NewsKoseli.Com

‘महापतन’ : नौरङ्गी अवसरवादका विरुद्ध जनकारबाही

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको ६ महिनाभित्रै दोस्रो मौलिक कृति ‘महापतन’ प्रकाशित भएको छ । पाब्लो नेरुदाले अाफ्ना कवितालार्इ ‘दुस्मनका विरुद्ध जनकारबाही’ भनेका थिए । यो कृति संशोधनवाद, विसर्जनवाद र सबैखाले अवसरवादको विरुद्ध पाब्लो नेरुदाको शब्दमा ‘जनकारबाही’ हो । जनयुद्धको प्रसंग सम्झने हो भने यो कृतिलाई नौरंगी अवसरवादको विरुद्ध भाटे कारवाही पनि भन्न सकिएला ।

वस्तु र घटनाको विश्वसनीयता खास–खास व्यक्तिलाई मात्र हुन्छ । आधार इलाकाको इञ्चार्ज र पार्टी स्थायी समिति सदस्य, हाल नेकपाको महासचिव भएको कारण बरालिएका अथवा जनयुद्धको सहायक मोर्चामा उभिएका व्यक्ति वा लेखकको भन्दा जनयुद्धको मूल्यांकन, प्रवृत्ति र पात्रहरुको विश्लेषण गर्ने कार्यमा विप्लवको प्रयास बढी विश्वसनीय हुन्छ । विप्लवसँग सोसम्बन्धमा सूचना र तथ्यहरु पनि अलि बढी नै हुन्छन् । इतिहासले खास–खास व्यक्तिहरुबाट निश्चित कुराको अपेक्षा गरेको हुन्छ । नेपाली क्रान्तिको नयाँ मार्गमा हिँडिरहेको समयमा विप्लवले इतिहासप्रति निर्मम भएर बोल्नैपथ्र्यो । सबैखाले विषालु झारपात गोडेर नफालिकन आफैं निर्मूल हुँदैनन् । त्यसको विरुद्ध संघर्ष गर्नैपथ्र्यो । पार्टी पंक्ति र जनतालाई इतिहासको मूल्यांकनसम्बन्धी धारणा व्यवस्थित प्रकारले राख्नैर्थ्यो ।

विप्लवको नयाँ कृतिको विषयमा धारणा सार्वजनिक गर्नेहरुमा ऋषिराज बराल पनि छन् । उनको ‘खोतलखातल’ पुस्तकको समीक्षा, विश्लेषणभन्दा आत्मप्रशंसा, कुण्ठा, पूर्वाग्रह र इष्र्याको पोकोजस्तो लाग्छ । जुन महापतनभित्र मैले पाएको यथातथ्य शीर्षक लेखमा विभिन्न सञ्चारमा प्रकाशित छ ।

क्रान्ति र परिवर्तनको हत्या बन्दुकले मात्र गर्दैन । कलमले पनि गर्दछ । त्यसकारण माओले ‘कलम बोकेका हत्यारा’ भन्नुभएको छ । रगत र जीवनमरणको संघर्ष गरिरहेका जनता, मजदुर, युवाहरुलाई कलम बोकेर हत्या गर्ने, भ्रम सिर्जना गर्ने नयाँ श्याम श्रेष्ठहरुका विरुद्ध युवाहरुले लाठो उठाउनु अस्वाभाविक हुँदैन । म कलमको विरुद्ध कलमले लड्न सकुँला तर सबैले सक्दैनन् । त्यो उनीहरुको अपराध होइन । कलमका हत्याराहरुको विरुद्ध कलमले लड्न नसक्नेहरुले लाठो उठाएर आत्मरक्षा गर्नु निर्विकल्प हुन्छ । जहाँसम्म बरालको भाषा र शैली छ, यत्रतत्र हनुमानचालिसा, हुल्लडबाज, अज्ञानी, अनपढ, मूर्ख, चरणदास… यी पदावलीहरु मैत्रीपूर्ण आलोचनाभित्र पर्छन् ? त्यसकारण बरालविरुद्धका अभिमतहरु प्रतिक्रिया र परिणाम हुन्, कारण होइनन् । कारण त उनी आफैं हुन् ।

लेखमा प्रचण्ड शुरुदेखि नै सम्पूर्ण रुपमा गलत थिए भन्ने थाहा भएका बरालले ०५२ सालमै प्रचण्ड गलत छन्, उनको नेतृत्वमा लड्न हुँदैन भनेर किन सचेत नगराएको त ? कि केन्द्रीय सदस्य पाइन्छ कि भनेर पर्खेको ? बरालले आफूले चाकरी नगरेकाले पद नपाएको र पद पाउनेहरुले चाकरी गरेर पाएको भनेका छन् । त्यो बरालको वेदवाक्य नै हो । उनी चाकडी नगरेर होइन, संगठनात्मक क्षमता र अन्तरसंघर्षमा असफल (ध्वंशात्मक शैली) को कारणले पछाडि परेका हुन् । उनले सम्हालेको कुन संगठन र समिति राम्ररी चलेको छ ? प्रचण्ड, बाबुराम, रविन्द्र, आलोक, किरण, विप्लव, सुदर्शन बरालको विचार, शैली र संगठन शैली कोसँग मिल्छ ? सिन्धुलीका बबुरा विनोद दाहालसँग ! बरालले सहिद आलोकको प्रसंग पनि उठाएका छन् । मलाई त्यस विषयमा धेरै बोल्नु छैन तर आलोकसँगै दारु धोकेर ओछ्यान भिजाउने र त्यसो गर्न पाइएन भनेर कुण्ठाले गलेर बस्नेले अहिले आलोकको विरोध गरेर साखुल्ले हुन खोजेको देखिन्छ । जहाँसम्म विप्लवको कुरा छ, उनी कृष्ण सेनबाट उद्वेलित–प्रोत्साहित भएका युवा हुन् । २०४८–४९ मा पुल्चोक क्याम्पसको नेविसंघ–अखिल भिडन्तमा विप्लवको टाउको फुटेको थियो । बांगेमुढाका एक जना साथीको कोठामा भेट्न जाँदा रगतले भित्री लुगा लछ«प्पै भिजेको थियो । छलफलक्रममा उनले ‘नेताहरु बन्दुक उठाउन तयार भएनन् भने कपिलवस्तुको मेरो भागको जग्गा बेचेर भए पनि थ्रीनटथ्री किनी कांग्रेससँग बदला लिन्छु’ भनेको अझै सम्झन्छु । विप्लवमा तीव्र उद्वेलन देख्छु । पाब्लो पिकासोले उद्वेलनको स्थिति व्यक्तित्वको स्थिति हो भनेका छन् । ढुंगामुढामा उद्वेलन हुँदैन । मूर्ख र अवसरवादी दुवैसँग जिम्मेवारीबोध हुँदैन । कुण्ठा र गनगन मात्र हुन्छ । त्यसकारण विप्लव साहस, क्रियाशीलता, उद्वेलन, गतिशीलता र व्यक्तिप्रतिको मूल्यांकनमा पूर्वाग्रह नराखी हेर्न खोज्ने शैलीको कारण नेतृत्वमा पुगेका हुन् ।

आज को कहाँ छन्, त्यो यहाँ चर्चाको विषय होइन तर विप्लव, अनन्त, बादल, पासाङ, रविन्द्र, आलोकहरु नेतृत्वमा नआएको भए जनयुद्ध त्यो स्तरमा जान, पुग्न सक्थ्यो ? थारा गाईगोरु नवलपुर (सर्लाही) को हाटबजारमा काम लाग्छन्, क्रान्तिको नेतृत्व गर्न होइन । बरालले चन्दा उठाएकोमा प्रहरी हवल्दारले भन्दा धेरै चिन्ता किन गर्नुपर्‍यो ? विदेशबाट पैसा पठाउने आफन्त नभएका, पेन्सन नभएका, जागिर नभएका वा छोडेका, घर नभएका (बुर्जुवा डिग्रीले डामेर छोडेका साँढेहरुका शब्दमा हुल्लडबाज, लफंगा) विद्रोहीहरुले चन्दा नउठाए के गर्नु त ? त्यसो भए उनीहरु भारतीय दूतावासमा जाने ? विनोद चौधरी वा सुमार्गीको दैलोमा जाने ? फेसबुक पार्टी चलाएर त जनवादी क्रान्ति हुँदैन होला !

सरकारले नेकपालाई अघोषित प्रतिबन्ध लगाएको छ र घोषित (कानुनी) रुपमा प्रतिबन्ध लगाउने तारतम्य गरिरहेको छ । यस्तो समय बरालले सरकारको स्थानीय प्रशासनमा दर्ता भएर उसकै कानुनअनुसार चलेको रातो खबर प्रकाशन गृहलाई विप्लवको प्रकाशनगृह भनेर दमन गर्न उक्साएका छन् । यो कुन क्रान्तिकारी नैतिकता हो ?

हामी निश्चित योजनामा चलिरहेका छौं । यसबेला प्रचण्ड–बाबुराम–किरणसँग तीव्र वैचारिक, राजनीतिक र संगठनात्मक क्षेत्रमा संघर्ष छ । त्यही परिवेशमा त्यो प्रकारको कृतिको आवश्यकताबारे केन्द्रीय तहमा बहस भयो । विप्लवले गाउँमा काठको मुढामा बसेर, मुढा नै टेबल बनाएर सर्प, गँगटा, आटो–पिठो खाएर थाकलको छानामुनि बसेर लेखेका हुन् । जतिबेला प्रहरी, गुप्तचर हरियो झिंगाझैं भन्किरहेका थिए, छन् । यो कृतिको सम्पादन अघिल्लो (वैज्ञानिक समाजवाद) कृतिझैं मैले नै गर्नुपर्‍यो भने भाषा मिलान खेम थपलियाले गरे । रातो खबरले प्रकाशन गर्‍यो । म आफैं न सम्पादक हुँ न त त्यससम्बन्धी विशेष ज्ञाता । तर, समयले हामीलाई सुम्पियो, सकेको गर्‍याैं । मैले बस रोकेको बेला, बैठक स्थगित भएको बेला, बाटाघाटामा त्यो काम गर्नुपर्‍यो । प्रचण्ड मण्डलीसँगको संघर्ष प्रकाण्ड हुँदै उमा भुजेल शिलुसम्मको गिरफ्तारीसम्म पुग्दा वर्गसंघर्षतिर केन्द्रित हुँदै थियो । किरणसँगको पार्टी एकता टर्लाजस्तो हुँदै थियो । अझ ढिलो गरेर कृति प्रकाशित गर्नु नगर्नुसरह हुन्थ्यो । त्यसकारण हतारहतार बुर्जुवा साँढेहरुको स्वीकृति र सल्लाह नमागिकन ‘महापतन’ प्रकाशित गरिएको हो । कृति एउटा युद्धमय वातावरणमा प्रकाशित भयो । प्राविधिक क्षेत्रमा कतिपय सीमा रहेका होलान् । त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम बनाइदेलान् भनेर वा बुर्जुवा बुद्धिविलास गर्न पनि कृतिको प्रकाशन गरिएको होइन । आन्दोलनको आवश्यकता र जनचाहना यसको भाषा, शैली, गम्भीरता र ओज हो । वैचारिक क्षमताको प्रमाणपत्र बरालले वितरण गर्ने विषय हो र ? विप्लवको क्षमताबारे बरालले टाउको दुखाउनुपर्ने किन ? बरालकै जस्तो सोच,शैली, भाषा भएको भए विप्लव पनि त्यही स्थितिमा हुन्थे होलान् । विप्लव फरक भएरै त फरक अस्तित्वमा छन् ।

जनयुद्धका सकारात्मक र नकारात्मक दुवै पक्ष छन् । प्रचण्डको शुरुदेखि नै मूलपक्ष गलत भए कसको नेतृत्वमा त्यत्रो विद्रोह भयो त ? त्यस विषयमा बराल घोर बेइमान र गैरवस्तुवादी देखिन्छन् । ‘राम्रो जति सबै प्रचण्ड र युवाहरुको, राम्रोजति मैले गरेको’ त्यस प्रकारको अवसरवादी र हास्यास्पद तर्क गर्छन् बराल । नेकपाको दुई लाइन संघर्षसम्बन्धी चर्चा पनि लेखमा छ तर नेकपाको विचार, सोच्ने तरिका, विकास गर्न खोजेको विषयमा बरालले आफूलाई धुरन्धर वैचारिक चिन्तक ठाने पनि उनी सारमा ‘अन्धाले हात्ती’ छामेजस्ता छन् । किनकि पूर्वाग्रह र रुढीवादी सोच्ने तरिका भएपछि घ्राणशक्ति नष्ट हुन्छ । दोस्रो राष्ट्रिय सम्मेलनबाट स्खलनको प्रक्रिया शुरु भएर एमालेमा प्रचण्डको विलयसम्म पुग्दा बिसर्जनको चक्र पूरा भएको भन्ने कृतिको सारांश छ । जुन शिवगढी भेला, दाङ सम्मेलन र थवाङ अधिवेशनले ठोस गरिसकेका विषय हुन् । कृतिले किरणसँग दूरी बढाउँछ भन्ने बरालको चिन्ता छ तर को–कोसँग सम्बन्ध बढ्छ र घट्छ भनेर कृति तयार गरिन्न । किरणले त बादल र गुरुङसँग मिलेर समाप्त गर्न खोजेकै हुन् । बादलको धोका खाएपछि बुद्धि फिरेको होइन र ? लेखेर राख्नुस् महोदय, किरण फेरि अर्को बादल–गुरुङको गर्भधारण गर्दै छन् । अनि किरणसँग सम्बन्ध टाढिन्छ कि भन्ने रोइलो किन गर्नुपर्‍यो ?

प्रचण्ड र बाबुरामको मूल्यांकनमा पनि बराल अवस्तुवादी, आदर्शवादी र मनोगत छन् । बाबुरामले चाहँदैमा प्रचण्डले नचाहेको भए जनयुद्ध समाप्त हुने थिएन । बाबुरामप्रति धेरै भ्रम पनि थिएन । जनयुद्धका नायक प्रचण्ड हुन् र सबैभन्दा ठूला दोषी पनि उनै हुन् । किरण वा बाबुराम सकारात्मक–नकारात्मक दुवै पाटोमा कहिल्यै निर्णायक भएनन् ।

प्रचण्डसँग सम्बन्ध विच्छेद र किरणलाई तान्ने विप्लव नै हुन् । किरण धेरैपछि तानिएका हुन् । प्रचण्डले किरणलाई सदनमा बाबुरामभन्दा माथि राखेको भए के हुन्थ्यो ? उनी सदनमा किन गए ? बीचैमा किन फर्के ? अनुत्तरित छ । विप्लवलाई बरालले जे आरोप लगाएका छन्, त्यसका असली हकदार त बराल आफैं हुन् । नेकपा अगाडि बढेकोमा बराललाई औडाहा भएको छ । उनलाई आजभोलि आफ्नो बजार कायम गर्न पनि विप्लव र नेकपाको आड लिनुपर्ने, त्यसको समर्थन वा विरोध गर्नुपर्ने भएको छ । लेखमा बराल ठूला उपदेशकजस्ता लाग्छन् । तर, त्यो व्यवहारमा ‘जसको सिङ छैन, उसैको नाम तिखे’ भनेझैं छ ।

प्रचण्डदेखि बरालसम्मको छटपटी, जलन, औडाहा हेर्दा ‘महापतन’ को निशाना सही ठाउँमा भएको निष्कर्ष निकाल्न सकिन्छ । नौरंगी अवसरवादीहरुमा भयानक छटपटी भएन भने कृतिको औचित्य पुष्टि हुँदैन । घाइते अवसरवादीहरु जति धेरै छटपटीमा पर्छन्, उद्देश्य उत्तिकै पुष्टि भएको बुझ्नुपर्छ र क्रान्तिकारीहरु खुशी हुनुपर्छ ।

र्इ–रातोखबर डटकमबाट

यो पनि पढ्नुहोस्–
‘महापतन’ भित्र मैले पाएको यथातथ्य : डा. ऋषिराज बराल

प्रतिकृया दिनुहोस्

Google AdSense

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

Google AdSense

आजको विनिमय दर