newskoseli.Com

नागरिकताबारे गृहमन्त्रीले राखे ‘राष्ट्रियताको अडान’ : को–को सांसदले के–के भने ?

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नागरिकताको विषयमा सुझबुझपूर्ण ढंगले संवेदनशील भएर मात्रै निर्णय गर्नुपर्ने बताएका छन् ।

नागरिकतासम्बन्धी विषय राष्ट्रको पहिचान, नागरिकको समृद्धि एवं राष्ट्रिय सुरक्षा र स्वाधीनतासित समेत जोडिएको प्रश्न भएकाले यो विषयमा हल्काफुल्का ढंगले र आग्रह–पूर्वाग्रहका आधारमा निर्णय लिनु नहुने उनले बताए ।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफललाई कसरी अघि बढाउने भनी प्रतिनिधिसभा राज्य व्यवस्था समितिले आयोजना गरेको बैठकमा आइतबार बोल्दै नागरिकताको विषयलाई ठीक ढङ्गले सम्बोधन गर्न संवेदनशीलता र गम्भीरताका साथ छलफल गर्नु जरुरी भएको उनले बताएका हुन् । गृहमन्त्री बादलले भने– ‘नागरिकताको सवाललार्इ ठीक ढङ्गले सम्बोधन गर्न नसक्दा कयौं राष्ट्रको स्वाधीनता गुमेको हामीले देखेका छौं ।’

छलफलमा भाग लिँदै नागरिकताको सवाललाई छिमेकीसँगको खुला सीमानासँग जोडेर मात्र अघि बढाउनु उपयुक्त हुने सुझाव समितिका सदस्य प्रेम सुवालले दिए । त्यसैगरी संविधानभित्रको जटिल र गम्भीर विषयका रुपमा रहेको नागरिकताको विषयमा देखिएको विभेदको न्यूनीकरण र उठेका प्रश्नमा न्याय हुने ढङ्गबाट निर्णयमा पुग्नुपर्ने सांसद रेखा शर्माले बताइन् । विविधताभित्रको एकता र राष्ट्रिय स्वाधीनताको पाटोलाई विचार पु¥याएर राष्ट्र र राष्ट्रियतासँग जोडिएर आएको नागरिकताको विषय राजनीतिक निर्णयका आधारमा टुङ्ग्याइने सवाल भएको धारणा सांसद यशोदाकुमारी गुरुङ सुवेदीले व्यक्त गरिन् ।

नागरिकको घरदैलोमा पुगेर नागरिकता वितरण गर्ने सन्दर्भमा यकिन तथ्याङ्क दिन नसकिए पनि त्यसबेला त्रुटि भयो भन्न अनाकानी गर्नुपर्ने कारण नभएको सांसद देवेन्द्रराज कँडेलले बताए । राष्ट्रियता, मातृभूमि र देशप्रेमको भावनाले मात्रै नागरिकताको विषयलार्इ अघि बढाउन सांसद कृष्ण गोपाल श्रेष्ठले सुझाव दिए । राष्ट्रियता, अखण्डता र स्वाधीनतासँग प्रत्यक्ष जोडिएको विषय भएकाले नागरिकताको विषयमा कुनै व्यक्तिको इच्छा र चासोका आधारमा निर्णयमा पुग्नु नहुने तर्क सांसद पम्फा भुसालले गरिन् ।

नेपालीले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न नकेको तर विदेशीले सहजै प्राप्त गरेको चर्चा चलिरहेको सन्दर्भमा राष्ट्र, राष्ट्रियता र आम नागरिकलाई पनि साथमा लिएर मात्र अघि बढ्नु उचित हुने सुझाव सांसद जनार्दन शर्माले प्रस्तुत गरे । कानुन निर्माण गर्न मतदाताले दिएको आदेश अनुसार समिति नै यो विषयलाई टुङ्गोमा पुर्‍याउन सक्षम भएको विचार सांसद नवराज सिलवालले राखे ।

सांसद बृजेशकुमार गुप्ता, मीना पाण्डे, राजेन्द्र महतो, रामसहायप्रसाद यादवले निश्चित विधि र प्रक्रिया अपनाएर सरोकारवाला, संशोधनकर्ता र विज्ञको सुझावका आधारमा विधेयकलाई अघि बढाउन सुझाव दिए । बैठकमा समितिकी सभापति शशी श्रेष्ठले विधेयकमाथि १०२ विषयमा २३ वटा समूहमा रहेर ५५ जना सांसदले संशोधन प्रस्तुत गरेको जानकारी दिइन् । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर