newskoseli.Com

५ अर्बका हस्तकला सामग्री निर्यात भए यस वर्ष…

 

आर्थिक वर्ष २०७४/७५ मा ५ अर्ब २१ करोड २० लाख ३३ हजार रुपैयाँको नेपालमा उत्पादित हस्तकला सामग्री विदेश निर्यात गरिए । यहाँबाट सबभन्दा बढी हस्तकलाका सामग्री अमेरिकामा निर्यात भए ।

यस वर्ष ३० प्रतिशतभन्दा बढी नेपाली हस्तकलाका सामग्री अमेरिका निर्यात गरिए । अमेरिकाबाट नेपाली हस्तकलाका सामग्रीको अत्यधिक माग आएको बताउँछन् नेपाल हस्तकला महासङ्घका महानिर्देशक डा. गोविन्दप्रसाद रेग्मी । ‘नेपालबाट अमेरिकामा रेशाजन्य र धातुजन्य हस्तकला सामग्री बढी मात्रामा निर्यात हुने गरेको छन्’– उनले भने ।

नेपालले हाल अमेरिका, युरोप, बेलायत, जर्मनी, फ्रान्स, फिलिपिन्स, क्यानडा, कुवेत, जापान, चीन, भारतलगायत ६० भन्दा बढी मुलुकमा हस्तकलाका सामान निर्यात गर्दै आएको छ । सबैभन्दा बढी हस्तकलाका सामग्री ललितपुरमा उत्पादन हुन्छन् । नेपालबाट हाल अल्लो, बाँसजन्य वस्तु, हाडका सामान, सेरामिक सामान, सूर्तीजन्य सामान, ढाका, सीसा, धुप, छाला, धातुजन्य, कपडाजन्य, चित्रकला, कागजजन्य, रेसाजन्य, चाँदी, काष्ठकला र उलन सामग्री विदेश निर्यात हुँदै आएका छन् ।

गत आ.व. मा १८ करोड ५१ लाख ७ हजार रुपैयाँको पश्मिना, ४५ करोड ३९ लाख ३५ हजार रुपैयाँको उलन सामग्री, १ अर्ब ५४ करोड ७८ हजार २२ हजार रुपैयाँको ऊनी फेल्ट, ३ करोड ४ लाख ३९ हजार रुपैयाँको सिल्क र २१ करोड ६३ लाख १७ हजार रुपैयाँको कटन, १ अर्ब ४६ करोड ५९ लाख २० हजार रुपैयाँको धातुका मूर्ती, ३९ करोड ३९ लाख ९ हजार रुपैयाँको हातेकागज, १७ करोड २२ लाख ७५ हजार रुपैयाँको सिल्भर, १६ करोड ७४ लाख ३९ हजार रुपैयाँको सिसा तथा १५ करोड ३४ लाख ९८ हजार रुपैयाँका धातुजन्य अन्य सामग्री निर्यात भए । धातुजन्य मूर्ती भारत र चीनमा बढी निर्यात हुन्छ ।

नेपालमा हस्तकलाका जिल्लागत १४ र वस्तुगत १० सङ्घ छन् । जिल्लागत सङ्घ बागलुङ, भक्तपुर, दाङ, धनुषा, झापा, पाल्पा, कास्की, ललितपुर, लमजुङ, मकवानपुर, म्याग्दी, रामेछाप, सङ्खुवासभा र भक्तपुरमा छन् । वस्तुगत सङ्घमा धातू, जुत्ता, सेरामिक्स, पश्मिना, कागजलगायतका उद्योगहरु आवद्ध छन् ।

फेल्ट, प्राकृतिक रेशा, सिसाका सामान, बोधिचित्तका माला, रुद्राक्षलगायत हस्तकलाका सामग्रीको विदेशमा अत्यधिक माग रहेको नेपाल हस्तकला महासङ्घका अध्यक्ष धर्मराज शाक्यले बताए । विदेशमा परम्परागत हस्तकलाका सामग्रीभन्दा नवोदित हस्तकलाका सामानको बढी माग छ ।

परम्परागत हस्तकलाका सामग्रीमा काष्ठकला, प्रस्तरकला, धातुलगायत रहेका छन् भने नवोदित (नयाँ) मा फेल्ट, प्राकृतिक रेशा, सिसाका सामान, बोधिचित्तका मालालगायत रहेका छन् । आ.व. २०७३/७४ मा ४ अर्ब ८० करोड रुपैयाँका नेपाली हस्तकलाका सामान विदेश निर्यात भए थिए । हाल महासङ्घमा १ हजार ५ सय व्यवसायी आबद्ध भए पनि २ सयदेखि ४ सय व्यापारीले मात्र हस्तकलाका सामग्री नियमित रुपमा विदेश निर्यात गर्दै आएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर