NewsKoseli.Com

मार्क्सवाद भर्सेज संशोधनवाद

मार्क्सवादको आवरणमा पुँजीवाद लागू गरी श्रमजीवी वर्गमाथि ठगीधन्दा सञ्चालन गर्नु नै संशोधनवाद

काठमाडौं, २ कात्तिक ।

प्रगतिशील विचारधारा मान्ने मानिसहरुले प्रकृति, मानव समाज, सामाजिक क्रियाकलाप र सामाजिक शक्तिहरुको विश्लेषण मार्क्सवादको ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी मान्यताका आधारमा गर्दछन् ।

मार्क्सवादका कुनै पनि मान्यता मनोगत र आदर्शवादी नभई वैज्ञानिक, वस्तुगत र पद्धतिसंगत विश्वदृष्टिकोणमा आधारित हुन्छन् । चेतनशील मानिसले जुन कुराको तथ्य र प्रमाण हुँदैन, ती मनोगत र काल्पनिक हुन् भन्ने कुरा बुझ्नु पर्दछ । साथसाथै, जुन कुराको तथ्य र प्रमाण हुन्छ, ती यथार्थ, वस्तुगत र वैज्ञानिक हुन् भनी बुझ्नु पर्दछ । मानिस र पशुबीचको फरकका मुख्य पक्ष भनेकै सचेतन चेतना हो, यदि मानिसको दिमागबाट चेतना झिकिदिने हो भने मानिस र पशुमा कुनै पनि फरक पाइँदैन ।

कतिपय मनिसहरु चिन्तन गर्ने पद्धति, विश्वदृष्टिकोण आदिमा अज्ञानता वा अन्य कारणले गर्दा वस्तु, घटना र इतिहासलाई एकाङ्की रुपमा हेर्ने गर्दछन् । विश्वका हरेक चिज ‘एकको दुई विभाजन’ भएका हुन्छन् । जस्तो– राम्रो–नराम्रो, दिन–रात, उज्यालो–अँध्यारो, सकारात्मक–नकारात्मक, पोजेटिभ–नेगेटिभ, जित–हार, विजय–पराजय, जन्म–मृत्यु, आक्रमण–रक्षा, अगाडि–पछाडि, सफलता–असफलता, प्रश्न–उत्तर, क्रान्ति–प्रतिक्रान्ति आदि ।

यसरी मार्क्सवादले यस्ता तमाम विषयवस्तुको सकारात्मक र नकारात्मक दुवै (द्वन्द्वात्मक भौतिकवादी) कोणबाट वस्तु र घटनाको समीक्षा गरेर वैज्ञानिक निश्कर्ष निकाल्ने काम गर्छ । माथि उल्लेख गरेजस्तै मार्क्सवाद र संशोधनवादलाई पनि समदुरीमा राखेर हेर्नु अवैज्ञानिक र मनोगत हुन जान्छ । मार्क्सवाद र संशानेधनवाद भनेको विपरीत चीज हो, यसलाई कदापि समदुरीमा राखेर हेर्न मिल्दैन । मार्क्सवाद र संशोधनवादलाई मित्रशक्तिका रुपमा हेर्ने गरिन्छ, वस्तवमा यो कुनै मार्क्सवादी समझदारी होइन, साथै यो मानवीय चेतना पनि होइन ।

मानिसको दिमागमा संशोधनवाद खराब हो भन्ने न्यूनतम मान्यता रहेको हुन्छ तर संशोधनवादीहरुले आफूलाई पुँजीजीवादी नभनी कम्युनिस्ट नै भनेकाले जनतामा गहिरो भ्रम सिर्जना हुने गरेको छ । मार्क्सवादको विकास हुनुभन्दा अगाडि सुधारवादी विचारका रुपमा विभिन्न दार्शनिकहरुले युरोपियन कम्युनिज्म (युरो समाजवाद) को चर्चा गर्दै आएका थिए । युरोपियन समाजवाद समानता र न्यायपूर्ण समाजभित्र वर्गसंघर्षविरुद्ध वर्गसमन्वय, क्रान्तिकारी रुपान्तरणका विरुद्ध शान्तिपूर्ण सहअस्तित्व, वर्गविलोपीकरणका विरुद्ध वर्गअस्तित्व, समानताका विरुद्ध शोषणजस्ता सुधारवादी विचारको जगमा उभिएको थियो ।

जर्मन मजदुर आन्दोनमा वर्नस्टाइन र लासालले संशोधनवादी कित्ताको नेतृत्व गरे भने कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले क्रान्तिकारी मार्क्सवादको अविष्कार र विकास गरे । मार्क्स र एंगेल्सले वैज्ञानिक विचारको विकास गर्ने क्रममा वर्नस्टाइन र लासालजस्ता सुधारवादी र संशोधनवादीविरुद्ध भीषण संघर्ष गर्नुपरेको थियो भने लेनिनले पनि कार्ल काउत्स्की, प्लेखानोभ, ट्राट्स्की, बुखारिनजस्ता संशोधनवादीविरुद्ध संघर्ष गर्दै मार्क्सवादको रक्षा र लेनिनवादको विकास गर्नुभयो । त्यसैगरी, माओले पनि तुस्यु, देङसियाओ पिङ, वाङमिङजस्ता संशोधनवादीविरुद्ध संघर्ष गर्दै मार्क्सवाद–लेनिनवादको रक्षा एवं माओवादको विकास गर्नुभयो ।

विश्व कम्युनिस्ट आन्दोलनमा क्रान्तिसँगसँगै प्रतिक्रान्तिको जन्म भएजस्तै मार्क्सवादसँगसँगै संशोधनवादको पनि जन्म हुने गरेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा प्रुधोंलाई ‘संशोधनवादका पिता’ का रुपमा चिनिन्छ । त्यसैगरी, मार्क्सवाद पुरानो भएको अलाप गर्दै वर्नस्टाइनले पनि संशोधनवादी–पुँजीवादी विचारको पक्षपेषण र वकालात गरेका थिए । संशोधनवादका विशेषताहरु दक्षिणपन्थी, उग्रपन्थी र मध्यपन्थीका रुपमा प्रकट हुनेगरेको छ । मूलतः तीन वटा स्रोतबाट संशोधनवादको जन्म हुन्छ– निम्नपुँजीवाद, उपभोक्तावाद र अवसरवाद । साम्राज्यवादी, पुँजीवादी, दलाल तथा नोकरशाहीहरुसँग संशोधनवादीहरुको घनिष्टता र निकटता रहेको हुन्छ ।

कम्युनिस्ट पार्टीको नाम र झन्डा बोक्दैमा कोही कम्युनिस्ट भैहाल्छ भन्ने मान्यता नै शतप्रतिशत गलत र भ्रमपूर्ण छ । संशोधनवादीहरू पनि ‘मार्क्सवादीका दाजुभाइ नै हुन् र वर्गमित्र समेत हुन्’ भन्ने दृष्टिकोण नबदलेसम्म मार्क्सवादको रक्षा, प्रयोग र विकास गर्न सकिँदैन । सच्चा कम्युनिस्टहरुले समेत संशोधनवादीहरूलाई उनीहरु मित्रशक्ति नै हुन् भन्ने भ्रम पाल्नाले कम्युनिस्ट आन्दोलनलाई ठूलो क्षति पुगेको छ । मार्क्सवादीहरुले संशोधनवादसँग लड्दा प्रतिक्रियावादलाई फाइदा पुग्ने हो कि भन्ने भ्रम पर्न गएकाले सतर्कतापूर्वक आलोचना मात्र गर्दछन् । जब कम्युनिस्ट र संशोधनवादीको बीचमा आलोचना सुरु हुन्छ तब पुँजीवादीहरुले कम्युनिस्टहरू एक–आपसमै ‘गाँड कोराकोर’ गर्दछन् भनेर जनतामा ठूलो भ्रम सिर्जना गर्दछन् ।

वास्तवमा संशोधनवाद भनेको सच्चा पुँजीवाद नै हो, यो कदापि मार्क्सवाद हुन सक्दैन । मार्क्सवादको आवरणमा पुँजीवादी सारतत्त्व लागू गरी श्रमजीवी वर्गमाथि ठगीधन्दा सञ्चालन गर्नु नै संशोधनवाद हो । पुँजीवादीहरु खुला रुपमा शोषणको स्वतन्त्रताको वकालात गर्दछन् भने संशोधनवादीहरु छद्मभेषी बनेर उही कुकर्म गर्दछन् । कुरा प्रस्ट छ कि पहिलो पंक्तिका मानिसभन्दा दोस्रो पंक्तिका मानिसहरू बढी अनैतिक छन्, जसले मार्क्सवादको आवरणमा पुँजीवादी शोषण र व्यक्तिगत स्वार्थका लागि जनमुक्ति र समाजवादको नारा लगाइरहेका हुन्छन् ।

संशोधनवाद सारसंग्रहवादका रुपमा भ्रष्टीकरण भएको छ, यसले वर्गसंघर्ष परित्याग गरी वर्गसमन्वयको बाटो पहिल्याएर ‘बाघ र बाख्रा एउटै खोरमा अटाउने’ वर्गसमन्वयवादी अवैज्ञानिक कुतर्क गर्दछ । यो प्रवृत्ति ‘मार्क्सवादको सिर्जनात्मक प्रयोग’ का नाममा सर्वहारा अधिनायकत्व छाडेर पुँजीवादी अधिनायकत्वलाई निरन्तरता दिन अनेकौं बहानाबाजी गर्दै संसदीय फोहोरी अहालमा डुब्दछ । यसले ‘शान्तिपूर्ण संक्रमण’ को नाराद्वारा श्रमजीवी वर्गमाथि वर्गघात गर्दै शोषणमूलक समाजको भत्किसकेको व्यवस्थालाई रंगरोगन गरी नयाँ बनेको हल्ला गर्दछ । साथसाथै, यसले सर्वहारा क्रान्तिलाई अस्वीकार गर्दै संसदीय अनैतिक फोहोरी खेलबाट नै वैज्ञानिक समाजवादमा पुग्न सकिन्छ भनी जनतालाई भ्रमित पार्दछ ।

संशोधनवाद भनेको छद्म पुँजीवाद हो । खुला पुँजीवादलार्इ सजिलै चिन्न र बुझ्न सकिन्छ भने छद्म पुँजीवाद ‘हरियो घाँसभित्र लुकेको हरियो सर्प’ जस्तो हुन्छ । यसले खेतबारीमा काम गर्नेमाथि सजिलै आक्रमण गर्न सक्दछ जबकि अन्य सर्पहरुलार्इ टाढैबाट चिन्न र सतर्क हुन सकिन्छ । ठीक त्यस्तै संशोधनवादीबाट पनि जनता नराम्रोसँग ठगिन पुग्छन् । मार्क्सवादको मन्त्रोच्चारण गरेर मार्क्सवादमाथि नै छुरा धस्नु संशोधनवादको मूल विशेषता हो । यसले मार्क्सवादभित्र पुँजीवादको गर्भाधारण गराउँछ अनि मार्क्सवाद र पुँजीवादको अनैतिक गर्भाधारणबाट जन्मिएको अवैध सन्तान नै संशोधनवाद हो ।

संशोधनवादीहरु आफ्नो स्वाभिमान बन्दकी राखेर पुँजीवादी सरकारमा सामेल हुन्छन् र जनतालाई समाजवाद र साम्यवादका सपना बाँडेर पुँजीपति वर्गको मतियार बनी मोजमस्ती, भोगविलास, ऐसआराम र भ्रष्टाचारजस्ता घृणित कुकर्म गर्न पुँजीवादीभन्दा अगाडि हुन्छन् । संशोधनवादीहरु आफूले वर्षौंदेखि उठाउँदै आएका वर्गीय मुद्धा भुलेर आफ्नै परिवार र नातागोताभित्र राजकीय अवसर दिलाउन अनैतिक रुपमा मरिमेटेर लाग्छन् । संशोधनवादको भ्रमित विचारद्वारा श्रमजीवी जनता अलमलमा परेका छन्, उनीहरुले को सच्चा कम्युनिस्ट हो र को ढोंगी ‘कम्युनिस्ट’ हो भनेर छुट्याउन गाह्रो परिरहेको छ । मुख्यतः मार्क्सवाद–लेनिनवाद–माओवादको विचारसहित वर्गसंघर्ष र बल प्रयोगको कार्यदिशा बोकेका पार्टीहरु मात्र सच्चा मार्क्सवादी कम्युनिस्ट पार्टी हुन् ।

आधुनिक संशोधनवादका जन्मदाता सोभियत कम्युनिस्ट पार्टीका नेता निकिता ख्रुश्चेभ हुन् । उनले मार्क्सवाद–लेनिनवादको झन्डामुनि वर्गसमन्वयवादी विचारको जगमा आधुनिक संशोधनवाद लागू गरे । ख्रुश्चेभले सर्वहारा अधिनायकत्व र बल प्रयोगको सिद्धान्तलाई लात हान्दै ‘सम्पूर्ण जनताको पार्टी, सम्पूर्ण जनताको सत्ता र शान्तिपूर्ण संक्रमण’ को पुँजीवादी नाराद्वारा प्रतिक्रान्ति गरे । उनले समाजवादको ठाउँमा पुँजीवाद, वर्गसंघर्षको ठाउँमा वर्गसमन्वयवाद, सर्वहारा अन्तर्राष्ट्रवादको ठाउँमा सामाजिक फासीवाद, मार्क्सवादी विचारको ठाउँमा संशोधनवादी पुँजीवादी विचारधारा र सामूहिक एवं राजकीय स्वार्थका ठाउँमा व्यक्तिगत तथा निजी स्वार्थजस्ता विजातीय कर्मद्वारा सोभियत विघटनको जग बसाले । लेनिनको नेतृत्वमा सोभियत जनताको भीषण त्याग, वलिदान र संघर्षद्वारा स्थापित सर्वहारा वर्गको सत्तालाई सजिलै प्रतिक्रान्ति गरी पुँजीवादी मेसिनरीमा बदल्न ख्रुश्चेभी संशोधनवाद सफल भयो ।

संशोधनवादको नयाँ प्रयोग इण्डोनेसिया र चिलीको कम्युनिस्ट आन्दोलनमा प्रकट भयो । चिलीको कम्युनिस्ट पार्टीले ख्रुश्चेभका ‘तीन शान्तिपूर्ण सिद्धान्त’ को आधारमा संसदीय व्यवस्थाबाट सर्वहारा अधिनायकत्व लागू गर्न सकिन्छ भन्ने विश्वास लियो । वास्तवमा संसदीय पुँजीवादी व्यवस्था र त्यसका आम मेसिनरीले सर्वहारा वर्गको होइन, पुँजीवादकै सेवा गर्छ भन्ने सामान्य समझदारी पनि नेतृत्वमा हुन सकेन । पुँजीवादी पुरानो बनिबनाउ बुर्जुवा सत्तार्ला पूर्ण रूपमा ध्वस्त नपारेसम्म त्यसले सर्वहारा अधिनायकत्व लागू गर्न सक्दैन । निर्वाचनमार्फत सत्तामा पुगेको क्रान्तिकारी सरकारले सत्ताका संयन्त्रहरूलाई परिवर्तन गर्न खोज्यो । तर, साम्राज्यवाद र पुँजीवादीका दलालहरूले त्यसलाई सफल हुन दिएनन् । अमेरिकी साम्राज्यवादको निर्देशनमा चिलीको सेना, प्रशासन तथा वित्तीय संस्थाहरूको आडमा ‘कम्युनिस्ट सरकार’ ले जनतामाथि भीषण दमन चलायो । त्यस दमनबाट लाखौंको संख्यामा नरसंहारमार्फत अमेरिकाले आफ्नो पुँजीवादी सरकार स्थापना गर्‍यो । त्यस घटनाले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई ठूलो शिक्षा दिएको छ ।

अन्त्यमा,

नेपाली कम्युनिस्ट आन्दोलनमा हावी रहेको संशोधनवादले दुईतिहाइको सरकारको हवाला दिँदै जनतामाथि राज गरिरहेको छ । ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नाराभित्र देश र जनतालाई दोहन गरेर विस्तारवाद र साम्राज्यवादको डिजाइनमा सच्चा कम्युनिस्टहरुलाई ‘सफाया’ गर्ने अभियान आगाडि बढाउने निश्चित छ ।

नेपाललगायत विश्वभरि नै कम्युनिस्ट पार्टीप्रति जनताको आस्था र भरोसा निकै ठूलो छ । चुनाव जित्नका लागि मात्र संशोधनवादीहरूले कम्युनिस्ट पार्टीको नाम र झन्डा प्रयोग गर्ने गरेका छन्,कम्युनिस्ट कर्म गर्न होइन । यदि जनहितको काम गर्ने भए सुविधाजनक दुईतिहाइको सरकार छ, जसले कुनै रोकावट भए संविधान नै संशोधन गरेर समाजवादी कार्यक्रम लागू गर्न सक्छ ।

संशोधनवादीहरु रचनात्मक हुँदैनन, उनीहरु ध्वंसात्मक हुने भएकाले समाजवाद होइन, पुँजीवादकै मजबुतीकरण गर्दछन् । संशोधनवादीहरूले सत्ताको समेत दुरुपयोग गरेर कम्युनिस्टहरुलाई बदनाम गराउने र मानिसहरूलाई भ्रष्ट बनाई ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने उखानलाई चरितार्थ गर्नेछन् । यसर्थ, वर्तमान परिवेशमा संशोधनवादका विरुद्ध क्रान्तिकारी मार्क्सवादको झन्डा उठाउने काम धेरै चुनौतीपूर्ण छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर