newskoseli.Com

अर्थमन्त्रीको दावी : ‘विश्वबैंकले सहायता दोब्बर बढाउँछ’

 

नेपाललाई उपलब्ध गराइरहेको सहायता रकम दोब्बर वृद्धि गर्ने विश्वबैंकले प्रतिबद्धता जनाएको छ । अमेरिकाको राजधानी बासिङटन डीसीबाट शनिबार स्वदेश फर्केपछि अर्थमन्त्री डा. युवराज खतिवडाले त्यस्तो जानकारी दिएका हुन् ।

सरकारको प्राथमिकता अनुसारका विकास आयोजना कार्यान्वयनमा विश्वबैंकबाट विकास सहयोग जुटाउन अर्थमन्त्री खतिवडा वासिङटन गएका थिए । त्यहाँबाट फर्कने क्रममा विश्लबैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत थप सहायता रकम उपलब्ध हुन लागेको उनले जनाएका छन् ।

डा. खतिवडा स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सन् २०१८ मा प्राप्त भइरहेको भन्दा दोब्बर सहायता रकम नेपालले प्राप्त गर्ने विश्वास उनले व्यक्त गरे । विश्वबैंकले नेपालमा हाल विभिन्न आयोजनामार्फत करिव २ अर्ब ७० करोड डलर अर्थात् २ खर्ब ७० अर्ब रुपैयाँ बराबरको लगानी गरिरहेको छ ।

सन् २०२२ मा अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न विभिन्न क्षेत्रमा थप सहयोगको आवश्यकता रहेकाले विश्वबैंक समूहका विभिन्न संस्थाका पदाधिकारीसँग महत्त्वपूर्ण छलफल भएको जानकारी उनले दिए । नेपाल सरकार र विश्वबैंकबीच पाँचवर्षीय देशीय साझेदारी ढाँचाअन्तर्गत अन्तर्राष्ट्रिय विकास संस्थाले सहयोग बढाउने भएको हो । सन् २०१९ देखि २०२३ का लागि कार्ययोजना तयार भई बैंकले समेत पारित गरिसकेको छ ।

‘हामीले समग्र कार्यक्रम र योजनाको ढाँचा तयार पारेका छौं त्यसको लागत अनुमान पनि भएको सन्दर्भमा सहायता दोब्बर हुन्छ भनेर हामीलाई बताउनुभएको छ’– अर्थमन्त्री डा. खतिवडाले भने । नेपालले भूकम्पपछिको पुनर्निर्माणका लागि समेत विश्वबैंकबाट थप सहायता ल्याउन प्रस्ताव गरेको छ । केही ठूला र बहुउद्देश्यीय परियोजनामा समेत लगानीको सुनिश्चितता खोजेको छ ।

संघीयता कार्यान्वयन र विकासका आवश्यकता पूरा गर्न विश्वबैंक र अमेरिकी सरकारका प्रतिनिधिसँग महत्त्वपूर्ण छलफल भएको अर्थमन्त्री खतिवडाको भनाइ छ । अर्थमन्त्री डा. खतिवडाले साउन २२ मा विश्वबैंकका कार्यकारी निर्देशकको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए ।

स्थानीय निकायको क्षमता, नेपालको विकासको मार्गचित्र, प्राथमिकता, सुधारको निरन्तरता, राजश्वको दिगोपना र समग्र व्यावसायिक वातावरण सम्बन्धमा उनले जानकारी गराएका थिए । आर्थिक विकासका लागि नेपालले लिएको रणनीतिका बारेमा जानकारी गराउँदै दिगो विकास लक्ष्य हासिल गर्न नेपाल प्रतिबद्ध रहेको उनले उल्लेख गरेका थिए ।

विश्वबैंकका दक्षिण एशियाका क्षेत्रीय उपाध्यक्ष हाटबिग सेफरसँग पनि खतिवडाले भेटवार्ता गरेका थिए । नेपालले अङ्गीकार गरेका संघीयता कार्यान्वयनका सन्दर्भमा क्षेत्रीय उपाध्यक्ष सेफरले राखेको जिज्ञासामा डा. खतिवडाले नेपालमा तीनै तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भई निर्वाचित भएका करिव ३६ हजार जनप्रतिनिधिमार्फत जनताका अपेक्षा पूरा गर्न सरकार कटिबद्ध रहेको स्पष्ट पारेका थिए ।

नेपालका आर्थिक र सामाजिक क्षेत्र र खासगरी पूर्वाधारमा ठूलो लगानीको आवश्यकता रहेको बताउँदै यसमा सरकार निजी क्षेत्रसँग मिलेर कार्य गर्न तत्पर रहेको, संघीयताको व्यवस्थापन र विकासका लागि आन्तरिक साधन र स्रोत मात्र पर्याप्त नहुने भएकाले विश्वबैंकसँग नेपालले सार्थक सहयोगको अपेक्षा राखेको उनले बताएका थिए ।

अर्थमन्त्रीसँग विश्वबैंकका ऊर्जा र वित्तीय कोषका निर्देशकलगायतका पदाधिकारीले पनि भेट गरेर ऊर्जा क्षेत्रमा गरिने लगानी तथा निजी क्षेत्रसँगको सहकार्यमा गर्न सकिने लगानीका बारेमा प्रकाश पारेका थिए । सो अवसरमा डा. खतिवडाले नेपालका तत्काल चालू आयोजनाका अतिरिक्त ठूला आयोजनाको निर्माणमा विश्वबैंकमार्फत परियोजना विकासमा समेत सहयोग गर्न अनुरोध गरेका थिए ।

भ्रमणका क्रममा अर्थमन्त्री डा. खतिवडाले विश्वबैंकका कार्यवाहक प्रमुख अर्थशास्त्री शान्ता देवराजनसँग भेटवार्ता गरी नेपालले केही दशक अगाडि गरेका आर्थिक तथा वित्तीय सुधारका प्रयासबाट थप पाठ सिक्दै परिवर्तित सन्दर्भमा विभिन्न क्षेत्रमा नयाँ सुधारहरू थालनी गरेको जानकारी दिएका थिए ।

अर्थमन्त्री नेतृत्वको टोलीले के–के गर्‍याो अमेरिकामा ?

तीन दिनसम्म चलेको विश्वबैंकको नेपाल सहायतासम्बन्धी उच्चस्तरीय बैठकमा अर्थमन्त्री डा. खतिवडाको नेतृत्वमा अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुनकुमार कार्की र अर्थमन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख सहसचिव श्रीकृष्ण नेपालसहितको प्रतिनिधिमण्डलको सहभागिता थियो ।

भ्रमणका क्रममा अर्थमन्त्रीले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग र अन्तर्राष्ट्रिय मुद्राकोषका पदाधिकारीसँग पनि बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । नेपालको विकासका साझेदारसँग उनीहरूबाट प्राप्त सहयोगको समीक्षा गरी थप सहयोगका क्षेत्रमा छलफल तथा निजी क्षेत्रका लगानीकर्तासँग नेपाल सरकारको आर्थिक नीति तथा लगानीका सम्भावनाका बारेमा पनि विचारविमर्श भएको जानकारी उनले दिए ।

अमेरिकास्थित नेपाली दूतावासको आयोजनामा विश्वबैंकमा ‘नेपाल डे’ पनि मनाइएको थियो । सो कार्यक्रममा विश्वबैंक समूह र अमेरिकास्थित दातृनिकायका प्रतिनिधि सहभागी भएका थिए । नेपालले विकासको अभूतपूर्व अवसर पाएको भन्दै उनीहरूले खुला हृदयका साथ सहयोग गर्ने बचन दिएको अर्थमन्त्री डा. खतिवडाको भनाइ छ ।

नेपालमा लगानीका लागि विशवबैंक, साझेदार संस्था र अमेरिकी लगानीकर्ता उत्साहित भएको आफूले पाएको डा. खतिवडाले उल्लेख गरे । उनी नेतृत्वको नेपाली प्रतिनिधिमण्डल साउन १८ मा अमेरिका गएको थियो । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर