newskoseli.Com

लुम्बिनी झकिझकाउ : पहिलो पटक ‘त्रिपिटक’ वाचनको भव्य तयारी

नेपालमै पहिलो पटक हुन लागेको ‘त्रिपिटक वाचन’ कार्यक्रमका लागि लुम्बिनी क्षेत्र सिँगार्न थालिएको छ ।

देश–विदेशबाट उपस्थित हुने सयौं भिक्षुहरुले तीन दिनसम्म त्रिपिटक वाचन गर्ने कार्यक्रम तय भएपछि लुम्बिनीको मायादेवी परिसर सिँगार्न थालिएको हो । सरसफाइ गर्ने, पुष्पगुच्छाले सिँगार्ने, बौद्ध झण्डा, तुल, ब्यानर टाँग्नेलगायतका काम सुरु भैसकेको छ । कार्यक्रममा सहभागी हुने भिक्षुलाई निःशुल्क प्रवेश दिने र पवित्र धार्मिक कार्यमा सहभागी हुन चाहने अरु बौद्ध धर्मावलम्बीलाई समेत आवत–जावतमा सहज बनाउने निर्णय लुम्बिनी विकास कोषले गरेको छ ।

कार्यक्रम कात्तिक २८, २९ र ३० गते मायादेवी परिसरमा हुनेछ । अखिल नेपाल भिक्षु महासङ्घ, अमेरिकन बुद्धिष्ट एशोसिएसन, थाइ बुद्ध बिहार र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रम व्यवस्थापनको जिम्मा लुम्बिनी विकास कोषले लिएको छ ।

मन्दिर परिसरमा घाँस काटेर सफा गरिएको छ । बत्ती र फूलमालाले सजाउन भने अझै बाँकी रहेको कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले बताएका छन् । तीन दिने त्रिपिटक वाचन कार्यक्रममा १८ देशका ७ सय भिक्षु, लामा, आनी तथा उपासक सहभागी हुनेछन् ।

कार्यक्रम गर्न ३५ लाख रूपैयाँ खर्च लाग्ने अनुमान छ । सहभागी भिक्षुको भोजन, आवास र यातायातको व्यवस्थापन भइसकेको अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले बताए । भारत बोधगयालगायतका बौद्ध क्षेत्रमा थुप्रै धार्मिक कार्यक्रम भए पनि लुम्बिनीमा यस्ता कार्यक्रम आयोजना हुन सकेका थिएनन् ।

पहिलो पटक यति ठूलो धार्मिक कार्यक्रम हुने भएपछि यहाँका पर्यटन व्यवसायी खुशी भएका छन् । आयोजकका अनुसार पहिलो दिनको त्रिपिटक वाचन कार्यक्रम थाइ भिक्षुको नेतृत्वमा हुनेछ । भोजनपछि नेपाली भिक्षुको नेतृत्वमा त्रिपिटक वाचन गरिनेछ । त्यसपछि क्रमशः बर्मा, श्रीलङ्का र कम्बोडियाका भिक्षुको नेतृत्वमा पाठ गरिनेछ ।

दोस्रो दिनको पहिलो सत्रको नेतृत्व महायानी अथवा हिमाली लामा भिक्षुहरुले गर्नेछन् । त्यसपछि चिनियाँ तथा जापानी भिक्षुको नेतृत्वमा त्रिपिटक वाचन कार्यक्रम हुनेछ । तेस्रो दिन त्रिपिटक वाचन थाइ भन्तेहरुको नेतृत्वमा हुनेछ । पछिल्लो सत्रमा नेपाली अनागरिकहरु र आनीहरुले पाठको नेतृत्व लिनेछन् ।

पाठ सकिएपछि सहभागी सबैको तर्फबाट मायादेवी मन्दिरमा शान्ति पदयात्रा सहित दीप प्रज्वलनपछि कार्यक्रम सकिने आयोजकले बताएका छन् । भिक्षुहरुका अनुसार त्रिपिटक बौद्ध धर्मको प्रमुख ग्रन्थ हो, जसलाई सबै बौद्ध सम्प्रदाय (महायान, थेरवाद, बज्रयान, मूलसर्वास्तिवाद, नवयान आदि) ले मान्ने गर्दछन् । यो बौद्ध धर्मको सबैभन्दा पुरानो ग्रन्थ हो र यसमा ‘भगवान्’ बुद्धले बुद्धत्व प्राप्त गर्दाको समयदेखि महापरिनिर्वाण हुनु अघिसम्म दिएका प्रवचनहरु सङ्ग्रह गरिएको छ ।

यो ग्रन्थ पाली भाषामा लेखिएको छ र विभिन्न भाषाहरुमा अनुवाद भएको छ । विनयपिटक, सुत्तपिटक र अपिधम्मपिटक गरी त्रिपिटक नामकरण गरिएको हो । अपिधम्मपिटक र सुत्तपिटक ‘भगवान्’ बुद्धकै पालामा लेखिएको र विनयपिटक इशापूर्व दोस्रो शताब्दीमा ‘राजा’ अशोकका पालामा लेखिएको मान्यता छ ।

यस पटक लुम्बिनीमा तीन वटै पिटकसँगै ‘भगवान्’ बुद्धले आफ्ना पिता ‘राजा’ शुद्धोधनलाई पहिलो पटक धर्मदेशना गर्दा सुनाएको वसन्त जातक सूत्र तथा शाक्य र कोलीय राज्यहरुका बीच युद्ध हुन लाग्दा कपिलवस्तुमै युद्ध अन्त्यका लागि देशना गरेका महासमय सूत्र पनि पाठ गर्ने कार्यक्रम छ ।

त्रिपिटक पाली, देवनागरी, थाइ भाषा र शैलीमा वाचन गरिनेछ । हरेक भाषाका गुरुले गरेको वाचनलाई आफ्नो शैलीमा पछ्याउँदै अलग–अलग देशका बौद्ध गुरुले वाचन गर्ने कार्यक्रम रहेको जानकारी संयोजक भिक्षु महास्थवीरले दिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर