ।

पाण्डेयलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको छ । ‘पाण्डेयका घरमै तीन वटी श्रीमती रहेको अनुसन्धानका क्रममा खुलेको छ,’ नेपालीले भनिन्– ‘दुई वटी श्रीमती घरमै छन्, अर्की श्रीमती बाहिर रहेको पाइएको छ र नन्दितालाई चौथो श्रीमती बनाउने भनिएको रहेछ ।’

उद्धारपछि नन्दितालाई थ्री एन्जल्सले आयमूलक सिपका लागि केन्द्रीय कार्यालय पोखरा पठाउने तयारी गरेको छ । ‘पोखरामा सिप सिकेर केही काम गर्ने योजनामा छु’– नन्दिताले भनिन् । पछिल्लो समय पश्चिमी नाका गड्डाचौकी हुँदै ‘रोजगारीका लागि’ तेस्रो मुलुक जाने महिलाको संख्या बढ्दै गएको छ । घरमा विभिन्न बहना बनाई दलालको सम्पर्कमा आएर सो नाकाबाट महिला सोझै दिल्ली पुग्ने गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर