अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) ले सूर्यको सतहको अध्ययनका लागि आइतबार एक अर्ब ५० करोड अमेरिकी डलरको ‘महत्त्वाकांक्षी एवं ऐतिहासिक’ अभियान सफल बनाउन अन्तरिक्ष रकेट प्रक्षेपण गरेको छ ।
यो अभियानले सौर्य आँधीको रहस्य पत्ता लगाउने अपेक्षा वैज्ञानिकहरुले गरेका छन् । ‘तीन, दुई, एक, ब्लास्टअफ’… फ्लोरिडास्थित केप कानाभरालबाट डेल्टा– ४ रकेट प्रक्षेपणका क्रममा विवरण सार्वजनिक गर्नासाथ हालसम्मकै तीव्र गतिको रकेट स्थानीय समयअनुसार बिहान ३ः३१ मा अँध्यारो आकाशतर्फ उडेको थियो ।
यस अनुसन्धान मिसनको नाम ‘पार्कर सोलार प्रोब’ राखिएको छ । यो मानवरहित अन्तरिक्ष यान इतिहासमै पहिलो पटक मानवनिर्मित वस्तु सौर्य प्रणालीको सबैभन्दा नजिक पुग्नेछ । सात वर्षको यस मिसनअन्तर्गत पार्कर सोलार प्रोब सौर्य वायुमण्डल (कोरोना) मा प्रवेश गर्ने गरी डिजाइन गरिएको छ ।
यसलाई ‘अति शक्तिशाली ताप प्रतिरोधक’ ले सुरक्षित गरिएको छ । नासाका वैज्ञानिकहरुका अनुसार, यो अन्तरिक्ष यान सूर्यको सतहबाट ३८ लाख माइलभित्रको क्षेत्रमा प्रवेश गर्नेछ, जसलाई ‘कोरोना’ भनिएको छ । यो क्षेत्र सूर्यको सतहभन्दा ३ सय गुणा बढी तातो हुने ठानिएको छ ।