NewsKoseli.Com

‘अभागी सिपाही’ को खुलापत्र, गृहमन्त्री बादललाई !

पूरै सरकार चाहिँ गणतन्त्रभित्र हराँउछ भने न्यायको आशा त ‘एकादेशको कथा’ मात्र...

काठमाडौं, १७ भदाै ।

माननीय गृहमन्त्रीज्यू,
न्यानो अभिवादन !

प्रिय कमरेड, मुटु भरिको माया । सुरु कहाँबाट गरुँ र अन्त्य कहाँ लगेर गरुँ– अन्यौलमा छु । शायद तपाईंहरुले जनयुद्ध थाल्नुपूर्व जति अन्योलमा हुनुहुन्थ्यो, त्यति नै धेरै अन्योलमा । कहाँ गएर, कसरी, कुन मोडमा, कति क्षति भएर, कुन स्थितिमा यस पत्रको अन्त्य हुन्छ भन्न सकिन्न कमरेड ।

तपाईंहरुबाट जनयुद्ध सुरु भइसकेपछि जुन–जुन परिस्थितिको सामना गर्नुभो, जुन–जुन परिस्थितिसँग भोग गर्नु भो, शायद महशुस गर्न सक्नु भो भने तपाईं सम्हालिन सक्नुहुन्छ वा हुन्न, भन्न सक्दिनँ । कमरेड ! तपाईं सम्हालिन नसक्ने त्यस क्षणदेखि अहिलेसम्म आउँदा अहिलेको परिस्थिति हेर्नोस्, कति परिवर्तन भएको छ ।

तपाईंले बन्दुक समाएर जति सोच्नुभएको थियो, त्योभन्दा लाखौं गुणा हरेक तह–तप्कामा सामन्ती, शोषक र भ्रष्टहरु बढारिएका छन्, पत्तासाफ भएका छन् । अहिले प्रिय कमरेडहरुबाट नै मुलुकको नेतृत्व भैरहेको छ । यस्तो महान् अवसरमा अभागी सिपाहीको खुला पत्र लिएर तपाईंसामु उपस्थित भएको छु ।

सिपाही भनेको युद्धको तल्लो दर्जाको मान्छे, भनौं जातको तल्लो दर्जा– ‘दलित’ । फेरि यो सत्ताको स्वादको बेला ‘तल्लो’ दर्जा र ‘दलित’ को शब्द निकाल्यो भनेर मुख नखुम्च्याउनुहोला । प्रिय कमरेड ! तपाईंको बन्दुकले मेरो शौख खोसिएको छ, मेरो भविश्य खोसिएको छ, मेरा छोरा–छोरीका सपना टुहुरा भएका छन् । मेरी श्रीमतीका सहाराहरुमाथि बलत्कार भएको छ, मेरा बूढाबूढी आमाबुबाको सहाराको घाँटी निचोरिएको छ । एकसरो लुगा फेर्ने, चाडपर्वमा माथ्लोघरेजस्तै एक छाक परिवारलाई मिठोमसिनो खुवाउने र बच्चालाई कापी–कलम किनिदिएर सरकारी स्कुल पठाउने अनि बूढेसकाल हुँदा सरकारले दिएको पेन्सन खाने– त्यति ठूलो शोख थियो । कमरेड ! तपाईंले बन्दुक चलाइसक्नु भएको थियो, कोलाहल वातावरण भर्इ नै सकेको थियो । सुनसान रातमा रात होइन झैं भैसकेको थियो ।

प्रहरी, सेना र जनसेनामा पनि भर्ना अभियान अत्यन्तै चलेको थियो । मर्ने र मार्ने, उफ… बाध्यता र शौख ! कमरेड, त्यस्तो बेला खाएको सिपाहीको जागिर… ! रुकुम भिडन्तको शहादतपछि जागिर छोड्नु परेको कथा, सल्यानमा बाबु–आमाको क्रिया गर्न जाँदा अपहरण परेपछि जागिर छोड्नु परेको कथा, रोल्पामा गोली लागेर छट्पटिँदै गर्दा कब्जामा परेपछि जागिर छोड्नु परेको कथा, दोलखामा भाइ जनसेना छँदैछ भनेर ढुक्क भर्इ बुबा–आमाको दर्शन गर्न पुग्दा अपहरण परेपछि जागिर छोड्नु परेको कथा, रामेछापमा बहिनी सिकस्त बिरामी भएर मर्ने र बाच्ने दोसाँधमा भेट गर्न जाँदा जागिर छोड्नु परेको कथा, बुबालाई अपहरण गरेपछि जागिर छोड्नु परेको कथा, आमा अपहरण परेपछि जागिर छोड्नु परेको कथा, दाइ अपहरणमा परेपछि जागिर छोड्नु परेको कथा…। एउटै कथा– निजले जागिर छोडे अपहरण मुक्त भयौ… । अपहरणमुक्ति भित्रको कथा, बारुद–बम बिस्फोटनका कथा । हजारौं व्यथाका कथा, नलेखिएका कथा ।

कथा त्यति मात्रै होइन कमरेड ! तपाईं मेरो घर र गाँउ आँउदा पाउना झैं नै स्वागत गर्थे । हजुरको गोली र बारुद लागेका हातहरु हाम्रै गाउँको जडीबुटीले ठीक भएका हुन् । हजुरका हरेक भोकहरु मेरो गाँउको मकै–भटमास र कोदाको रोटीले मेटिएका हुन् । सेनाको गोलीबाट मेरो प्रिय कमरेडको ज्यान बचाउने मेरी आमा, सेनाको बारुदबाट घाइते भएका मेरो प्रिय कमरेडको मलमपट्टी र औषधि गरिदिने मेरा दाजु, सेना र प्रहरीको फौज आएर ‘आतंकारी खै ? देखा’ भनेर धुलो–पीठो हुने गरी कुटाइ खाएर पनि तपाईंलाई बचाउन सफल मेरा बाबा, मेरो प्रिय कमरेडले पठाएको दस्तावेजसँगै ‘आंतककारीसँगको मुडभेडमा मारिएका एक आतंककारी’ बनेका मेरा काका । काला रातका कथा, तिनै काला रातभित्रका कथा, तल्लो वर्गका कथा, अब गणतन्त्रमा उपयुक्त छैनन् कमरेड !

अतः मेरो प्रिय कमरेड ! मेरो शौखका कथा… । बाबुराम कमरेड, प्रचण्ड कमरेड, बैद्य कमरेड, विप्लव कमरेडहरू ! यो कथाको भाग कता परेको छ ? सुनाउनु पर्नेछ कमरेड यो कथा । कसले सुन्छ ? एकीकरणमा परेको भए दुइतिहाइ समर्थन पायो कि पाएन ? सोध्नुपर्‍यो कमरेड, यो कथा ।

यो कथाको पूर्णताका लागि सयौं पटक ‘विस्थापित सेना–प्रहरीको संघर्ष समिति’ समेत बनाएर आन्दोलन, धर्ना ज्ञापनपत्र, राजनीतिक भेटघाट, हारगुहार सबै सक्यौ । अन्ततः हार खायौं । झन् आजित भयौं ।

प्रिय कमरेडले सरकारमा नरहँदा ‘गर्नैपर्छ’ भन्नु हुन्छ, जब सरकारमा गयो– कथा सुन्ने फुर्सद हुँदैन । एउटा ‘पत्रकार’ ले देशमा रहेका हरेक पीडितहरुको कथा सुनेर ‘हल’ गर्न सक्छ तर पूरै सरकार चाहिँ गणतन्त्रभित्र हराँउछ भने पक्कै पनि न्यायको आशा त ‘एकादेशको कथा’ मात्र बन्न पुग्दछ नै । कथा अपूर्ण छ कमरेड ! करिव दुई हजार पीडित सेना–प्रहरीको परिवारको आँशुको कथा । अतः मलाई यो कथा पूरा गर्नुछ ।

तपाईंहरुको महान् इच्छा मेरा कारण अल्झन–बिल्झनमा परेको भए माफ पाऊँ कमरेड ! तर, कमरेड ! मेरो शौखले कहिल्यै तपाईंको कुभलो चिताएन मेरो परिवारले । कहिल्यै तपाईंविरुद्ध अन्यथा गरेन । वर्गीय मायाको सीमा हुँदो रहेनछ ।

तर, प्रिय कमरेड ! गणतन्त्रपछि हाम्रो वर्ग फेरिएको छ । तसर्थ, तपाईंलाई धिक्कार्ने मेरो अधिकार छैन । मेरो भविष्यले पनि तपाईंमाथि अफशोच सोच्ने छैन । मेरा छोरा–छोरीले पनि तपाईंमाथि प्रश्न गरेर आत्मरोदन गर्ने छैनन् । मेरी श्रीमतीले पनि तपाईंप्रति हीनताबोधको भिख माग्ने छैनन् । मेरा वृद्ध बुबाआमाले पनि कहिल्यै आँशु झार्ने छैनन…। किनकि तपाईंले चढ्ने कारले बिरामी मेरी आमालाई बोकेको छ । मेरो प्रिय कमरेडले जोड्नुभएको सहरको घरजग्गा मेरा छोरा–छोरीको अंश हो । मेरो प्रिय कमरेडले जागिर लगाइदिनुभएका प्रिय कमरेडका ‘आफन्त’ ले मासिक तलब मेरो घरमा नै ल्याएर हामीलाई दिन्छन् ।

तर, यी दुई हजार पीडितहरुको आँशुले मेरो परिवार खुशी र सुखी छ । तसर्थ, कमरेड ! यो गणतन्त्र आएको अवसरमा हिजो ‘लाइन ब्यारेक’ छाडेर हिँड्ने, ‘आतंकारीलाई सपोर्ट गर्ने भगौडा सिपाही’ लाई फाँसी ‘हुकुम’ बक्सियोस् । तपाईंको गणतन्त्रमा म फाँसी चढ्न चाहन्छु; हर्ष, खुशी, हाँसोको भारीले थिचिएर, पिल्सिएर पटक–पटक मर्न चाहन्न । तसर्थ, मेरा लागि फाँसी बक्सियोस्, केवल फाँसी ! जयनेपाल मेरो प्रिय कमरेड !

यस पत्रलाई सम्बन्धित पक्षको आँखासम्म पुर्‍याइदिनु हुन सबैसँग हार्दिक अनुरोध गर्दछु ।

उही तपाईंको
अष्टकुमार केसी
केन्द्रीय सदस्य
द्वन्द्व विस्थापित सेना–प्रहरी संघर्ष समिति

 

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर