newskoseli.Com

मिर्गौला त फेरियो तर फेरिएन ‘चरा देखाउने’ पेशा !

सौराहा, चितवनका दिनेश गिरी (४८) लाई फेरि पनि ‘पर्यटकलाई चरा देखाउने’ पेशामा सक्रिय हुन सकिएला भन्ने आशा थिएन ।

‘दुवै मिर्गौलाले काम गर्न छाडे’ भन्ने रिपोर्ट अस्पतालबाट पाएपछि उनी छाँगाबाट खसेजस्तै भए । पुस, २०७१ को कुरा हो । ‘यस्तै रहेछ जीवन भन्ने सोचाइमा डुल्थ्यो मन,’ त्यो क्षण सम्झँदै गिरीले भने– ‘मैले नयाँ जीवन पाएँ, फेरि आज पुरानै पेशामा फर्कन पाएँ ।’

चौबीस वर्षअघि पर्यटन–पथप्रदर्शकको तालिम लिएपछि गिरी चरा देखाएर पर्यटकलार्इ जङ्गलमा डुलाउने पेशामा लागे। पेशा चल्दै गर्दा दुवै मिर्गौलाले काम गर्न छाडे । तैपनि उनले हरेश खाएनन् । ‘केही हुन्न’ भनेर घरपरिवारले पनि सम्झाइरहन्थे । उनका मिर्गौला त फेरिए तर पर्यटकलाई चरा देखाउने पेशा भने फेरिएन ।

गिरी अहिले पनि पहिलेजस्तै चराको खोज–अनुसन्धान, अनुगमनदेखि पर्यटकलाई चरा घुमाउन जङ्गल–जङ्गल नै धाउँछन् । ‘बिरामी हुनुअघि र पछिको काममा कुनै फरक छैन,’ उनले भने– ‘मासिक १८ देखि २० हजार रुपैयाँको औषधि लिएर काममा खटिनुपर्छ ।’

यस पटक तिहारमा समेत उनलाई फुर्सद भएन । गोबर्द्धन पूजाका दिन उनी दुई अष्ट्रेलियन नागरिक (क्लाइड र पिटर) लाई लिएर ‘आर्इ विस विल’ चरा देखाउन मकवानपुरको राप्तीखोला पुगे । भाइटीकाका दिन २ हजार ८ सय मिटर उचाइमा रहेको पोखराको ठूलोखर्क (अष्ट्रेलियन क्याम्प) मा पुगेर पर्यटकलाई चरा देखाए । यतिबेला चरा बसाइँ सरेर ठूलो खर्ककै बाटो भएर नेपाल आउँछन् त्यसैले त्यहाँ चरा हेर्न ठूलै भीड लाग्छ ।

औषधि खानकै लागि गिरीले एक कट्ठा जग्गा बेचेर बैंकमा पैसा राखेका छन्, त्यसैको ब्याजले उनी औषधि खान्छन् । उनका दुवै मिर्गौलाले काम गर्न छाडेपछि पर्यटन क्षेत्रमा लागेका स्वदेशी तथा विदेशीले समेत गिरीलाई सहयोग गरे । झन्डै १५ लाख रुपैयाँ खर्च गरेर उनले आफ्नै भाइ (टीका गिरी) को मिर्गौला प्रत्यारोपण गरेका हुन् । ‘अहिलेसम्म कुनै समस्या देखिएको छैन’– उनले भने ।

मिर्गौला प्रत्यारोपण गरेको एक वर्षपछि नै आफ्नो कामलाई निरन्तरता दिएका गिरीले अब हिमाली क्षेत्रतिर जाने योजना बनाएका छन् । अहिले प्रायः जङ्गलमै चरा हेरेर उनले समय बिताइरहेका छन् । भन्छन्– ‘मलाई आत्मविश्वास र परिवारको साथ छ, आत्मविश्वास भयो भने रोगलाई जित्न सकिन्छ भन्ने लाग्छ ।’ उनी पुरानै पेशामा फर्कनु नै महत्त्वपूर्ण कुरा भएको बताउँछन् पर्यटन व्यवसायी शीरलाल परियार । ७ दाजु–भाइमध्येका माइला उनी अरुलाई पनि रोगविरुद्ध आत्मविश्वास जरुरी रहेको सुझाव दिन्छछन् ।

जुन चरा देखे पनि फरक लाग्ने, उनीहरुका गतिविधि नै नौलो र चाख लाग्ने भएकाले पर्यटक–पथप्रदर्शक हुँदैदेखि चरा देखाउने पेशामा आकर्षित भएक हुन् उनी । गिरी चरा हेर्नकै लागि पर्यटक लिएर नेपालका ६० जिल्ला घुमीसके । नेपालमा चरा हेर्नकै लागि आउने पर्यटक धेरै छन् । चराले के खान्छ, कस्तो वनस्पति रुचाउँछ, कहाँ गुँड बनाउँँछ– सबै कुरामा केन्द्रित हुन्छन् पर्यटक। कतिपय चरा यति सुन्दर हुन्छन्, त्यो हेरेर नै आनन्द लाग्ने उनी बताउँछन् ।

वर्षौंदेखि हेरे पनि हरेक चरा पटकैपिच्छे नयाँ लाग्छन् । त्यही भएर पर्यटक नेपाल आउँछन् । चरा अवलोकनकै क्रममा सन् २०१२ मा उनले कोशीमा ‘रेड थ्रोटेट लुन’ भन्ने चराको अभिलेख गराए । ‘चरा–पर्यटन’ का लागि नेपाल आकर्षक गन्तव्य भए पनि सरकारको ध्यान नपुगेको उनको गुनासो छ । संरक्षण र प्रचारप्रसार गरी नेपालमा यति धेरै चरा पाइन्छन् भनेर विदेशमा जानकारी दिइए चरा–पर्यटनको भविष्य राम्रो रहेको उनको भनाइ छ ।

गिरीलाई सुरुमा उच्च रक्तचाप थियो । उनी बेला–बेलामा काठमाडौं पुगेर सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचार गराउँथे । त्यसबेला उनी लुम्बिनी बुद्ध गार्डेन होटलमा चराकै क्षेत्रमा काम गर्थे । पर्यटक घुमाउने क्रममै पुस, २०७१ मा खुट्टा सुन्निए, हिँड्न गाह्रो भयो । यस्तै अवस्थामा काठमाडौं पुगेर उनले पर्यटकलाई चितवनसम्म ल्याई जङ्गल घुमाए ।

त्यसपछि गङ्गालालले किड्नीमा समस्या देखाएपछि वनस्थलीस्थित मिर्गौला प्रत्यारोपण केन्द्रमा परीक्षण गर्दा दुवै मिर्गौलाले काम गर्न छाडेको पुष्टि भयो । ‘मलाई बाँच्दिन भन्ने लाग्यो,’ गिरीले भने– ‘मेरो भाइ टीकाले ‘दाइ नआत्तिनुस्’ भनेपछि साहस बढ्यो ।’ उनै भाइको मिर्गौला आफूमा प्रत्यारोपण गरिएपछि गिरी पुरानै पेशामा फर्किए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर