newskoseli.Com

मनाङको आलु खपत हुन्छ राजधानीका ठूलठूला होटलमा !

देशका तीन तारे र पाँच तारे होटलहरुबाट मनाङमा फलाइएका अर्गानिक आलुको माग आउन थालेको छ । काठमाडौंका हायात र सोल्टीजस्ता होटलमा यहाँका आलुको परिकार बन्ने गरेको छ ।

विगत केही वर्षयता मनाङका आलुको चर्चा हुन थालेको छ । वर्षको एक याम मात्र खेती हुने यस ठाउँमा आलु नै मुख्य बालीका रुपमा रहिआएको छ । हिमाली हावापानीमा उत्पादन भएका आलु स्वादिष्ट हुने भएकाले धेरैको रोजाइमा पर्ने गरेको छ ।

अर्गानिक खेती गरिने यस जिल्लामा कुनै प्रकारका विषादी प्रयोग गरिँदैन । मनाङका सबै ठाउँमा यसको राम्रो उत्पादन हुन्छ । यहाँका मानिसहरु होटल व्यवसायसँगै कृषि पेशामा संलग्न छन् । यहाँ उत्पादन भएका आलु जिल्लाभित्र मात्रै नभई अन्य जिल्ला र देश–विदेशबाट समेत माग हुन थालेको छ ।

विशेष गरेर होटलमा यहाँका आलु बढी खपत हुने गरेको छ । मनाङ आउने आन्तरिक तथा बाह्य पर्यटकले यहाँको आलु बढी रुचाउने गरेको होटल व्यवसायी विनोद गुरुङ बताउँछन् । यहाँ कुनै बजारबाट बीऊ ल्याएर रोप्ने प्रचलन छैन, आफैंले राखेका बीऊ नै रोप्ने गरिएको छ ।

यतिबेला मनाङका विभिन्न भागमा आलु भित्र्याउने चटारो छ । तल्लो मनाङमा धेरैजसोले घरघरमा आलु भित्र्याइसकेका छन् भने माथिल्लो मनाङमा भने भर्खरै आलु खन्ने क्रम सुरु भएको छ । तल्लो क्षेत्रमा भदौमा र माथिल्लो क्षेत्रमा असोजमा आलु खन्ने काम हुन्छ । फागुन–चैतमा रोपेको आलु यतिबेला तयार भएको हो ।

आलु खरिदका लागि मानिसहरु खेत–खेतमा आउने गरेको कृषक सोलबहादुर गुरुङले बताउँछन् । व्यापारीहरु आलु खरिदका लागि बाहिरी जिल्लाबाट किसानका घरखेतमै पुग्छन् । धेरै आलु मनाङमै खपत हुने गर्छ । चामे गाउँपालिका– २, थानचोकका यज्ञ घलेका अनुसार व्यापारी र आन्तरिक पर्यटकले आलु किनेर लैजान थालेपछि किसानलाई खेतीबाट फाइदा हुन थालेको छ ।

चाडबाड र लामो समयपछि बिदामा घर जान लागेका कर्मचारीले मनाङबाट आलु नै लिएर झर्छन् । दसैं–तिहारमा घर जाने कर्मचारीको कोसेली आलु नै बनेको हुन्छ । ज्यादाजसो यहाँका आलु बेंसीशहर र काठमाडौं पठाइन्छ ।

थानचोकका बिन घलेले यो वर्ष मात्र ५० मुरी आलु फलाएका छन् । मनाङ लमजुङको सडक पहिरोले बिगारेपछि आफ्नो व्यापार रोकिएको उनले बताए । उनी भन्छन्– ‘५–६ वर्षअघि मोटर नचल्दा गाउँमा आलु खपत हुन गाह्रो थियो । कतिपयले गाईलाई खुवाउँथे, अहिले समस्या छैन, मनाङ घुम्न आउनेले आलु किनेर लान्छन् ।’

नासो गाउँपालिकाको ओडार गाउँमा महिलाले सामूहिक आलुखेती गरेका छन् । आलु बेचेर आएको आम्दानीबाट गाउँको सरसफाइ, बाटो निर्माणजस्ता काम गर्ने गरिएको र महिलाको आय–आर्जनमा टेवा पुगेको समूहका अध्यक्ष बेलकासी गुरुङले बताए ।

ठाउँ–ठाउँबाट आएका पर्यटकले मनाङको आलुको स्वाद लिन पाएका छन् । पहिले दाल, चामल, नुन र तेल लिएर आएका व्यापारी आलु, गहुँ, करु, फापर साटेर फर्कन्थे । अहिले सडक बनेपछि सवारी साधनमै राखेर आलु काठमाडौं पठाउने गरिएको छ । मनाङको रैथाने आलु देशका ठाउँ–ठाउँमा पुगिरहेका स्थानीयवासी विनोद गुरुङले बताए ।

उनका अनुसार यहाँका रैथाने आलु काठमाडौंका ठूलठूला होटलहरुमा निर्यात हुने गरेको छ । सहरका तीनतारे, पाँचतारे होटलमा समेत मनाङका आलुको परिकार बन्ने गरेको छ र मनाङको आलुको परिकारलाई अतिथिले तारिफ गर्ने गरेका छन् । हाल यहाँ उत्पादित आलुको मूल्य प्रतिपाथी १ सय ३० रुपैयाँ पर्छ ।

मनाङमा आलुको उत्पादन बढ्दै गएको छ । साविक कृषि विकास कार्यालय मनाङका कृषि प्रसार अधिकृत रामकुमार साहका अनुसार आलुखेती गर्ने किसान र आलुको उत्पादन वर्षेनि बढ्दै गएको छ । आलुले बजार पाएपछि मनाङ्गेहरु आलुखेती गर्न लालायित भएका हुन् ।

कार्यालयका अनुसार आ.व. २०७२–७३ मा ४ सय ४५ हेक्टर क्षेत्रफलमा खेती गर्दा ७ हजार ६ सय ११ टन उत्पादन भएको थियो । आ.व. २०७३–७४ मा ६ सय ७५ हेक्टरमा लगाइएको आलुखेतीबाट ८ हजार २ सय ३७ टन उत्पादन भएको थियो । आ.व. २०७४–७५ मा ६ सय ८१ हेक्टरमा ८ हजार ४ सय २० टन आलु उत्पादन भयो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर