newskoseli.Com

भीमदत्त पन्तको जन्मघरमा सङ्ग्रहालय, व्यापारीहरू भने ‘कमाइ’ कै ध्याउन्नमा !

 

सहिद भीमदत्त पन्तका नामबाट उनको जन्मस्थल अमरगढी नगरपालिकास्थित कारिगाउँमा रहेको घरमा सङ्ग्रहालय राखिने भएको छ । सङ्ग्रहालय राख्नका लागि आदर्श वस्ती निर्माण सुरु गरिएको छ । यससँगै स्थानीय व्यापारीहरु भने सहिद भीमदत्त सङ्ग्रहालयको सामाजिक–सांस्कृतिक एवं राजनीतिक महत्त्वलाई ओझेलमा पार्ने गरी कमाइ–धन्दाको ध्याउन्नमा लागिसकेका छन् ।

सहिद पन्तको जन्मस्थल कारिगाउँमा १६ कोठे भवन भाडामा लिएर काम सुरु गरिएको छ । निर्माणको रेखदेख र जिम्मेवारी अमरगढी नगरपालिकाले लिने गरी प्रदेश सरकारले उक्त योजनामा बजेट छुट्याएको हो । अहिले अमरगढी नगरपालिका र प्रदेश सरकारको साझेदारीमा सङ्ग्रहालय र आदर्श वस्ती निर्माण गर्न लागिएको अमरगढी– १ का वडाध्यक्ष गोविन्द बोहराले बताए ।

सरकारले पहिलो पटक विकास बजेट छुट्याएर सहिद पन्तको नामबाट सङ्ग्रहालय र आदर्शग्राम निर्माण थालनी गरेको हो । सहिद पन्तले सात दशकअघि सुदूरपश्चिमबाट किसान, दलित र नूनजस्ता आन्दोलनको नेतृत्व गरी गरिबका पक्षमा सशस्त्र क्रान्ति सुरु गरेका थिए  । सहिद पन्तको जन्मथलो अमरगढी– १, कारिगाउँमा सङ्ग्रहालय र आदर्शवस्ती निर्माण थालनी भइसकेको अमगरगढी नगरपालिका प्रमुख विश्वेश्वर ओझाले बताए ।

भीमदत्तले पुर्‍याएको योगदान र गरिब तथा निमुखा वर्गका लागि गरेको सङ्घर्षको स्मरण झल्काउने कुरा पनि सङ्ग्रहालयमा राखिने उनले जनाएका छन् । ‘सङ्ग्रहालय निर्माणको प्रारम्भिक काम सरु भइसकेको छ’– प्रमुख ओझाले भने । सहिद पन्तको घरलाई नै सङ्ग्रहालयमा परिणत गर्न आवश्यक पूर्वाधार र गुरुयोजना निर्माणका लागि विज्ञको टोलीलाई जिम्मा दिइएको प्रमुख ओझाले बताए ।

दुवै योजनाको विस्तृत अध्ययनपछि प्रदेश सरकार र अमरगढी नगरपालिकाले आवश्यक बजेट विनियोजन गर्ने जानकारी ओझाले दिए  । सङ्ग्रहालय निर्माणका लागि प्रदेश सरकारले १५ लाख र अमरगढी नगरपालिकाले ८ लाख रुपैयाँ विनियोजित गरेका छन् । सङ्ग्रहालय निर्माण भएपछि सहिद पन्तको सम्मान बढ्ने कारिगाउँवासी बताउँछन् ।

सङ्ग्रहालयमा ०७ सालको क्रान्ति, भीमदत्त पन्तले गरेको किसान आन्दोलन, नून आन्दोलन र जातीय छुवाछूतविरुद्धको आन्दोलनमा प्रयोग भएका सामग्री र जानकारी राखिनेछ । कञ्चनपुरको बेलौरी र ब्रह्मदेवमा गरेको सशस्त्र आन्दोलनमा पन्तले प्रयोग गरेका हतियारको पनि खोजी गरी सङ्ग्रहालयमा ल्याउन आवश्यक अनुसन्धान गरिने अमरगढी नगरपालिकाले जनाएको छ ।

भीमदत्तको हत्या भएको स्थल डडेलधुरा र डोटीको सीमाना, गलेकमा रहेका भीमदत्त पन्तसँग सम्बन्धित वस्तु पनि सङ्ग्रह गरिने जानकारी अमरगढी नगरपालिकाले दिएको छ । डडेल्धुरा सदरमुकामसँगै जोडिएको सहिद भीमदत्त पन्तको जन्मस्थल कारिगाउँमा सङ्ग्रहालयसँगै घरबास (होमस्टे) पनि सुरु गरिने भएको छ । नगरपालिकाले नै सञ्चालन गर्ने गरी घरबास सुरु हुने जानकारी अमरगढी नगरपालिकाले दिएको छ ।

प्रचार–प्रसारको अभावमा नेपाल एकीकरणका ऐतिहासिक किल्ला ओझेलमा परेका छन् । भीमदत्त सङ्ग्रहालय, अमरगढी किल्ला, घटाल बाबा क्षेत्र, उग्रतारा दर्शन र प्राचीन डोटी राज्यको राजधानी अजयमेरुकोटलाई जोडेर एकीकृत विकास गर्न स्थानीय व्यवसायीले माग गरेका छन् ।

भीमदत्त सङ्ग्रहालयले जिल्लाको पर्यटकीय विकासमा ठूलो टेवा पुर्‍याउने विश्वास स्थानीय व्यवसायीले गरेका छन् । यहाँ ऐतिहासिक र धार्मिकस्थलको विकास गरी पर्यटक भित्र्याउन सक्ने हो भने पर्याप्त आम्दानी हुने र युवाहरुले विदेशिनु नपर्ने होटल व्यवसायीहरुको भनाइ छ । ७ वर्षअघि मात्रै भीमदत्त पन्तलाई सहिद घोषणा गरिएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर