NewsKoseli.Com

रातो मच्छेन्द्रनाथको पुनर्निर्माण : नीति–विधि एकातिर, काम–काज अर्कैतिर !

 

‘स्थानीय जनता नै स्मारकका अभिभावक हुने भएकाले क्षतिग्रस्त स्मारकहरुको पुनर्निर्माण एवं जीर्णोद्धारसम्बन्धी कार्यका विभिन्न चरणमा उनीहरुको सहभागिता सुनिश्चित गरिनेछ ।’

भूकम्पले क्षति पुर्‍याएका सम्पदाहरुको संरक्षण एवम् पुनर्निर्माणसम्बन्धी आधारभूत निर्देशिका, २०७२ को बुँदा नं. १३ मा उल्लेख गरिएको यो वाक्यांशअनुसार काम भैदिएको भए सम्पदाप्रति नयाँ पुस्ताको अपनत्व बढ्ने थियो । तर, व्यवहारमा यसको अभ्यास भएन; यो व्यवस्था देखाउनकै लागि मात्र कागजमा राखिएकोजस्तो लाग्छ । निर्माण व्यवसायीलाई ठेक्का दिएर पुरातत्त्व विभागले जिम्मेवारीबाट पन्छन खोजेजस्तो भान हुन्छ । ठेक्का प्रक्रियामा जाँदा रकमको निश्चित प्रतिशतको कमिसनले विभागका अधिकारीलाई लोभ्याएको तर्क गर्नेको पनि कमी छैन ।

ऐतिहासिक सम्पदा पुनर्निर्माणमा समुदायलाई बेवास्ता गरिँदा काममा ढिलाइ हुनुका साथै स्थानीयवासीमा संस्कृतिप्रतिको लगाव घट्ने खतरा बढेको छ । यसले सम्पदाको संरक्षण र संवर्द्धनमा पनि प्रभाव पार्नेछ ।

विभागले रातो मच्छेन्द्रनाथ मन्दिर पुनर्निर्माणका लागि श्रीलंकाली सरकारसँग समझदारी गर्नु अघिदेखि नै स्थानीयवासीले समुदायस्तरबाटै काम गर्न पहल गरेका थिए । विभागमै कार्यरत एक स्थानीयवासीको तिकडममा समुदायलाई पन्छाएर ठेक्का प्रक्रिया अघि बढाइएको स्थानीय विकेश श्रेष्ठले गुनासो गरेका छन् ।

‘एकै जना दाता मन्दिर पुनर्निर्माण गर्न पुग्ने सहयोग गर्न आएका थिए, विभागकै असहयोगका कारण त्यो काम अघि बढ्न सकेन, अरु स्थानीय दाता पनि आफूले सकेको सहयोग गर्न तयार थिए, स्थानीय र दाताको सहयोग जुटाएर मन्दिर बनाउन पाएको भए यो सम्पदामा हाम्रो अपनत्व बढ्ने थियो’– उनले भने । समुदायले नै मन्दिर बनाउनुपर्छ भनी लागेका मानिसलाई निर्माण व्यवसायीले ज्यामीको काम दिएपछि विरोधको स्वर मधुरो भयो । विरोध गरे काम नपाइने भयले केही स्थानीयवासीले सम्पदा समुदायले नै बनाउने मागमा सौदाबाजी गरे ।

विभागका प्राविधिक शाखा प्रमुख इञ्जिनियर सम्पत घिमिरे भने स्थानीयवासीले रातो मच्छेन्द्रनाथ पुनर्निर्माण गर्ने सम्बन्धमा कुनै प्रस्ताव नल्याएको दावी गर्छन् । ‘हामी नै पुनर्निर्माण गर्छौं भनी स्थानीयवासीले निवेदन लिएर आएको भए हामी प्राविधिक सहयोगसहित जिम्मा दिने थियौं, आफैं पुनर्निर्माण गर्छौं भनेर लिखितरुपमा स्थानीयवासीले विभागमा कुनै निवेदन दर्ता गराएकै छैनन्’– उनले भने ।

श्रीलंकाली सेनाका मेजर पीएएएस पेरेराको नेतृत्वमा चार इञ्जिनियरले पुनर्निर्माणको काम हेरिरहेका छन् । श्रीलंकाली सेनाका इञ्जिनियर छ–छ महिनामा फेरिने गरेको विभागका इञ्जिनियर पूर्णबहादुर श्रेष्ठले बताए । उनले भने– ‘पुनर्निर्माणको ठेक्का पाएको प्रेरा–थेगिम–तुलसी जेभीको थेगिम समूहले रातो मच्छेन्द्रनाथको काम गरिरहेको छ । थेगिमको सम्पदा निर्माणमा अनुभव नभएकाले काम गर्ने मेलोमेसो नै मिलेको छैन ।’

सम्पदा निर्माणको अनुभव भएका प्रेरा र तुलसीलाई साझेदार बनाएर थेगिमले ठेक्का हालेको थियो । पुनर्निर्माणमा भने थेगिम मात्र सहभागी छ । काम नभएर कम्पनीलाई कालोसूचीमा राख्दा सबैको अभिलेख खराब हुने चेतावनी जेभीका दुवै कम्पनीलाई दिइएको इञ्जिनियर श्रेष्ठले बताए ।

पुनर्निर्माण सक्नुपर्ने म्याद सकिएर छ महिना थपिएपछि बल्ल निर्माण व्यवसायीले ढुंगा ल्याएको छ । काठको अत्तोपत्तो नै छैन । रातो मच्छेन्द्रनाथ पुनर्निर्माणमा सबैभन्दा धेरै काठ नै चाहिन्छ । केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला २०७२ माघ २ मा ‘भूकम्प सुरक्षा दिवस’ का अवसरमा तामझामका साथ रातो मच्छेन्द्रनाथ मन्दिर पुनर्निर्माणको शुभारम्भ भएको थियो । तर, पुनर्निर्माण सुरु भएको तीन वर्ष पुग्न लाग्दासम्म २५ प्रतिशत पनि काम भएको छैन ।

श्रीलंकाली राजदूतावाससँग गरिएको समझदारीअनुरुप विभागले टेण्डर प्रक्रिया सुरु गरी २०७३ असारदेखि काम गर्न प्रेरा–थेगिम–तुलसी जेभी निर्माण व्यवसायीसँग रातो मच्छेन्द्रनाथ मन्दिर पुनर्निर्माणको सम्झौता गरेको थियो । विभागले रातो मच्छेन्द्रनाथ क्षेत्रको उत्खनन् गर्नमै २०७३ असारदेखि असोजसम्मको समय लगाउँदा काम सुरु गर्न नै ढिलो भएको बताउँछन् निर्माण व्यवसायी सूवर्णलाल श्रेष्ठ ।

‘पुनर्निर्माण सुरु गर्नुअघि ‘साइत्’ निकालेर ‘क्षमापूजा’ गर्न अर्को दुई महिना लाग्यो, रथयात्राको ‘साइत्’ हेर्ने पाटनका जोशी परिवारका ज्योतिषीले नै ‘क्षमापूजा’ को ‘साइत्’ हेनुर्पर्ने रहेछ, यसरी काम सुरु गर्न नै पाँच महिना ढिलो भयो’– उनले भने ।

श्रीलंकाली राजदूतावास र विभागले रातो मच्छेन्द्रनाथ पुनर्निर्माणका सम्बन्धमा ‘धेरै नबोल्न’ भनेकाले धेरै जानकारी दिन नमिल्ने उनको भनाइ थियो । रातो मच्छेन्द्रनाथ पुनर्निर्माणका सम्बन्धमा सूचना माग्दा विभागका अधिकारीहरु पटक–पटक पन्छिए । रातो मच्छेन्द्रनाथ मन्दिर र स्वयम्भूको आनन्दकुटी महाविहार पुनर्निर्माणका लागि विभाग र श्रीलंकाको बुद्धशासन मन्त्रालयबीच सन् २०१५ डिसेम्बर १५ मा समझदारी भएको थियो ।

समझदारीमा सम्पदाको मापदण्ड संरक्षणसम्बन्धी नियम–कानुनका आधारमा पुनर्निर्माण गरिने उल्लेख छ । विभागको मार्गनिर्देशनमा श्रीलंकाले काम गर्ने व्यवस्था छ । समझदारी अनुसार आयोजना कार्यान्वयनका क्रममा आइपर्ने प्रशासनिक एवम् कानुनी बाधा–व्यवधान नेपाल सरकारले हटाइदिनु पर्नेछ ।

विभागका महानिर्देशक र नेपालका लागि श्रीलंकाली राजदूत वा प्रतिनिधिको अध्यक्षतामा आयोजनाको व्यवस्थापनका लागि एक समिति गठन गर्ने व्यवस्था समझदारीमा गरिएको छ, जसमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका प्रमुख वा प्रतिनिधि, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, मन्दिरका प्रमुख पुजारी, श्रीलंकाली सेनाका दुई जना प्रतिनिधि, बुद्धशासन मन्त्रालयका प्रतिनिधि, विभागको विश्वसम्पदा संरक्षण र योजना, अनुगमन तथा प्रकाशन शाखाका प्रमुख पनि सदस्य रहनेछन् ।

आवश्यकतानुसार समिति बैठकमा विज्ञ वा कुनै व्यक्तिलाई आमन्त्रित सदस्यका रुपमा बोलाउन सकिने व्यवस्था समेत गरिएको छ । पुनर्निर्माणको निरीक्षण भने विभागले नै गर्ने समझदारीमा उल्लेख छ ।

सम्झौता अनुसार छ महिनाअघि नै सकिनुपर्ने एशियाकै ठूलो ‘शिखर शैली’ को यो मन्दिरको पुनर्निर्माण अहिले पनि रोकिएको छ । पुस १५ सम्म म्याद थपिए पनि काम नसकिने निश्चित छ । निर्माण व्यवसायीले ज्याला नदिएकाले काम छोड्न बाध्य हुनुपरेको स्थानीय मजदुरको गुनासो छ । ज्याला नदिएकै कारण बुङमती क्षेत्रका कामदारले काम छाडे । पारिश्रमिक लिन महिनौं कुर्नु परेकाले अन्यत्रै काम गर्न थालेको बताउँछन् पुनर्निर्माणमा काम गरेका स्थानीय सोमेश महर्जन । बाहिरबाट ल्याइएका कामदारले पनि ज्यालाकै कारण काम गर्न मानेका छैनन् ।

पुनर्निर्माण रोकिएपछि ‘एशियामै लामो समय मेला लाग्ने’ भनी विश्वव्यापी पहिचान बनाएको रातो मच्छेन्द्रनाथको सांस्कृतिक परम्परा नै धरापमा परेको ह्यग्रीव भैरवनाथ तथा बत्तीस पानेजु संघका अध्यक्ष यज्ञरत्न शाक्यको गुनासो छ ।

पुनर्निर्माण सुरु भएपछि ‘ढुंगा बिच्छ्याएको मिलेन’ भनी केही समय काम रोकियो । पुरातात्त्विक स्थलमा ‘एनबी’ लेखिएको तराईमा बनेको इँट्टा प्रयोग भएको भनी फेरि विवाद भयो ।

यसअघि सम्पदा नै नबनाएको निर्माण व्यवसायीलाई रातो मच्छेन्द्रनाथ पुनर्निर्माणको जिम्मेवारी दिँदा समस्या आएको स्थानीयवासीको भनाइ छ । सम्पदाको स्वरुप बिग्रन थालेपछि राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले स्थलगत अवलोकन गरी प्रयोगशाला परीक्षणका लागि नमूना संकलन गरेर लगेको थियो ।

पुनर्निर्माणमा सुर्की चुनाको प्रयोग राम्रोसँग नभएको भनी युनेस्कोमा उजुरी परेपछि २०७४ चैतदेखि २०७५ जेठसम्म तीन महिना फेरि काम रोकियो । पुल्चोक इञ्जिनियरिङ क्याम्पसको प्रयोगशालामा परीक्षण गरेर ठीक छ भन्ने भएपछि मात्र पुनः काम सुरु भएको थियो । विभागले दिएको ढोकाको नक्शा नमिलेका कारण एक वर्ष काम रोकिएको निर्माण व्यवसायी श्रेष्ठको गुनासो छ ।

ठेक्का हाल्दा नै विभागले नयाँ घरमा राख्ने खालको ढोकाको नक्शा उपलब्ध गराएको थियो । ढोका पुरानो संरचनामा तीन इञ्च तल रहेकामा नमिलेकै कारण हाल तीन इन्च माथि राखिएको छ । विभागसँग रातो मच्छेन्द्रनाथको पुरातात्त्विक नक्शा नभएकैले समस्या आएको हो ।

मन्दिरमा ८० प्रतिशत काठको काम भए पनि सरकारले काठ उपलब्ध गराउन सकेको छैन । पुनर्निर्माणका लागि ठूल–ठूला ढुंगाका खम्बा चाहिन्छन् । भूकम्पका कारण ढुंगाका १३ वटा खम्बा भाँचिएका छन् । रातो मच्छेन्द्रनाथ मन्दिरमा ढुंगाका २४ वटा खम्बा प्रयोग भएका छन् । ढुंगा खोज्न समय लागेको थियो । कटुवाल दहबाट ढुंगा ल्याएर काम सुरु गरिएको हो । ढुंगाको अभावका कारण समेत काममा प्रभाव पर्‍यो ।

ढिलाइको अर्को कारण : लागत अनुमानभन्दा कममा ठेक्का सम्झौता

मन्दिर पुनर्निर्माणका लागि सुरुमा ४ करोड ७४ लाख ४५ हजार रुपैयाँमा ठेक्का दिइयो । पछि नपुग्ने भएपछि संशोधन गरी ५ करोड २१ लाख ८५ हजार २ सय १५ रुपैयाँ बनाइयो । यतिमा पनि पुनर्निर्माण सम्पन्न गर्न नसकिने पानेजु संघका अध्यक्ष शाक्य बताउँछन् ।

समुदायले सम्पदा पुनर्निर्माणमा चासो नदेखाएका कारण निर्माण व्यवसायी लगाएर बनाउनुपरेको दावी विभाग र प्राधिकरणले गरिरहेका बेला केही समयपछि रथ तान्ने काम पनि ठेकेदारलाई नै दिने व्यवस्था नहोला भन्न नसकिने स्थानीयवासी श्रेष्ठले बताए ।

निर्माण व्यवसायीले निर्माणमा खर्च भएको बिल विभागमा पेस गरेर सिफारिस लिई श्रीलंकाली राजदूतावासमा पठाउने गरिएको छ । अरु भौतिक संरचना जस्तो सम्पदा पुनर्निर्माण भए भावी पुस्तासम्म हस्तान्तरण गर्न नसकिने उनको ठम्याइ छ । पहिले माःअपा इँट्टाले बनाइएको रातो मच्छेन्द्रनाथ मन्दिर हाल एनबीमा विरोध भएपछि स्थानीय नेवाः प्रयोग गरेर पुनर्निर्माण भइरहेको छ ।

काठमा बुट्टा कोरेर हाल्नुपर्ने भएकाले समय, श्रम र खर्च धेरै लाग्छ । सम्पदा पुनर्निर्माण अरु कामजस्तो होइन, यो दिगो हुनुपर्छ । यसैले पनि ढिलो हुने विभागको भनाइ छ ।

विभागले अनुमति दिए एक्लै रातो मच्छेन्द्रनाथ मन्दिर पुनर्निर्माण गर्छु भन्ने प्रस्ताव गायक योगेश्वरकृष्ण अमात्यले गरेका थिए । ललितपुर निवासी व्यवसायी रमेश महर्जनले पनि रातो मच्छेन्द्रनाथ मन्दिर पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सरोकारवाला निकायका अधिकारीले यसमा चासो नदेखाएपछि ती प्रस्ताव केवल प्रस्तावमै सीमित भए ।

अमात्य अहिले विदेशमा भएकाले उनीसँग सम्पर्क हुन सकेन । तर, महर्जनले भने पर्यटन प्रवर्द्धन हुने गरी मन्दिर वरिपरिको वस्ती मौलिक स्वरुपमा पुनर्निर्माणको प्रस्ताव राखे पनि बुङमतीमा सम्भव नभएपछि आफूले पिलाछेंमा काम सुरु गरेको बताए ।

महानगरलाई जिम्मेवारी दिने तयारी !

भूकम्पले क्षतिग्रस्त पुरातात्त्विक, ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण सम्पदा रातो मच्छेन्द्रनाथ पुननिर्र्माणको ठेक्का पाएको निर्माण व्यवसायीले काम गर्न नसक्ने देखिएपछि ललितपुर महानगरपालिकालाई दिने तयारी सुरु भएको छ ।

ललितपुर मेयर चिरीबाबु महर्जन

यसका लागि श्रीलंकाली राजदूतावासले प्रक्रिया सुरु गरिसकेको छ । राजदूतसँग यस विषयमा वार्ता भएको महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताए । ‘रातो मच्छेन्द्रनाथ पुनर्निर्माण छिटो गर्न पुरातत्त्व विभाग र श्रीलंकाली राजदूतावाससँग कुराकानी भइरहेको छ, ऐतिहासिक महत्त्वको सम्पदा निर्माणका लागि आवश्यक पर्ने सहयोग गर्न तयार छौं, सम्पदा निर्माणको अनुभव नभएको र न्यून रकममा ठेक्का सकारेकाले यो निर्माण व्यवसायीबाट काम हुने देखिएन’– उनले भने ।

नगर प्रमुख महर्जन, विभागका महानिर्देशक भेषनारायण दाहाल र राजदूतबीचको बैठकमा अहिलेसम्म भएको कामको खर्च कटाएर बाँकी रकम मन्दिर पुनर्निर्माणका लागि महानगरपालिकाको खातामा हाल्ने विषयमा कुराकानी भएको बताउँछन् मन्दिर रहेको महानगरपालिकाको वडा नं. २२ का अध्यक्ष अमीरराज शाक्य ।

करिव २ सय वर्षअघि बनेको विश्वास गरिने रातो मच्छेन्द्रनाथ मन्दिरलाई वि.सं. १९९० को भूकम्पले क्षति पुर्‍याएको थिएन । बुङमतीको मनकामना मन्दिर भने तोकिएकै समयमा पुनर्निर्माण सम्पन्न भयो । १ करोड रुपैयाँको लागतमा यो सम्पदाको पुनर्निर्माण सकिएको हो ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर