newskoseli.Com

जटायु रेस्टुरेन्टमा खाना खाने यी गिद्ध : जम्मा १३ हजार गिद्ध छन् नेपालमा !

नेपालमा विभिन्न ९ प्रजातिका करिव १३ हजारभन्दा बढी गिद्ध रहेको अनुमान गरिएको छ ।

पूर्वी नवलपरासीको कावासोतीस्थित जटायु रेस्टुरेन्टका अनुसार हिमाली र चिसो स्थानमा रहने हाडफोर प्रजातिका गिद्ध निकै कम सङ्ख्यामा छन् भने अन्य प्रजातिका गिद्ध हिमाली बाहेक सबैजसो स्थानमा पाइने गरेको छ ।

नेपालमा ड्रङ, सानो खैरो, खैरो, राज, हिमाली, सुन, सेतो, हाडफोर र लामो ठुँडे गरी ९ प्रजातिका गिद्ध पाइएको छ । हाडफोर प्रजातिको गिद्ध बढी चिसो हुने हिमाली भेगमा मात्र पाइने जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिका संयोजक डीबी चौधरीले बताए ।

नेपालमा सबैभन्दा बढी हिमाली प्रजातिको गिद्ध करिव १० हजारको हाराहारीमा रहेको तथ्याङ्क छ भने खैरो, राज र लामोठुँडे प्रजातिका गिद्ध भारत, पाकिस्तान, चीन, बर्मा, थाइल्याण्डलगायतका देशबाट जाडो छल्न नेपालमा आउने गर्दछन् । पूर्वी नवलपरासीको कावासोतीस्थित उक्त रेस्टुरेन्टमा राखिएका १२ वटा गिद्धलाई प्रकृतिमा छाडिएको छ । प्रजनन केन्द्रमा हुर्किएका ती गिद्धलाई प्राकृतिक वासस्थानमा छाडिएको हो ।

विश्वमैै पहिलो पटक नेपालमा गिद्ध संरक्षणको थालनी भएको र सङ्कटापन्न अवस्थामा रहेका गिद्धकोे संरक्षणमा यस्ता प्रयास फलदायी हुने दावी गरिएको छ । प्रकृतिमा छाडिएका गिद्धको पँखेटामा नम्बर सहितको ‘ट्याग’ लगाइएको छ भने स्याटेलाइटबाट अनुगमन गर्न सकिने गरी गिद्धको ढाडमा ‘रेडियो कलर’ जडान गरिएको जानकारी संयोजक चौधरीले दिएका छन् ।

उनका अनुसार ‘रेडियो कलर’ जडान गरिएकाले अब प्राकृतिक वासस्थानमा छाडिएका ती गिद्ध रहने स्थान र तिनको अवस्थाबारे अनुगमन गर्न सकिनेछ । विगत १० वर्षमा नेपालमा ९१ प्रतिशत र भारतमा ९९ दशमलव ९ प्रतिशत गिद्ध मासिएपछि दुबै देशका साथै अन्य मुलुकले पनि गिद्ध संरक्षणमा जोड दिन थालेका छन् ।

प्रकृतिमा भएका र छोड्नुपूर्व खोरमा राखिएका गिद्धलाई रेस्टुरेन्टमा सँगै खाना खुवाइँदै आइएको थियो । जटायु रेस्टुरेन्टमा जालीभित्र र बाहिर एकै ठाउँमा खाना र पानीको व्यवस्था गरिएको थियो । सँगै खाँदै आएकाले जालीभित्रका गिद्ध पनि बाहिरका गिद्धसँग घुलमिल भएको अनुमान गरिएको छ ।

अति सङ्कटापन्न अवस्थामा रहेको डङ्ङगुर जातको गिद्धको सङ्ख्या बढाउनका लागि दातृ निकायको सहयोगमा सरकारले विभिन्न कार्यक्रम गर्दै आएको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर