NewsKoseli.Com

साम्राज्यवाद र नोकरशाही पुँजीवाद

काठमाडौं, २० कात्तिक ।

विकासका खास–खास चरणमा पुँजीवाद र पुँजीका खास–खास विशेषताहरु रहेका छन् । वित्तीय पुँजीवादको उच्चतम रुप साम्राज्यवादमा पुँजीको चरित्र कस्तो हुन्छ ? सङ्क्षेपमा चर्चा गरौं–

सन् १८६० पछाडिदेखि औद्योगिक पुँजीको ठाउँमा वित्तीय पुँजीको हस्तक्षेप बढ्न थाल्यो । औद्योगिक पुँजीको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउँदै जान थाल्यो । प्रतिस्पर्धाको ठाउँमा एकाधिकार, कार्टेलिङ र गुटबन्दी सिर्जना हुन थाल्यो । औद्योगिक पुँजीवादमा यी चरित्रहरु देखा परेका थिएनन् । सन् १९०० को वरिपरिदेखि बैंक तथा वित्तीय पुँजीले औद्योगिक पुँजीमाथि नियन्त्रणकारी हस्तक्षेप सुरु गर्न थाल्यो । पुँजीको केन्द्रीकरण र कार्टेलिङका कारण सानो पुँजी लगानी भएका औद्योगिक क्षेत्रहरु बन्द हुन थाले । कि कार्टेलिङ र गुटबन्दीमा सामेल हुनु पर्‍यो नत्र बन्द हुनु पर्‍यो भन्ने बाध्यकारी अवस्था सिर्जना भयो । पुँजीको विस्तारवादी चरित्र अधिक रुपमा बढेर गयो ।

ठीक यही स्थितिलाई ए.जे. हन्सनले ‘इम्पेरियलिज्म’ (साम्राज्यवाद) नामकरण गरे । साम्राज्यवाद शब्दलाई रोजा लक्जेम्बर्ग, बुखारिनलगायतले वामपन्थी राजनीतिमा प्रयोगमा ल्याए । भ्लादिमिर लेनिनले साम्राज्यवादलाई पुँजीवादको चरम अवस्था भनेर पुस्तक नै लेखेपछि वामपन्थी र दक्षिणपन्थी दुवै कित्ताको अर्थराजनीतिका क्षेत्रमा यो प्रचलित पदावली बन्न पुग्यो । पछिल्लो झन्डै १५० वर्षको अवधिमा भएको विकासलाई साम्राज्यवाद पदावलीले नै प्रतिनिधित्व गर्दछ । यो अवधिमा पुँजीको चरित्रमा आएको बदलावको अझैसम्म पनि सही विश्लेषण हुन सकिरहेको छैन ।

साम्राज्यवादी कालखण्डमा पनि पुँजीको मूल चरित्र लगानी गर्नु अनि नाफा कमाउनु नै हो । तर, यो मूल चरित्र यथावत रहँदा–रहँदै पनि पुँजीवादले केही नवीनतम विकास गरेको छ । सर्वप्रथमतः यो अवधिमा औद्योगिक पुँजी र वित्तीय पुँजीका अलावा एउटा अर्को नयाँ पुँजीको विकास भयो, जसलाई ‘नोकरशाही पुँजी’ भनिन्छ । नोकरशाही पुँजी त्यस्तो पुँजी हो, जो पुँजीको लगानी नै नगरीकन आर्जन गरिन्छ ।

राज्यसत्ताको पहुँचमा पुगेकाहरुले सत्ताको राजनीतिक–प्रशासनिक हैसियतलाई असीमित सम्पत्ति (पुँजी) सङ्कलन गर्ने अवसरका रुपमा दुरुपयोग गरेर पुँजी आर्जन गर्ने र त्यही पुँजीलाई तुलनात्मक लाभका क्षेत्रहरुमा पुनः लगानी गरेर पुँजी बढाउने प्रवृत्तिको जन्म र विकास भयो ।

यसरी कुनै देशको राजनीतिक र प्रशासनिक जगमा जन्मिएको पुँजी स्वभावतः नोकरशाही प्रवृत्तिको हुने भएकाले यसलाई ‘नोकरशाही पुँजी’ भनिएको हो । राजकीयसत्ताको दुरुपयोगमार्फत अप्राकृतिक रुपमा जन्मिएको यस्तो नोकरशाही पुँजी फेरि पनि राजकीयसत्ताकै दुरुपयोग गरेर वित्तीय पुँजी एवम् औद्यागिक पुँजीका रुपमा बदलिन्छ ।

नोकरशाही पुँजीको जन्म नै अनैतिक धरातलमा हुने भएकाले यसमा वित्तीय पुँजीमा भन्दा पनि अत्यधिक नाफाखोर प्रवृत्ति हुने गर्दछ । आफ्नो उत्पत्तिको अनैतिक धरातलले गर्दा यो पुँजी छुट्टै र स्वतन्त्र अस्तित्वमा रहँदैन; यसले कि त औद्यागिक पुँजीसँग नत्र वित्तीय पुँजीसँग टाँसिएर आफ्नो स्वतन्त्र अस्तित्वलाई लुकाएरै राख्दछ ।

यसरी बदलिएको पुँजीलाई ‘राजकीय नोकरशाही पुँजी’ भन्नु उपयुक्त हुन्छ । यस्तो पुँजीलाई देशभित्रका तुलनात्मक लाभका क्षेत्रमा लगानी गर्न सबभन्दा सजिलो हुने गर्दछ । अर्कोतर्फ, राजनीतिक संरक्षण प्राप्त हुने भएकाले यस्तो पुँजीको पुँजीगत मूल्य यस्तो वास्तविक मूल्यभन्दा निकै बढी समेत हुने गर्दछ । चरित्रका हिसाबले सबैभन्दा छिटो, सबैभन्दा सरल र सबै हथकण्डा अपनाएर नाफा कमाउनु यस्तो पुँजीको मुख्य चरित्र एवम् ध्येय हुने गर्दछ । सबैभन्दा बढी क्रुरता र सबैभन्दा बढी अनैतिकता यस्तो पुँजीको मुख्य विशेषता हुने गर्दछ ।

राजकीय नोकरशाही पुँजीको जन्म नै अनैतिक धरातलमा हुने भएकाले यसमा वित्तीय पुँजीमा भन्दा पनि अत्यधिक नाफाखोर प्रवृत्ति हुने गर्दछ । आफ्नो उत्पत्तिको अनैतिक धरातलले गर्दा यो पुँजी छुट्टै र स्वतन्त्र अस्तित्वमा रहँदैन; यसले कि त औद्यागिक पुँजीसँग नत्र वित्तीय पुँजीसँग टाँसिएर आफ्नो स्वतन्त्र अस्तित्वलाई लुकाएरै राख्दछ । यसले जब तुलनात्मक लाभका सीमापार क्षेत्र देख्दछ, त्यसबेला यो प्रत्यक्ष वैदेशिक लगानीका रुपमा बाहिरिन्छ । तुलनात्मक लाभका क्षेत्रको पहिचानमा यस्तो पुँजी औद्यागिक र वित्तीय पुँजीभन्दा अब्बल रहने गर्दछ किनभने यस्तो पुँजीसँग व्यापारिक र राजनीतिक दुवै सम्भावनाहरु नजिकबाट चिन्ने क्षमता विकास भएको हुन्छ ।

निर्यात भएर गएको देशमा पनि यसको सम्पर्कको प्राथमिकता नोकरशाही राजकीय पुँजीसँग नै हुन्छ । यदि त्यसो हुन सकेन भने त्यसले त्यो निर्यात भई पुगेको देशमा पनि राजकीय नोकरशाही पुँजीको सङ्केन्द्रणको वातावरण तयार पार्न सहयोग पुर्‍याउँदछ । आज तेस्रो विश्वका मुलुकहरुमा राष्ट्रिय पुँजीको विकासमा राजकीय नोकरशाही पुँजीले निकै ठूलो अवरोध सिर्जना गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर