newskoseli.Com

दृश्यचित्रमा पुरातात्त्विक महत्त्वको ‘गुहेश्वरी’ मन्दिर

पशुपति क्षेत्र विकास समिति अन्तर्गत रहेको धार्मिक पर्यटनको महत्त्वपूर्ण गन्तव्य गुहेश्वरी मन्दिर पुगेर यसपालि चित्रकारले यहाँका पुरातात्त्विक महत्त्वका दृश्य चित्रमा उतारे ।

कला–कार्यशालाको नवौं गन्तव्यका रूपमा कलाकारले विश्वसम्पदा सूचीमा सूचीकृत गुहेश्वरी र गौरीघाटलाई रोजेर चित्रमा उतारेका हुन् । विगत १५ वर्षदेखि मेरुदण्डको पक्षाघात भएका चित्रकार लक्ष्मीभक्त भासिमाले पनि गुहेश्वरी नजिक डिलमा बसेर चित्र कोरे । भासिमाले भने– ‘चित्रमा गुहेश्वरी वरिपरिका दृश्यलाई राखें, ऐतिहासिक दृश्य कोर्न पाउनु गर्वको कुरा हो ।’

यसपालिको चित्रकला कार्यशालामा ६ जना महिला, अपाङ्ग र विदेशी चित्रकार पनि सहभागी थिए । अर्की कलाकार सुष्मा श्रेष्ठ र छोरी श्रेया पनि पानी रङ्गले गुहेश्वरीबाट देखिने क्षितिज र पानीका दृश्य उतार्दै थिए । उपत्यकाका कलाकारले हरेक हप्ता यस्तै अभियान चलाएर विभिन्न क्षेत्रका दृश्य उतारिरहेका छन् । फेसबुकबाट भएको मतदानका आधारमा यसपालिको शनिबार उनीहरुले गुहेश्वरी रोजेका हुन् ।

धार्मिक मान्यता अनुसार सतीदेवीको ‘गोप्य अङ्ग’ पतन भएकाले यस ठाउँलाई महत्त्वपूर्ण शक्तिपीठको रूपमा चिन्ने गरिएको बताउँछन् पुरातत्त्व विभागका पुरातत्त्व अधिकृत प्रकाश आचार्य । यहाँ लिच्छवीकालदेखिकै संरचनाहरु रहेको र मुख्य मन्दिरहरू प्रताप मल्लको पालामा बनेको जानकारी उनले दिए । वास्तुकलाको नियम अनुसार बनाइएका ऐतिहासिक महत्त्वका मठ–मन्दिरलाई कलाका माध्यमबाट विश्वभर पहिचान गराउन चित्रले सहयोग गर्ने विश्वास व्यक्त गरे आचार्यले । चित्रले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने उनको भनाइ छ ।

ठमेल घुम्ने क्रममा एक जना अष्ट्रेलियाका कलाकार रे मार्सडेनसँग कलाकार रामकृष्ण थापाको आफ्नै ‘मास्टर पिस आर्ट ग्यालरी’ मा भेट भयो । आध्यात्मिक क्षेत्रका अमूर्त कलामा रमाउने रेले नेपाली चित्रकारको अभियान थाहा पाएपछि आफू पनि सहभागी हुने इच्छा प्रकट गरे । त्यसपछि उनलाई समेत सहभागी गराइएको चित्रकार थापा बताउँछन् ।

आफू ७ पटक नेपाल आएको बताउँदै गुहेश्वरी क्षेत्र आफैंमा सुन्दर लागेको प्रतिक्रिया रेले दिए । नेपालको कला–संस्कृति सुन्दर भएकाले यसको संरक्षण गर्नुपर्ने बताउँदै रेले शनिबार नेपाली कलाकारसँगै बसेर मृगस्थली क्षेत्रको चित्र उतारे । २ महिनाअघि दिवेश प्रधान र राकेशचन्द्र श्रेष्ठले हरेक हप्ता कुनै न कुनै नयाँ स्थानमा चित्र कोर्ने अभियानको थालनी गरेका हुन् । अहिले सोही अभियानमामार्फत स्वतस्फूर्त रूपमा कलाकारहरु चित्र उतार्न आउने गरेका छन् । जुन ठाउँमा पुगिन्छ, त्यही ठाउँका विज्ञहरुलाई ल्याएर वस्तुस्थिति जानकारी लिएपछि चित्र कोर्ने गरेको प्रधानले बताए ।

अर्को (दसौं) हप्तामा भने एक चरणको कार्यक्रम समापन गरी अर्को चरणको अभियानको सुरु गर्ने अभियन्ताहरुको योजना छ । दसौं कार्यशालामा भने अहिलेसम्म कोरिएका चित्रहरु प्रदर्शन गरिने चित्रकार दिवेश प्रधानले बताए । अन्तर्राष्ट्रिय जलरङ सोसाइटीका महासचिव दीपेन्द्र बनेपालीले खोला पारिबाट पानीमा मन्दिरको छायाँ उतारे । चित्रकार केशवराज खनाल, डी. राम पाल्पाली र नरबहादुर विकेले रुखको छायाँमा बसेर गुहेश्वरी मन्दिर र छेउछाउका दृश्य उतारे ।

विभिन्न ठाउँमा पुगेर दृश्यावलोकन गरेर चित्र उतार्दा एक त कलाकारले प्रकृतिबाट सिक्ने मौका मिल्ने र अर्कातिर सम्बन्धित स्थानलाई विश्वभर चिनाउन सहयोग पुग्ने प्रतिक्रिया दिन्छन् पुराना तथा अनुभवी चित्रकार के.के. कर्माचार्य । ‘अभियान चलाउन सजिलो छैन,’ कर्माचार्यले भने– ‘यसले ठाउँको विकास गर्छ अनि कलाको प्रदर्शन पनि हुन्छ ।’

स्वतस्फूर्त रुपमा सुरु भएको कलाकारहरुको फेसबुक अभियान अहिले प्रभावकारी बन्दै गएको छ । यसअघि उनीहरुले खोकना, ठिमी, टेकु, पाटन, हनुमानढोका, चाँगुनारायण, भक्तपुरलगायतका क्षेत्रमा पुगेर कार्यशाला गरिसकेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर