NewsKoseli.Com

के–के हुन् आत्महत्याका लक्षण र रोकथामका उपाय ? संख्या विकराल बन्दै…

पर्वत, १८ असोज ।

कुश्मा नगरपालिका– २, खुरकोट, पर्वतका २६ वर्षीय गणेश भनिने फणिन्द्रराज पौडेल तीजको दर खाने दिन (भदौ २६ मा) आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परे । ८ वटी छोरीपछि जन्मेका एक मात्र छोरा उनले अझ दिदीहरुलाई जम्मा पारेर दर खुवाउने तीजकै दिन झुन्डिएर आत्महत्या गरे ।

स्नातकोत्तर तहमा अध्ययनरत पौडेल केही समय पहिलेदेखि मानसिक समस्याबाट पीडित थिए । मानिसदेखि डराउने स्वभाव रहेका पौडेल श्रीमती माइत गएको मौका छोपी झुन्डिएका थिए । उनका दुई छोरी छन् ।

पौडेल मात्र होइन, कुश्मा नगरपालिका– ७ की १८ वर्षीया बबिता सुवेदी (गौतम) पनि भदौमा आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परिन् । बिहान घर सफा गरेकी सुवेदी मृत फेला परेपछि परिवारका सदस्यले प्रहरीमा खबर गरे । असारमा मात्रै विवाह–बन्धनमा बाँधिएकी गौतमले आत्महत्या नै गरेको प्रारम्भिक अनुसन्धानबाट देखियो । उनले किन आत्महत्या गरिन् वा मृत्युको कारण अरु नै कुनै थियो भन्ने खुल्न सकेको छैन ।

पौडेल र गौतम मात्रै होइन, पर्वत जिल्लामा पछिल्लो समय आत्महत्याका घटना बढ्न थालेका छन । आर्थिक वर्ष २०७५–७६ को साउन र भदौ २ महिनामा ६ जनाले झुन्डिएर आत्महत्या गरिसकेका छन् । आत्महत्या गर्नेमध्ये अधिकांश महिला छन् ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४–७५ मा ३६ जनाले आत्महत्या गरे । झुन्डिएर आत्महत्या गर्ने २७, हामफाली आत्महत्या गर्ने ७ र विष खाई आत्महत्या गर्ने २ जना रहेका छन् ।

त्यस्तै, आर्थिक वर्ष २०७३–७४ मा ३१ जनाले आत्महत्या गरे, जसमा झुन्डिएर आत्महत्या गर्ने २६, हामफाली आत्महत्या गर्ने ४ र विष खाई आत्महत्या गर्ने १ जना छन् । आ.व. २०७२–७३ मा २९ जनाले आत्महत्या गरे, जसमा झुन्डिएर आत्महत्या गर्ने २३, हामफाली आत्महत्या गर्ने ४ र विष खाई आत्महत्या गर्ने २ जना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । तिवारीका अनुसार आत्महत्या गर्ने क्रम बढेर डरलाग्दो रुप लिन थालेको छ ।

घरेलु हिंसा र आत्महत्या प्रमुख समस्या रहेका छन् । यसखाले सामाजिक विकृतिविरुद्ध जनचेतना जगाउनु नै पहिलो आवश्यकता भएको निष्कर्षसहित समुदायसँग मिलेर अभियान थाल्ने कार्ययोजना बनाइएको तिवारीले बताए । आत्महत्या गर्नेहरुमा महिला नै धेरै छन् । श्रीमान् विदेशमा रहँदा परपुरुषसँग हुने सम्बन्ध तथा एक–आपसमा बढ्ने अविश्वासका कारण पनि आत्महत्याका घटना बढेको देखिएको छ ।

आत्महत्या कुनै रोग नभएर विभिन्न समस्या र परिस्थितिका कारण सिर्जना हुने एउटा अवस्था हो, जसमा मानिस आफूले आफैंलाई हत्या गर्छ वा घात गर्छ । यस्ता परिस्थितिहरु आउनुको मुख्य कारण उदासीनता (डिप्रेसन) हुने गरेको मनोविश्लेषकहरुको भनाइ छ । संसारमा जति मानिसको मृत्यु हुन्छ, त्यसको एक हिस्सा आत्महत्या पनि हो । विद्यालय तहका बालबालिकादेखि युवा, वयस्क र वृद्धवृद्धाले पनि आत्महत्या गर्ने गरेका छन ।

तथ्यांकअनुसार नेपालमा प्रत्येक २ घन्टामा १ जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । आत्महत्या गर्नेहरूमा १५ देखि ४९ वर्ष उमेर समूहका धेरै देखिन्छन् । प्रनाउ तिवारी भन्छन्– ‘हरेक व्यक्तिले जीवनमा केही गर्ने अभिलाषा बोकेको हुन्छ, उसले त्यसलाई सपना सम्झेको हुन्छ तर जब त्यो कुरा पूरा हुन पाउँदैन, त्यही अवस्थामा डिप्रेसन सुरु हुन्छ । अनि एकोहोरिएको मान्छेले आत्महत्या नै अन्तिम उपाय देख्छ ।’

हरेक मानिसले जीवनमा कुनै न कुनै बेला आत्महत्याको सोचाइ राख्न पुग्छ । जब तनावमा हुन्छ, त्यही बेलामा नै उसले आत्महत्या गर्न पुग्छ । इच्छाशक्ति बलियो हुने व्यक्ति भने जोगिन्छ । धेरैजसो घटनामा आत्महत्या गर्नुका पछाडि आर्थिक सङ्कट वा गरिबी, पारिवारिक बेमेल, असफल प्रेम, असफलतालगायतका कारणहरु देखिएका छन् ।

यस्तै, इज्जतमा धक्का, व्यापार–व्यवसायमा घाटा, आर्थिक बोझ, आफन्तको शोक, परिवारजनको मृत्यु, प्राकृतिक विपत्, एक्लोपन, गल्ती वा अपराध, चरम महत्त्वाकांक्षा, दीर्घरोग, महिला अस्मितामाथि शंकालगायतले पनि मानिसलाई आत्महत्या गर्न प्रेरित गरिरहेको हुन्छ ।

आत्महत्याका लक्षण र रोकथामका उपाय

आत्महत्या गर्न खोज्ने व्यक्तिको स्वभाव अरु सामान्य व्यक्तिको भन्दा फरक रहने मनोवैज्ञानिकहरु बताउँछन् । उनीहरु प्रायः समूहमा रहन मन पराउँदैनन् । एक्लै टोलाउने र धेरै कुरा सोच्ने बानी परेका हुन्छन् । मनोविज्ञानबारे अध्ययन र अध्यापन गर्ने पर्वतका प्राध्यापक राजेन्द्र पहाडी भन्छन्– ‘आत्महत्या गर्न खोज्नेहरुले मर्ने उपाय के होला भनेर सोचिरहेका हुन्छन् । मृत्युको कुरामा बढी चासो व्यक्त गर्छन् । प्रायशः निराश देखिने, आफूले आफैंलाई घृणा र अविश्वास गर्ने, एकान्तमा बस्न मन पराउने, असामान्य व्यवहार गर्ने गर्छन् ।’

आत्महत्या गर्ने मौका खोजिरहेकाहरुले मर्ने मान्छेले झैं इच्छा देखाउने, अनावश्यक रुपमा साथीलाई फोन गर्ने, धेरै नबोल्ने वा अत्यधिक बोल्ने, बोल्दा, हिँड्दा, खानपिन गर्दा समेत फरक व्यवहार देखाउने मनोपरामर्शदाताहरु बताउँछन् ।

आत्महत्या गर्न खोज्ने मानिसहरुको साथमा धेरै समय रहिदिने, खुशी भैदिने, रमाइलो गरिदिने जस्ता काम गरेर उसलाई तत्कालको दुर्घटनाबाट जोगाउनु उत्तम विकल्प हो । त्यसपछि भने बिस्तारै उसको बारेमा अध्ययन गर्ने र उदासीनतामा परेका वा अचानक आत्महत्याको निर्णयमा पुग्न लागेकाहरुको मनको कुरा खोतल्ने प्रयास गर्नुपर्छ । तर, यो पनि सबै व्यक्तिले होइन, आत्महत्याको प्रयास गर्ने व्यक्तिले रुचाएका निकटका व्यक्ति भएमा मात्र सम्भव छ ।

आत्महत्याको प्रयास गरेका वा गर्न लागेका व्यक्तिलाई कहिल्यै पनि होच्याउने, गिज्याउने, व्यङ्ग्य गर्ने, हाँसोमा उडाउने, यस्तो नगर भनेर निर्देशन वा आदेश दिने लगायतका कामहरु गर्नुहुँदैन । आत्महत्याका कारण विभिन्न हुन सक्छन् । समस्यामा परेको व्यक्तिको मूल जरोमा पुगेर निदान खोज्न सकियो भने व्यक्ति आत्महत्याबाट जोगिन सक्छ ।

आत्महत्या मानवताविरोधी अपराध हो । यसलाई मानवजीवनको कमजोर मानसिकता वा साँधुरो बुझाइको द्योतक मानिन्छ । नेपालको सन्दर्भमा पछिल्ला घटनाक्रमहरूलाई नियाल्ने हो भने आत्महत्याको एउटा प्रमुख कारण सामाजिक सञ्जाल पनि बनेको छ । सामाजिक सञ्जालकै माध्यमबाट गाँसिने प्रेम सम्बन्ध, अपरिपक्व उमेरमा गरिने प्रेम र असुक्षरित यौन सम्बन्धलगायत अन्य परिवेशहरू पनि आत्महत्याका कारण बनेका छन् ।

त्यस्तै, बच्चाहरुले माग गरेका कुरा अभिभावकले पूरा गरिदिन नसक्नु, घरको निगरानी बढी हुनु वा बढी स्वतन्त्र हुनुलगायत पनि आत्महत्याका कारण हुन् । हरेकले आफ्नो व्यवहार र अरुले गर्ने व्यवहारका बीचमा विश्लेषण गर्न सक्यो भने नकारात्मक सोचको विकास हुन पाउँदैन । समुदायमा विभिन्न खालका चेतनामूलक कार्यक्रम तथा अभियान चलाउने गरेमा पनि यो प्रवृत्तिमा कमी आउन सक्छ ।

आत्महत्याको लक्षण देखिएका वा कुनै सकसमा परेका व्यक्तिलाई समयमै उपयुक्त परामर्श उपलब्ध गराउनु आवश्यक छ । पीडामा परेका व्यक्तिहरुको पहुँचमा रहने गरी हतियार, लागू पदार्थ, औषधि, विषादीलगायतका ज्यान लिन सक्ने वस्तुहरु राख्नुहुँदैन ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर