NewsKoseli.Com

स्मृतिः किम इल सुङ यसरी पसे पाथीभरा मन्दिरमा !

काठमाडौं, १९ कात्तिक ।

तेह्रथुम जिल्लाको सदरमुकाम म्याङलुङको पूर्वपट्टि खोरुङ्गा खोला बग्दछ । त्यस खोलाको पर्वपट्टिको भिरालो पाखो मेरो जन्मथलो हो । सिँचाईको असुविधा र बलौटे माटो भएका कारण उब्जनी कम हुने भएकाले जति खनी–खोस्री गरे पनि बाह्रै महिना हात–मुख जोड्न धौ–धौ पर्दथ्यो ।

आजको जस्तो आयस्रोतका अन्य बाटा नहुँदा आफ्नो मात्र जग्गा–जमिनको उब्जनीले बाँच्न असम्भवप्रायः हुन्थ्यो । मेरो जस्तो बाहुन परिवारका लोग्ने मानिसहरु दार्जिलिङ पाती पढ्न जाने गर्दथे । कर्मकाण्डका सामान्य किताब पढेपछि पाती पढ्न पारङ्गत हुन्थे बाहुनहरु । अग्रजसँग जानेले त्यत्तिकै पनि सिक्दथे । कर्मकाण्डका किताब प्रायः घरैमा पढिन्थ्यो । कोही–कोही मात्र वृन्दावनतिर अध्ययन गर्न जान्थे र पण्डित बनेर आउँथे । धार्मिक र आध्यात्मिक समाजमा उनीहरुको हैसियत र आम्दानी दुवै राम्रो हुन्थ्यो । व्यासमा बस्ने पण्डित ठूला मान्छे मानिन्थे । मावलीमा लगाएको सप्ताहमा पण्डितको धाराप्रवाह प्रवचन सुनेर आमाले भन्नुहुन्थ्यो– ‘यो केटो पनि यस्तै पण्डित भए पो !’

विद्यालयहरु खुले पनि बालबालिकालाई विद्यालय पठाउने चेतनाको राम्रो विकास भएको थिएन । गाउँभर एसएलसी पास गर्नेको संख्या अत्यन्तै न्यून थियो, एकाध तिनै व्यक्तिहरु शिक्षित र गन्यमान्य कहलाइन्थे । गाउँको न्याय–निसाफ तिनकै हातमा हुन्थ्यो । त्यति मात्र होइन, चिट्ठी पत्र पढ्ने र लेखिदिने काम तिनै एसएलसी पास गर्नेले गर्नु पर्दथ्यो । तिनै शिक्षित युवाहरुले आफ्नो पहलमा गाउँका भूरा पढाउन सुुरु गरेका थिए ।

पुस–माघको समय । बाह्र ठाउँमा टालेको भोटो र धोक्रोजत्रो हाफ्–प्यान्ट लगाएर म पनि सामेल भएँ । धुलौटोमा छेस्काले लेखेर ‘क–ख’ सिक्नु पर्दथ्यो । कापी–कलम खरिद गर्ने हाम्रो सामर्थ्य थिएन । भोकमरीबाट बाँच्न खडा गरिएको धर्मभकारी भवनमा गुन्द्री ओछ्याएर हाम्रो पढाइ सुरु भयो । ‘क–ख’ सिक्न सुरु गर्ने हामीहरुको समान उमेर थिएन । कोही ६–७ वर्षका थिए भने कोही जुँगाको रेखी बसिसकेका युवाहरु । सबै एकै समूहमा थिए । शारीरिक रुपमा मरन्च्याँसे र उमेरमा सानो भए पनि ती जुँगाको रेखी बसेका विद्यार्थीभन्दा मैले चाँडो ‘क–ख’ सिकें ।

हाम्रा सर पनि सानो कदका नै थिए । ‘क–ख’ चिन्ने प्रतियोगिता मैले जितें । पुरस्कारस्वरुप मैले मभन्दा धेरै अग्लो साथीलाई गालामा चड्कन लगाउनुपर्ने भयो । मैले उसको गाला नभेट्ने भएकाले मलाई सरले उचालेर चड्कन लगाउन लगाउनुभयो । अध्ययनको सिलसिलामा मैले पाएको प्रथम पुरस्कार थियो त्यो । चड्कन खानेको त्यही दिनदेखि पढाइमा पूर्णविराम लाग्यो, सदाका लागि ।

जाडोमा ‘स्यु–स्यु’ गरेर सिकेको ‘क–ख’ गर्मी चढेपछि घरको र मेलापातको कामले बिर्सिहालिन्थ्यो । केही वर्ष अक्षर चिन्ने र बिर्सिने क्रम चलिरह्यो । एक दिन छिमेकीको विवाहको कार्यक्रम चलिरहँदा हामीलाई धर्मभकारीमा ‘क–ख’ सिकाउने सरले मेरो तीक्ष्ण दिमागको ठूलो प्रशंसा गर्नुभयो । त्यही प्रशंसाले मलाई स्कुल भर्ना गर्न मेरा बुबालाई कर लगाइदियो । फलस्वरुप म त्यही शैक्षिक सत्रदेखि विद्यालयमा भर्ना भएँ ।

छिमेकीले दिएको एक टुक्रो पेन्सिल र सोह्र पाने कापी लिएर स्कुल गएको अझै मेरो मष्तिष्कमा ताजै छ । टालेको भोटो, धोक्रोजस्तो प्यान्ट, टुप्पी निस्कने टोपी र खालि खुट्टा । ‘क–ख’ लटरपटर जान्ने हुनाले कक्षा दुईमा भर्ना गर्ने निधो भयो ।

‘नाम के हो ?’ सरले सोध्नुभयो ।

‘खोमप्रसाद, खोमप्रसाद भट्टराई’– मैले ‘चिना’ को नाम बताएँ ।

‘अहिलेको जमानामा त्यस्तो नाम सुहाउँदैन, तिम्रो नाम निर्मल’– सरले मेरो दोस्रो न्वारन् गरिदिनुभयो ।

घरमा आमा र म बाहेक कोही थिएन । बुबा र दाइ दार्जिलिङतिर पाती पढ्न हिँडिहाल्नुभयो । वस्तुभाउ र खेतीपाती समाल्दा–समाल्दै बिहान घाम माथि आइपुग्थे । मेरो विद्यालय हिँड्ने वेलामा भर्खर चुल्हो बल्न सुरु हुन्थ्यो । मसँग दुई विकल्प थिए– कि स्कुल छाडेर भात कुरेर बस्ने या भोकै स्कुल जाने । मैले विनाद्विविधा दोेस्रो विकल्प रोजें । मेरो पढाइ सुरु भयो ।

लेकको स्कुल, पुस–माघको जाडो । ध्यान पढाइमा भन्दा जाडोमा हुन्थ्यो । घाम लागेको चौरमा बस्ने वा जङ्गलबाट दाउरा ल्याएर आगो ताप्ने । हाजिर लिएपछि जङ्गलमा दाउरा खोज्न दौडादौड हुन्थ्यो हामी विद्यार्थीको । सबै सर र विद्यार्थी बडेमानको आगो अगाडि झुम्मिन्थ्यौं । यत्तिकैमा दिन घर्किन्थ्यो । सरहरु नजिकैको लिम्बू दाइको पसलमा खाजा खान जानुहुन्थ्यो । एक जना संस्कृत पढाउने सर, सरहरुको त्यो समूहमा थिएनन् । ती सर प्रायः संस्कृतका श्लोक गुन्गुनाइरहन्थे । धेरै वर्षपछि मात्र उनले गुन्गुनाएको त्यो श्लोक मलाई बताए–

‘लालयत् पञ्चवर्षाणि दसर्वााणि ताडयत् ।
प्राप्तेषु षोडशे वर्षे पुत्रमित्रवदाचरेत् ।।

कानसम्म त्रिशुले चन्दन लगाउने ती सरसँग पछिसम्म आगो तापिन्थ्यो । कपाल र लुगाभरि खरानी भरिभराउ । अनुहारभरि ध्वाँसो ।

‘तिमी चाहिँ खाजा खान नजाने सार ?’ एक दिन लाहुरेको छोराले सोध्योे ।

‘आम्मोई, लिम्बूको घरमा म खाजा खान जाने ?’ सरले रिसाउँदै भन्नुभयो ।

‘किन हामी लिम्बूहरुकोमा सारले खाजा खान नहुने ?’ त्यो अबोध लिम्बूले फेरि प्रश्न तेर्स्यायो ।

‘तँलाई के मतलब ? कि चुपचाप आगो ताप, कि घर जा !’ ऊ रिसाहा अनुहार बनाएर घर हिँड्यो ।

‘खाजा’ भनेपछि आफ्नो घरको भुटेको मकै र कोदाको रोटीको सम्झना आउँथ्यो । कापी–पेन्सिल च्यापेर घरतिर कुद्थ्यौं हामी । बाटामा सरहरु खुट्टा लर्बराउँदै घर फर्केको भेट्थ्यौं । कोही–कोही साथीहरु लर्बराउँदै हिँडेका सरहरुलाई जिस्क्याउँदै भाग्थे । घँघरु खाँदै हामी घरतिर लाग्थ्यौं ।

स्कुलमा प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप हुन्थ्यो । अतिरिक्त क्रियाकलापका एकाध घटनाको याद आउँछ । एक शुक्रबार हाजिरीजवाफ प्रतियोगिता हुँदैथियो । म पनि एक टोलीको सदस्य थिएँ । टोलीनेता जनक थियो । हाम्रो टोलीलाई यस्तो प्रश्न पर्यो–

‘कको बाबु ख हो तर खको छोरो क होइन, उनीहरुको साइँनो के हो ?’

उत्तर मलाई आउँथ्यो । मैले टोलीनेतालाई कानमा ‘बाबु–छोरी’ भनें । उसले हत्तपत्त उठेर करायो– ‘बाउ–जेरी’ । सबै गललल्ल हाँसे । हाम्रो उत्तर मिलेन । अर्को एक शुक्रबार गायन प्रतियोगिता हुँदैथियो । संयोगवश बाटामा कसैले राम्रो अक्षरमा लेखेको छ हरफको गीत फेला पारेको थिएँ । नयाँ गीत भेटिएकाले प्रतियोगिता जित्नेमा म ढुक्क थिएँ । म न्वारनदेखिको बल निकाल्दै लय निकालेर गाउँन थालें ।

आमाले गाएको संगिनी र भजनबाहेक मैले खास कुनै गीत सुनेको थिइँन । सबै हाँस्न थाले । कुरा के रहेछ भने त्यो गीत त नारायणगोपालको प्रसिद्ध गीत ‘एउटा फूल द्यौरालीमा…’ पो रहेछ । मैले कहिल्यै त्यो गीत सुनेको थिइँन । घरमा रेडियो भए पो ! बडो मेहनतका साथ एक शुक्रबार म्युजिकल चेयर खेलमा मैले प्रथम पुरस्कार जितेको थिएँ । पुरस्कार गोरखापत्रले बेरेर निक्कै आकर्षक बनाइएको थियो ।

‘घरमा लगेर मात्र खोल्नू’ भन्ने सरको आदेश मानेर घरमा लगेर आमालाई देखाएँ । आमा पनि छोराले जितेको पुरस्कार देखेर फुरुङ्ग पर्नुभयो । खोल्दा त पत्रिकाले आँगन ढाकिसक्दा पनि पुरस्कार भेटिएन । अन्त्यमा अलि गह्रुँगो कागजको डल्लो फेला पर्यो । त्यो पनि कोट्याउँदा बल्ल पुरस्कार भेटियो । गमले मेहनतसाथ कागज टाँसिएको ताजा फर्सीको गट्टो । पुरस्कार सम्झेर आमा पछिसम्म हाँसिरहनु भयो ।

त्यसबेला राजाका जन्मजयन्ती र जन्मोत्सव आइरहन्थे । सबै अनिवार्य उपस्थित हुनुपर्ने । जन्मोत्सव र जयन्तीमा नारा–जुलुससहित नजिकैको औंशीबजार परिक्रमा गर्नुपर्थ्यो अनि पञ्चहरुले आयोजना गरेको सभामा भाग लिनुपर्थ्यो । फागुन ७ गते त्यस्तै क्रार्यक्रम थियो । सरहरुले हातमा लट्ठी लिएर भेंडा–बाख्रा डोर्याए झैं हामीलाई आैंशीबजारतिर लैजानुभयो ।

‘श्री ५ त्रिभुवन– अमर रहून् !’ एक जना सर जुलुसको अग्रपंक्तिंबाट जोडले कराए । भर्खर भर्ना भएका विद्यार्थीले जोडले नारा लगाए– ‘आम्माओ आओ आओ’ । सरहरुले हावामा लट्ठी घुमाउँदै नारा सुधार्नुपरेको थियो । स्कुल नजिकैको ठूलो चौरमा भेंडा गोठाला र सरहरुको हातमा दिनभरिजसो नै लट्ठी हुने गर्थ्यो । थरी–थरीका लट्ठी ।

म कक्षा ६ मा पढ्दै गर्दा ताप्लेजुङ जिल्लाको प्रसिद्ध पाथीभरा मन्दिर लैजान आमाले तयारी गर्नुभएछ । त्यहाँ पुग्न र आउन एक हप्ता घर छोड्नु आमालाई सहज थिएन । तर, त्यो उहाँको बाध्यता थियो । म दुई महिनाको हुँदा निमोनियाले आलसतालस भएँछु । दिनभरि फेदाङवाले मुन्दुम र धामीले झारफुक गरेछन् । राति करिव २ बजे म सिकिस्त भएँछु ।

घर एकान्तमा भएकाले अरुको सहयोग माग्ने सम्भावना थिएन । मलाई बचाउन आमाले एकै पटक दुईवटा आपतकालीन उपचार सुरु गर्नुभएछ । पहिलो, सुन्तलाको बोक्रो, कमेरो र दुबो सिलौटामा पिँधेर उपलब्ध सफा रुमालले छानेर एक–दुई थोपा मेरो मुखमा राखिदिनु भएछ । दोस्रो, म बाँचिहालें भने म हिँड्न सक्ने भएपछि पाथीभरा लैजाने ‘भाकल’ गर्नुभएछ । शायद औषधिको प्रभावले होला, म बौरिएछु । आमालाई त्यो ‘भाकल’ सुत्ने ओछ्यानमाथि त्यान्द्रे डोरीले झुन्ड्याएको जाँतोसरह हुनु स्वाभाविक थियो ।

अरु बेला पनि त्यो ‘भाकल’ बारे आमा गम्भीर भएर चर्चा गर्नुहुन्थ्यो । ‘पाथीभरामा कुनै किताब चढाए पढ्न खूब आउँछ रे, कुनै चढाउने किताब बोक् है’ भन्ने आमाको आग्रह आयो । कुन किताब चढाऊँ ? कोर्षको किताब चढाए के पढ्ने ? मलाई धर्मसंकट पर्यो । घरमा किताब खोज्न थालें । छानामा घुसारेको माउले प्वालै–प्वाल पारेको एउटा किताब फेला पर्यो । माउले खाएर बाँकी ठाउँमा पढ्न थालें । थुप्रै उटपट्याङ कुराहरु थिए त्यसमा । एउटा हरफ यस्तो थियो– ‘घोडाको मूत कराहीमा तताए कहिल्यै तात्तैन ! म किताब खोज्न काकाको घरतिर लागें । काका अलि पढेलेखेको हुनुहुन्थ्यो । हाम्रो वडाको वडाअध्यक्ष हुनुहुन्थ्यो उहाँ ।

‘आमाले भनेको, पाथीभरामा चढाउन एउटा किताब दिनू रे’– मैले डराई–डराई भनें ।

‘चढाउने किताब ?’ काका गललल्ल हास्नुभो– ‘किताब त पढ्ने पो, चढाउने हो र ?’

म जिल्ल परें । किताब दाबी गर्ने मेरो तर्क थिएन । न त तागत नै । काकाले एकछिन सोचेर किताब राखेको आलमारीबाट एउटा किताब निकालेर दिनुभयो । मैले जीवनमा त्यति राम्रो किताब देखेको थिइँन । हतार–हतार घर आएर आमालाई किताब देखाएँ । किताब देखेर आमा पनि लोभिनुभयो । ‘आज राति पढिसकेस्, किताब राम्रो रहेछ ।’

किताबको जिल्ला (कभर) मा एउटा राई–लिम्बूजस्तो देखिने मान्छेको फोटो थियो । फोटाको पुछारमा लेखिएको थियो– ‘किम इल सुङ ।’ टुकी बत्तीमा बडो उत्साहका साथ पढें । तर, मेरो कलिलो दिमागमा केही पनि घुसेन । ‘मार्क्सवाद–लेनिनवाद, अमेरिकी साम्राज्यवाद, जुछे विचारधारा’ जस्ता शब्दावली मेरा पहुँचमा थिएनन् ।

किताब जति सुन्दर भए पनि चढाउनुसिवाय मलाई त्यो किताबको कुनै उपयोगिता थिएन । कुम्लो–कुटुरोमा सातु–सामल बोकेर हामी पाथीभरातर्फ लाग्यौं । त्यो किताब पाथीभराको आलमारीमा चढाउँदै दण्डवत् गरें । किम इल सुङको जीवनी समेटिएको त्यो किताब पाँच रुपैयाँको नोट च्यापेर पाथीभरा मन्दिरको आलमारीमा कति वर्ष बस्यो कुन्नि ? मलाई थाहा हुने कुरै भएन ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर