newskoseli.Com

आज (आइतबार) राति ‘तारा खस्दैछ’, हेर्न नभुल्नुहोला !

हेलीको पुच्छ्रेताराका कारण हुने ‘मृगशिरा उल्का वर्षा’ आइतबार राति १०ः४५ देखि सोमबार बिहान ५ः४५ सम्म देखिने भएको छ ।

उल्का वर्षाको स्रोत मृगशिरा (ओरायन) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ‘ओरियनिड मिटियर सावर’ अर्थात् ‘मृगशिरा उल्कावर्षा’ नाम दिइएको हो ।

उल्का वर्षा हेर्नका लागि सोमबार बिहान ३ः४५ पछिको समय उत्तम हुने ‘नेपाल एस्ट्रोनोमिकल सोसाइटी’ ले जनाएको छ । अत्यधिक उल्का वर्षाका बेला प्रतिघन्टा २० वटासम्म उल्का देखिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए । ती उल्का वर्षाको गति प्रतिसेकेन्ड ६७ किमिसम्म हुने भएकाले करिव ७० किमिमाथिको वायुमण्डलमा घर्षण पैदा भएको दृश्य देखिन्छ ।

पुच्छ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टान छाड्छ । सूर्यको परिक्रमा गर्ने क्रममा जब पृथ्वी पुच्छ्रेताराको नजिक पुग्छ, तब ती धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्छन् । यसैलाई हामी उल्का वर्षा भनिन्छ ।

उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ । बेलायती खगोलशास्त्री ‘एडमन्ड हेली’ ले न्युटनको गुरुत्वाकर्षणसम्बन्धी सिद्धान्तका माध्यमले सौर्यमण्डलका आकाशीय पिण्डको अध्ययन गर्ने क्रममा सन् १७५८ को क्रिसमसको रातमा यो पुच्छ्रेतारा पत्ता लगाएको हुनाले यसलाई ‘हेलीको पुच्छ्रेतारा’ भनिएको हो । यसले ७५ वर्षमा सूर्यलाई परिक्रमा गर्छ ।

यसअघि सन् १९८६ मा देखिएको यो पुच्छ्रेतारा यसपालि देखिएपछि अब सन् २०६१ मा मात्रै देखिने सोसाइटीले बताएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर