newskoseli.Com

१ सय ६ वटा पुस्तक निकाल्यो प्रज्ञा–प्रतिष्ठानले ४ वर्षमा

नेपालका भाषा, साहित्य, संस्कृति, कला, दर्शन र इतिहासको अध्ययन–अनुसन्धान, संरक्षण र सम्वर्द्धन गर्दै आएको नेपाल प्रज्ञा प्रतिष्ठानले ४ वर्षमा विभिन्न भाषाका १ सय ६ वटा कृति प्रकाशन गरेकोे छ ।

वि.सं. २०१४ मा नेपाली साहित्य कला एकेडेमीका नामले स्थापित प्रतिष्ठानले आफ्ना ११ प्राज्ञिक विभागबाट ती कृति प्रकाशन गरेको हो । वि.सं. २०७१ भदौ २० मा गठन भएको प्रतिष्ठानको प्राज्ञ परिषदले ‘मैथिली शब्दकोष’, ‘भोजपुरी शब्दकोष’, ‘तामाङ शब्दकोष’, ‘नेपाली डायस्पोराका कविता’, ‘नेपाल प्रज्ञा प्रतिष्ठानको गौरवमय साठी वर्ष’, ‘नेपाली–बृहत् शब्दकोष’ को नयाँ संस्करण, ‘नेपाली नारी साहित्यकार परिचय कोष’ लगायत विभिन्न भाषामा कृति प्रकाशन गरिसकेको छ ।

प्रतिष्ठानले हाल ४२ कृति छपाइका लागि छापाखानामा पठाएको जनाएको छ । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आफ्नो चारवर्षे कार्यकालमा थोरै बजेटमा पनि नेपाली भाषा र साहित्यको विकासका लागि धेरै काम गरिएको जिकिर गरेका छन् ।

प्रतिष्ठानले चार वर्षमा १ सय ८३ पुस्तकका अध्ययन, अनुसन्धान र अनुवादका साथै २ सय २७ गोष्ठी, सम्मेलन र कार्यशाला आयोजना गरिसकेको छ । यस्तै वयोवृद्ध साहित्यकारका उपचारका लागि प्रतिष्ठानले २४ लाख ६ हजार सहयोग प्रदान गर्नुका साथै सहित्यिक पत्रिकालाई २२ लाख २ हजार सहयोग उपलब्ध गराएको छ ।

प्रतिष्ठानले २२ साहित्यकारलाई प्रज्ञा पुरस्कार तथा सम्मान र १० साहित्यकारलाई ‘हीरक जयन्ती विशिष्ट प्रतिभा पुरस्कार’ प्रदान गरेको छ । प्रतिष्ठानले ४ वर्षको अवधिमा मोदनाथ प्रश्रित, प्रा.डा. बासुदेव त्रिपाठी, नीरञ्जन (निनु) चापागाईं र मञ्जु काँचुलीलाई आजीवन सदस्यता प्रदान गरेको छ ।

वि.सं. २०७२ वैशाख १२ को भूकम्पले क्षति पुर्‍याएको सो प्रतिष्ठान १९ करोड ९३ लाख रुपैयाँको लागतमा पुनर्निर्माण गरिएको छ । सोही अवधिमा नेपाल–भारत मैत्री भवन निर्माण भई हस्तान्तरण हुनुका साथै सोही भवनमा आधुनिक छापाखाना, पुस्तकालय र सभाकक्ष पनि सञ्चालनमा ल्याइएको छ । १० करोड ६८ लाख ७५ हजार रुपैयाँको लागतमा आधुनिक छापाखाना खरिद गरी प्रयोगमा ल्याइएकिएको छ ।

४ वर्षको अवधिमा प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषा र साहित्यको विकास र विस्तारका लागि अन्तर्राष्ट्रिय मुलुकसँग सम्बन्ध विस्तार गरिसकेको बताउँछन् प्रतिष्ठानका सदस्यसचिव प्रा.डा. जीवेन्द्रदेव गिरी । ‘बङ्गाल एकेडेमी र पाकिस्तान एकेडेमी अफ लेटर्ससँग प्राज्ञिक आदानप्रदानको सम्झौता भएको छ’– उनी भन्छन् । प्रतिष्ठानले चाइना फेडेरेसन अफ लिटरेरी एन्ड आर्ट सर्कल र गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग सम्झौता नवीकरण पनि गरेको छ ।

विभिन्न बाजा, वेशभूषा र ध्वनि चक्का व्यवस्थित गरी सङ्ग्रहालय स्थापना गर्ने, इ–लाइब्रेरी निर्माण गर्नेलगायत काम आफूले गर्न चाहे पनि समय अभावका कारण सम्पन्न गर्न नसकेको बताउँछन् कुलपति उप्रेती । प्रतिष्ठानले ४ वर्षको अवधिमा प्रशासन क्षेत्रमा समेत उल्लेख्य सुधार गरेको छ ।

कर्मचारी र कलाकारसँग सम्बन्धित नियुक्ति र बढुवाका काम गर्नुका साथै रिक्त दरबन्दीमा पदपूर्ति गरिएको सदस्यसचिव प्रा.डा. गिरी बताउँछन् । प्राज्ञ परिषदको बैठकले लेखक–साहित्यकार परिचयपत्र वितरणसम्बन्धी कार्यविधि, २०७५ समेत पारित गरिसकेको सरकारी समाचार एजेन्सी राससले जनाएको छ । ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर