newskoseli.Com

थापामगर बने ‘लिगलिगे राजा’, उनैले पहिरिए श्रीपेच…

नवौं ‘लिगलिगे दौड प्रतियोगिता, २०७५’ को उपाधि जित्दै भारतीय सेनाका अनिष थापामगरले श्रीपेच पहिरिएका छन् ।

पर्वत घर भएका थापा मगरल उपाधि जित्दै यस वर्षका लागि ‘लिगलिगे राजा’ घोषित भएका हुन् । आइतबार भएको दौड प्रतियोगितामा थापामगरले १३.८ किलोमिटरको निर्धारित दुरी ५८ मिनेट २५ सेकेन्डमा पार गरे । प्रतियोगितामा बाग्लुङ जिल्ला घर भएका भारतीय सेनामा कार्यरत तीर्थ पुन मगर दोस्रो भए, उनले निर्धारित दुरी ५८ मिनेट ४० सेकेन्डमा पूरा गरे । प्रतियोगितामा तेस्रो भएका लम्जुङ जिल्ला बेंशीसहर नगरपालिका घर भई नेपाली सेनामा कार्यरत रामजी बस्नेतले निर्धारित दुरी ५९ मिनेट ४१ सेकेन्डमा पूरा गरी तेस्रो स्थान हासिल गरे ।

गोरखा र लमजुङको सीमानामा पर्ने मर्स्याङ्दी नदीको दोभानमा रहेको चेपेघाटबाट सुरु भएको दौड प्रतियोगिता ढिंकीडाँडा, ठाँटीपोखरी, पानीट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभाचौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोलीचौतारोदेखि लिगलिगकोट गढीसम्म पुगेर टुङ्गिएको थियो ।

प्रतियोगितामा प्रथम हुनेलाई ‘लिगलिगे राजा’ घोषणा गरिने परम्परा अनुसार थापामगरलाई आइतबारदेखि एक वर्षसम्मका लागि ‘लिगलिगे राजा’ घोषणा गर्दै श्रीपेच पहिर्‍याइएको जानकारी आयोजक ‘लिगलिग विकास अभियान’ का अध्यक्ष पूर्णबहादुर रानाले दिए । प्रतियोगिताका विजेता थापामगरलाई नगद ६० हजार १ सय रुपैयाँका साथ श्रीपेच, पगरी, ट्रफी र ‘लिगलिगकोट राजदूत’ को ब्याच प्रदान गरिएको उनले बताए ।

दोस्रो भएका पुनलाई नगद ३५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र तथा तेस्रो भएका बस्नेतलाई नगद २५ हजार रुपैयाँका साथ मेडल र प्रमाणपत्र प्रदान गरिएको जानकारी अध्यक्ष रानाले दिए । प्रतियोगितामा १ सय २२ जना सहभागी थिए ।

महिला स्थानीयतर्फको दौडमा सुनिता गिरी, खुला महिलातर्फको दौडमा पुष्पा भण्डारी र भेट्रानतर्फको दौडमा धर्म महर्जन प्रथम भएका छन् । नेपाल एकीकरण अघिका बार्इसे–चौबीसे राज्यमध्ये लिगलिगकोटमा दौडेर प्रथम हुने व्यक्ति नै राजा हुने परम्परा थियो ।

पहिले ‘राजा’ हुने परम्पराबाट दौड प्रतियोगिता सुरु भएको भए तापनि अहिले लिगलिगकोटमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिँदै आएको उनले बताए । वि.सं. १६०४ मा सुरु भएको मानिने दौड प्रतियोगितालाई पुनः वि.सं. २०६७ देखि निरन्तरता दिन थालिएको जानकारी अध्यक्ष रानाले दिए । दौडमा विजय हासिल गरी द्रव्य शाह राजा बनेदेखि लिगलिगकोटमा दौडिएर राजा हुने परम्पराको अन्त्य भएको मानिन्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर