NewsKoseli.Com

विप्लवजी र नेकपाका सबल र दुर्बल पक्षहरु

१. विषयप्रवेश

२०७१ साल मंसिरमा पार्टीको केन्द्रीय विस्तारित बैठक सञ्चालित भइरहेको अवस्थामा भिन्नमतको प्रस्ताव पेस गरेर विप्लव समूह तात्कालिक पार्टी नेकपा–माओवादीबाट अलग भई नेकपा माओवादी गठन गर्न पुगेको थियो ।

यो समूह बाहिरिएको अब झन्डै तीन वर्ष पुग्दैछ । सो समूहको वहिर्गमनपश्चात् २०७१ पौषमा आयोजित हाम्रो पार्टीको प्रथम राष्ट्रिय भेलामा पारित राजनीतिक प्रतिवेदनमा भनिएको थियो– “हामीले विप्लव समूहमा देखापरेका चिन्तन तथा प्रवृत्तिलाई वामरूपमा अभिव्यक्त दक्षिणपन्थी विचलनका रुपमा नामाङ्कन गर्नुपर्दछ ।” (नेकपा-माओवादीका दस्तावेजहरु, पृ. २२ आन्तरिक प्रकाशन विभाग २०७१ माघ) ।

सो प्रस्तावमा विप्लव समूह दर्शनको क्षेत्रमा निषेधात्मक द्वन्द्ववाद, अनुभववाद तथा सारसंग्रहवादको भासमा फसेको, राजनीतिक अर्थशास्त्रको क्षेत्रमा त्यसले मजदुर किसान वर्गको भूमिकालाई गौण स्थानमा राखी मध्यम वर्गको भूमिकामाथि विशेष जोड दिएको एवम् त्यसमा साम्राज्यवाद–विस्तारवादपरस्तताका लक्षणहरु देखिएको र समाजवादको क्षेत्रमा त्यसले अराजकतावादी व्यक्तिवाद तथा पश्चगामी शक्तिसितको सत्तासाझेदारी आदि मान्यता अँगालेको भनेर उल्लेख गरिएको थियो ।

गत २०७३ फागुनमा सो समूहले आठौं महाधिवेशन गरिसकेको छ । त्यसले पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी मात्र राखेको छ र माओवादी हटाएको छ । महाधिवेशनमा राजनीतिक प्रतिवेदन (२०७३) पनि पारित गरिएको छ र त्यसमा यस समूहका समग्र विचार, दृष्टिकोण, कार्यदिशा, नीति तथा कार्यक्रमलाई संश्लेषित गरिएको छ ।

प्रस्तुत लेखको मूल उद्देश्य नेकपा–विप्लव समूहको समग्र राजनीतिक प्रतिवेदन होइन, त्यसमा केन्द्रित रही त्यहाँ अभिव्यक्त विचार, दृष्टिकोण र आम कार्यदिशाका प्रमुख पक्षबारे संक्षिप्तमा अध्ययन तथा संश्लेषण गर्नु हो ।

२. अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सन्दर्भ

विप्लव समूहले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिस्थितिको मूल्याङ्कन गरी अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरका विभिन्न विषय र आधारभूत तथा प्रधान अन्तविरोधहरूबारे आवश्यक निष्कर्ष निकाल्ने काम गरेको छ । यी विषयबारे यस समूहले बडो विचित्र ढङ्गका, नयाँ-नयाँझैं लाग्ने, तर गहिरिएर अध्ययन गर्दा पुरानै देखिने खालका निष्कर्ष निकालेको देखिन्छ ।

राजनीतिक प्रतिवेदनमा वर्तमान विश्वको चर्चागर्दा पुँजीवादी विश्वव्यवस्था, उत्तर-साम्राज्यवाद, नव औपनिवेशिक अवस्था, उत्तर-आधुनिक संस्कृति आदिको उल्लेख गरिएको छ । तर नवउदारवाद, पुँजीको वित्तीयकरण, एकाधिकार पुँजीवाद जस्ता पदहरूको प्रयोग गरिएको छैन । प्रतिवेदनमा भनिएको छ– “पूर्वसोभियत सङ्घ विघटन भएपछि विश्वमा अस्थायी रूपले भए पनि पुँजीवाद हाबी हुनपुगेको छ । अमेरिकी नेतृत्वमा उत्तरसाम्राज्यवाद हाबी भइरहेको छ ।” (राजनैतिक प्रतिवेदन, पृ.१२) । यहाँ जसरी उत्तर–साम्राज्यवाद पदावलीको प्रयोग गरिएको छ, त्यो विप्लव समूहमा पैदा भएको अत्यन्तै गम्भीर राजनीतिक विचलनको द्योतक हो ।

यस समूहको प्रतिवेदनमा अन्तर्राष्ट्रिय राजनीतिक अन्तर्विरोधहरुवारे उल्लेख गरिएको छ । ती पाँच प्रकारका रहेका छन् : (१) शक्ति केन्द्रहरु बीचको सङ्घर्ष , (२) शक्ति राष्ट्र र मुश्लिम देशहरूबीचको अन्तर्विरोध, ३) उत्तर-साम्राज्यवाद र समाजवादी शक्तिबीचको अन्तर्विरोध, (४) दलाल तत्त्वहररू र जनताबीचको अन्तर्विरोध र (५) उत्तर-साम्राज्यवाद र उत्पीडित राष्ट्रबीचको अन्तर्विरोध । यहाँ उल्लेख गरिएका अन्तर्विरोधहरू मध्ये तेस्रो र पाँचौ नम्बरमा राखिएका अन्तर्विरोधहरूले यस समूहलाई कित्ता फेर्नका लागि बलियो आधार प्रदान गरेका छन् । आज विश्वका कुनै पनि क्रान्तिकारी कम्युनिस्ट पार्टी वा सङ्गठनहरूले तेस्रो र पाँचौ नम्वरमा राखिएका आधारभूत वा प्रधान अन्तर्विरोधलाई स्वीकार गर्दैनन् । आज एकातिर कुनै पनि समाजवादी शक्ति राज्यसत्तामा छैन भने अर्कोतिर सामाज्यवादलाई उत्तर- साम्राज्यवाद बताउनु साम्राज्यवादकै अस्तित्व समाप्त भएको घोषणा गर्नु हो ।

यसैगरी, सो प्रतिवेदनमा राष्ट्रिय परिस्थिति र अन्तर्विरोधबारे पनि उल्लेख गरिएको छ । यहाँ (क) दलाल सत्ता र क्रान्तिकारी शक्तिबीचको सङ्घर्ष, (ख) दलाल तत्त्व र देशभक्त शक्तिबीचको सङ्घर्ष , (ग) संसद्वादी-संसद्वादी दलालबीचको सङ्घर्ष , (घ) दलाल सत्ता र आम उत्पीडित वर्ग, राष्ट्र, क्षेत्र, लैङ्गिक समुदायबीचको सङ्घर्ष लगायतका चार खालका अन्तर्विरोधको उल्लेख गरेर पहिलो अन्तर्विरोधलाई प्रधान अन्तर्विरोध बताइएको छ । (उक्त, पृ. २४) । यहाँ एकातिर दलाल सत्ता जस्ता विचित्रका पदावलीको प्रयोग गरिएको छ भने अर्कोतिर दलाल पुँजीपति, नोकरसाही पुँजीपति, सामन्त वर्गजस्ता पदावलीको सम्बन्धित ठाउँमा प्रयोग गरिएको छैन । सायद, नयाँ बन्ने धुनमा यसो गरिएको होला !

देशको नयाँ स्थिति के छ त ? दस्ताबेजमा भनिएको छ –“अंग्रेज युद्धपछि अर्धउपनिवेश र राणा शासनको अन्त्यपछि अर्धसामन्ती व्यवस्थामा रहेको नेपाल यतिबेला भारतीय साम्राज्यवादी हस्तक्षेपसमेतबाट नवउपनिवेशमा र जनयुद्ध र गणतन्त्रको स्थापनापछि दलाल पुँजीवादमा बदलिएको छ । राजनीतिक एवम् आर्थिक सम्बन्धबाट यो नयाँ स्थिति हो ।”(उक्त, पृ. ५०)।

यहाँ ध्यान दिनु पर्ने कुरा तीनवटा छन् । पहिलो, यहाँ देश अर्धसामन्ती अवस्थामा नरहेको किटिएको छ । दोस्रो, यहाँ देशमा नवउपनिवेशवादी उत्पीडन भर्खरै सुरुभएको जस्तो गरेर उल्लेख गरिएको छ । जब कि साम्राज्यवादले नव उपनिवेशवादको बाटो लिएको त दोस्रो विश्वयुद्ध पछि नै हो । तेस्रो, यहाँ दलाल पुँजीवाद मात्र भनिएको छ, नोकरसाही पुँजीवाद होइन । चौथो, यहाँ भारतलाई विस्तारवाद भन्न छोडेर साम्राज्यवाद बताइएको छ । यहाँ कुन पदावली कसरी प्रयोग गरिएका छन् र कसरी प्रयोग गर्नु पर्नेहो भन्ने कुरा बहसको विषय हो । त्यतापट्टि अहिले नलागौं, परन्तु मुख्य विषय सो समूहका अनुसार नेपालमा पुँजीवादको विकास भइसकेको छ भन्नेतिर गइरहेको छ ।

देशको वर्गविश्लेषणका सन्दर्भमा यस समूहले एउटा विचित्र प्रकारको अवधारणा प्रस्तुत गरेको छ, त्यो हो–“नयाँ श्रमिक वर्ग (मध्यम वर्ग )” । (उक्त, पृ. ५४) । मध्यम वर्ग भनेको मार्क्सवादी दृष्टिकोण अनुसार समान्यतः राष्टिय पुँजीपति वर्ग हो । तर, त्यो नयाँ श्रमिक वर्ग कदापि बन्न सक्तैन । विशेष ध्यान दिनु पर्ने विषय के हो भने यस समूहले नयाँ श्रमिक वर्गका रूपमा मध्यम वर्गको अवधारणालाई “केही महत्त्वपूर्ण सैद्धान्तिक विषयहरू ” शीर्षकअन्तर्गत नयाँ विकसित मान्यताका रूपमा विशेष महत्त्व दिएर राखेको छ । यो वर्गविश्लेषणको सन्दर्भमा देखिएको गम्भीर प्रकृतिको दक्षिणपन्थी विचलन हो ।

३. दर्शनसम्बन्धी प्रश्न

राजनीतिक प्रतिवेदनमा दर्शनसम्बन्धी प्रश्नमा कतिपय महत्त्वपूर्ण विषयमा विकासका नाममा संशोधन गर्ने काम गरिएको छ । ती विषय मार्क्स, लेनिन र माओद्वारा स्थापित तथा विकसित गरिएका आधारभूत प्रस्थापनासित जोडिएका छन् ।

प्रस्तावमा भनिएको छ– “मार्क्सले संश्लेषण गर्नुभएको ‘दार्शनिकहरूले संसारको व्याख्या मात्र गरेका छन्, मुख्य कुरा त यसलाई बदल्नु हो’ भन्ने विचारलाई विकास गर्ने विषय हो । मार्क्सले भन्नुभएको विचार सही नै हो तर, समाजवादको असफलताले के साबित गरेको छ भने वस्तुलाई बदल्नु मात्र पूर्ण होइन, बदलिएको वस्तुलाई रक्षा र विकास गर्ने कुरा मुख्य बन्दोरहेछ ।” (उक्त, पृ. ३९) ।

यहाँ मार्क्सको दर्शन सम्बन्धी मुख्य पक्ष र सारतत्त्वलाई तोडमरोड गर्ने प्रयास गरिएको छ । मार्क्सद्वारा प्रस्तुत बदल्नुलाई विकास गर्नुको नाममा रक्षा र विकासमा प्रतिस्थापित गर्न खोजिएको छ । यो दार्शनिक फाँटमा उल्टो कदम हो ।

सोही प्रस्तावमा भनिएको छ– “दर्शनको विषय द्वन्द्वात्मक भौतिकवादमा विपरीतको एकत्वसम्बन्धी नियमलाई विकास गर्नेसँग सम्बन्धित छ । दार्शनिक रूपले विपरीतको एकत्व नै वस्तुको जीवन हो । यो दार्शनिक मान्यता सही छ । परन्तु विपरीतको एकत्वको नियम प्रकृति र समाजमा लागुहुँदा एकै प्रकारले हुन्छ भनेर बुझ्नु यान्त्रिक हुन्छ । ….. निर्जीवमा जीवनका लागि जुन विपरीत तत्त्वको आवश्यकता हुन्छ वा जुन विपरीतको अस्तित्व अनिवार्य हुन्छ सजीवमा त्यो नहुन सक्छ, किनकि समाज र पार्टीमा विपरीतहरूका मात्रा र विशेषता बहुआयामिक हुँदा कुन विपरीत जीवनका लागि अनिवार्य हो र कुन होइन भन्ने बुझ्न आवश्यक हुन्छ ।” (उक्त पृ. ३९) । यहाँ पार्टीमा विपरीतहरूको एकत्वको नियम लागु हुँदैन भनिएको छ र दार्शनिक फाँटमा मार्क्सवादको संशोधन गर्न खोजिएको छ ।

माजमा विद्यमान वर्गसङ्घर्ष दीर्घकालीन प्रकृतिद्वारा पार्टीभित्र दुई लाइन सङ्घर्षको दीर्घकालीन प्रकृति निर्धारित हुने गर्दछ । जस्तो कि प्रशिक्षण सामग्रीका रूपमा तयार पारिएको चिनियाँ कम्युनिस्ट पार्टीको आधारभूत वुझाइ” शीर्षक रचनामा भनिएको छ– “समाजमा चल्ने वर्गसङ्घर्षको दीर्घकालीन प्रकृतिले पार्टीभित्र चल्ने दुईलाइन सङ्घर्षको दीर्घकालीन प्रकृतिलाई निर्धारित गर्दछ । जबसम्म वर्गहरू, वर्ग अन्तविरोधहरू र वर्गसङ्घर्ष रहिरहन्छन्, त्यसको प्रतिबिम्बका रूपमा पार्टीभित्र दुईलाइन सङ्घर्ष पनि चलिरहन्छ ।” (दार्शनिक र साङ्गठनिक सिद्धान्त, पृ. ९५) । यहाँ समाजमा विद्यमान वर्गसङ्घर्ष र पार्टीमा विद्यमान दुई लाइन सङ्घर्षको दीर्घकालीन प्रकृतिको अन्तःसम्बन्धबारे प्रकाश पारिएको छ ।

त्यसैगरी, सो कृतिमा अझै अगाडि भनिएको छ– “वर्गसङ्घर्ष र दुई-लाइन सङ्घर्षको दीर्घकालीन प्रकृतिलाई दृढतापूर्वक आत्मसात गरेर मात्र हामीले ती सङ्घर्षको उतार र चढावलाई, तिनीहरू को उच्च र निम्न ज्वारलाई तथा विभिन्न घुम्ती र मोडहरूलाई निर्धारित गर्ने नियमहरू बुझ्न सक्छौं । अनि मात्र हामी पूर्ण तयारीको अवस्थामा रहनेछौं । जस्तोसुकै भेषमा वर्गदुस्मनले आफूलाई पेस गरे पनि हामी वर्गसङ्घर्ष र दुई लाइन सङ्घर्षमा पहलकदमी लिनेछौं ।” (उक्त) । यहाँ वर्गसङ्घर्ष र दुई लाइन सङ्घर्षको प्रकृतिलाई ठीकसित बुझ्ने र त्यसअनुसार तिनको समधानका लागि अवश्यक पहल एवम् तयारी गर्नेबारे विशेष जोड दिइएको छ ।

सो प्रस्तावमा प्रकृति विज्ञानको विकास तथा नयाँ आविष्कारको साथमा दर्शनको फाँटमा आउनसक्ने विचलन एवम् गलत चिन्तनका विरुद्ध सङ्घर्ष चलाउनु र द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको विकास गर्नुपर्ने कुरा बताइएको छ । त्यो सही छ, परन्तु, मार्क्सवादी दर्शनकै मूल प्रस्थापना र सारतत्त्वमाथि नै हमला गरिसकेपछि सो दर्शनको विकासको कुरा गर्नुको कुनै अर्थ रहन्न र त्यो निकै हास्यास्पद विषय बन्न पुग्दछ ।

स्पष्ट छ, विप्लव समूहले एकातिर भौतिकवादी द्वन्द्ववादको आधारभूत नियमका रूपमा विकसित विपरीतहरूको एकत्वको मूल मर्ममाथि कुठाराघात गर्न पुगेको छ भने अर्कोतिर समाजमा चल्ने वर्गसङ्घर्ष को दीर्घकालीन प्रकृतिलाई प्रतिबिम्बित गर्ने पार्टी भित्री दुई लाइन सङ्घर्षको महत्त्वलाई तिलाञ्जली दिएको छ । यसरी अब सो समूहमा एकैसाथ एकमनावाद र दक्षिणपंथी अवसरवाद दुवै प्रभावी बन्न जाने कुरा देखिन्छ ।

४. उत्तरसाम्राज्यवादसम्बन्धी प्रश्न

विप्लव समूहद्वारा चर्चामा ल्याइएको एउटा मूल विषय उत्तरसाम्राज्यवाद हो । यस समूहले आफ्ना विभिन्न दस्ताबेज र प्रस्तावका सन्दर्भ सामग्रीहरूमा उत्तरसाम्राज्यवादलाई केन्द्रीय विषय बनाएको छ । त्यो पनि ध्यान दिनुपर्ने विषय हो ।

यस समूहको आठौं महाधिवेशनमा पारित राजनीतिक प्रस्तावमा भनिएको छ— “तसर्थ आज विकसित पुँजीवादी, साम्राज्यवादीविरोधी विशेषतालाई पुरानै रूपमा साम्राज्यवाद मात्र भन्नुभन्दा नयाँ विशेषतासहित अगाडि आइरहेकाले साम्राज्यवादलाई चरित्रअनुरूपको मिल्दो शब्द उत्तर थपेर अर्थात् फेरिएको, पछिको वा पछिल्लो र अतिमा पुगेको अर्थ बुझाउने उत्तरसाम्राज्यवाद बनाउनु वस्तुवादी हुन्छ ।” (उक्त पृ. ४१)।

यहाँ उल्लेख गरिएजस्तो फेरिएको र अतिमा पुगेको साम्राज्यवादका नयाँ विशेषतालाई बुझाउन उत्तर शब्द प्रयोग गरिएको भनेर जुन तर्क दिएको छ त्यो पूरै गलत छ । किनभने उत्तर-साम्राज्यवादको अर्थ साम्राज्यवादपश्चात् अर्थात अब साम्राज्यवाद समाप्त भइसक्यो भन्ने हो । त्यसैले उत्तर-साम्राज्यवाद पदावली प्रयोगमा गम्भीर प्रकृतिको विचलन देखिन्छ ।

साम्राज्यवाद केही बदलिएको छ । तर के त्यो लेनिनले दिएको परिभाषाभन्दा गुणात्मक रूपमा बदलिएको छ ? बिल्कुलै बदलिएको छैन । लेनिनले भन्नुभएको थियो— “साम्राज्यवाद पुँजीवादको विशेष ऐतिहासिक अवस्था हो । यसका विशेषता तीन प्रकारका छन् । साम्राज्यवाद (१) एकाधिकार पुँजीवाद हो, (२) परजीवी अथवा सड्दै गएको पुँजीवाद हो, (३) मरणासन्न पुँजीवादी हो । खुल्ला प्रतियोगिताको स्थान एकाधिकारद्वारा लिइनु साम्राज्यवादको मर्मभूत आर्थिक गुण, त्यसको सार हो ।” (ब्ला.इ.लेनिन संकलित रचनाएँ दश खण्डो में खण्ड ६ पृ. २१०) ।

साम्राज्यवादबारे लेनिनले भन्नुभएको उक्त कुरा अहिलेका लागि पनि सत्य नै छन् । असली अर्थमा साम्राज्यवाद भनेको एकाधिकार पुँजीवाद हो र पुँजीवादको एकाधिकार स्वरूप नै साम्राज्यवादको सार हो । परन्तु बिप्लव समूह भन्दछ : “यतिबेला हामी लेनिनभन्दा १०० वर्ष अगाडि आएका छौं । यो समय निकै तीव्र औद्योगिक विकासको समय हो । अर्थविश्लेषकहरूको भनाइमा चौथो औद्योगिक क्रान्तिको चरण हो । यसको विशेषता भनेको इन्टरनेट, डिजिटल र साइबर प्रविधिको विकास हो । यो विकास लेनिनले विश्लेषण र संश्लेषण गरेको विशेषताभन्दा निकै नयाँ ठाउँमा पुगेको स्थिति हो ।” (उक्त पृ.४१) यहाँ साम्राज्यवाद लेनिनले परिभाषित गरेको भन्दा फरक भइ सक्यो भन्ने अर्थ लाग्दछ । साथै, यहाँ जुन औद्योगिक विकास र क्रान्तिको कुरा गरिएको छ त्यो प्रविधिवाद हो । यसरी यहाँ साम्राज्यवादलाई त्यसको आर्थिक -राजनीतिक सारतत्त्व होइन, प्रविधिमा कैद गर्न खोजिएको छ ।

विप्लव समूहले लेनिनद्वारा परिभाषित साम्राज्यवादको चर्चागर्दा एकाधिकार शब्दको उल्लेख गरिएको छ, परन्तु उत्तर–साम्राज्यवादका विशेषताहरूबारे वृस्तितरूपमा उल्लेख गर्दा एकाधिकारको कुरा कतै पनि छैन । यसरी हेर्दा विप्लव समूहले कुरा नबुझेर केही कमजोरीवश उत्तर-साम्राज्यवादको प्रयोग गरेको देखिँदैन । स्पष्ट छ, लेनिनद्वारा परिभाषित साम्राज्यवादमा “एकाधिकार” प्रमुख बनेर आउँछ, परन्तु उत्तर-साम्राज्यवादमा त त्यो आउँदैन । किनभने उत्तर-साम्राज्यवाद भनेको साम्राज्यवादपछिको अवस्था हो ।

उत्तर-साम्राज्यवाद पदावलीको प्रयोग कति ठीक हो, एक जना वाम बुद्धिजीवी भन्दछन् –“विश्व व्यवस्थाले कुनै नयाँ गैरसाम्राज्यवादी चरणमा प्रवेश गरेको छैन, जसलाई कहिलेकहीं–“उत्तर-साम्राज्यवाद”का रूपमा चित्रित गरिन्छ । यसका विपरीत यो आफ्नो स्वभावैले एक साम्राज्यवादी व्यवस्था हो, जसको उन्माद चरम सीमामा पुगेको छ ।” (The Liberal Virus, p. 22,AAkar Books 2005) । समिर अमिनले यो कुरा अब साम्राज्यवाद समाप्त भयो साम्राज्य मात्र बाँकी छ भन्ने प्रस्थापना लिएर आएका “साम्राज्य” शीर्षक पुस्तकका लेखक हार्ट र नेग्रीको विरोधका सन्दर्भमा व्यक्त गरेका हुन् । हार्ट र नेग्रीलाई उत्तर-मार्क्सवादी पनि भन्ने गरिन्छ ।

हार्ट र नेग्रीले भनेका थिए –“साम्राज्यले आदेशको सञ्जाललाई मिलाएर वर्णशङ्कर पहिचान, लचकदार उत्तराधिकार र बहुल आदान–प्रदानको व्यवस्थापन गर्दछ र विश्वको साम्राज्यवादी नक्साका विशिष्ट राष्ट्रिय रङ्ग एकै ठाउँमा मिलेका छन् र साम्राज्यीय भूमण्डलीय इन्द्रधनुषमा मिसिएका छन् ।” (preface: Empire 2001) वस्तुतः हार्ट र नेग्रीका दृष्टिमा साम्राज्यवाद अव शोषण तथा उत्पीडनमूलक व्यवस्था रहेन र राष्ट्रिय राज्यका सीमा भत्किए । त्यसैकारण उनीहरूले साम्राज्यवादको ठाउँमा मात्र साम्राज्य पदको प्रयोग गर्दछन् ।

५. कार्यदिशा, नीति र कार्यक्रम

विप्लव समूहले अलग्गिएपछि कार्यदिशा, नीति र कार्यक्रमबारे नयाँजस्ता लाग्ने अनेकौं कुराहरू उल्लेख गर्दै आएको छ । कार्यदिशा, नीति तथा कार्यक्रमको उल्लेख गर्ने सन्दर्भमा एकातिर बुझाइ वा अवधारणागत र अर्कोतिर तिनको निर्धारण दुवै सन्दर्भमा अत्यन्तै अस्पष्टता र अमूर्तता देखिने गर्दछ । यसलाई दार्शनिक भाषामा सारसंग्रहवाद भनिन्छ ।

यस सन्दर्भमा सो समूहद्वारा आठौं महाधिवेशनमा पारित केही भनाइहरू उद्धृत गरेर अध्ययन गर्नु उपयुक्त हुन्छ । जस्तो कि एकीकृत जनक्रान्तिको कार्यदिशाबारे भनिएको छ : “साम्राज्यवाद नयाँ विशेषतामा पुगेपछि यसको समाधान पनि लेनिन वा माओसम्मले विकास गरेको कार्यदिशाबाट मात्र सम्भव छैन । सहरबाट गरिने जनविद्रोह वा गाउँबाट गरिने दीर्घकालीन जनयुद्धको कार्यदिशा मात्र प्रयोग गरेर क्रान्ति सम्पन्न गर्न सम्भव छैन । तसर्थ क्रान्तिकारीहरुले आजको राजनीतिक विशेषता र अन्तरविरोधहरुलाई पक्डेर कार्यदिशाको विकास अनिवार्य रूपले गर्नैपर्थ्यो । हामीले सोही दृष्टिकोण र अध्ययनका आधारमा नेकपा (माओवादी) पुनर्गठन गरेपछि नेपाली राजनीतिक क्रान्तिको कार्यदिशा एकीकृत जनक्रान्ति संश्लेषण गरेका छौं ।” (उक्त पृ. ४३) ।

यहाँ कार्यदिशाको उल्लेख गर्ने सन्दर्भमा लेनिन एवम् माओद्वारा विकसित गरिएका सशस्त्र जनविद्रोह तथा दीर्घकालीन जनयुद्धको चर्चा गरेर र ती मात्र अपुग हुने बताएर एकीकृत जनक्रान्तिलाई फौजी कार्यदिशाका रूपमा प्रस्तुत गरिएको कुरा बताइएको छ । परन्तु, त्यसको लगत्तै एकीकृत जनक्रान्तिका विशेषताका रूपमा नगर समाजको विकास, नयाँ श्रमिक वर्गको विकास, विज्ञान र प्रविधिको विकास लगायतका विषयबारे चर्चा गरिएको छ । त्यसपश्चात् भनिएको छ : “उल्लेखित विशेषताअनुरूप संश्लेषण गरिएको ‘एकीकृत जनक्रान्ति’ को कार्यदिशा राजनीतिक दृष्टिले मात्र होइन, सैन्य दृष्टिले पनि नयाँ र महत्त्वपूर्ण छ ।” (उक्त पृ. ४४) ।

उक्त उद्धरणहरूमा एकीकृत जनक्रान्तिलाई एकातिर फौजी कार्यदिशा मात्र र अर्कोतिर राजनीतिक तथा फौजी दुवै कार्यदिशा बताउन खोजिएको छ । तर पनि एकीकृत जनक्रान्तिलाई स्पष्ट रूपमा पेस गरिएको छैन ।

यसै पृष्ठभूमिमा सो समूहले फौजी कार्यदिशाको पनि चर्चा गरेको छ । सोही राजनीतिक प्रस्तावमा भनिएको छ –“एकीकृत जनक्रान्तिको सैन्य कार्यदिशा हामीले विशेष भेलाबाट पारित गरिसकेकाले त्यसबारे यहाँ चर्चा गर्नु आवश्यक र उपयुक्त देखिँदैन ।” (उक्त पृ.४४) । उक्त भनाइबाट के बुझिन्छ भने सो समूहले फौजी कार्यदिशा पनि पारित गरेको छ । त्यस कार्यदिशाका विशेष नीति, योजना तथा प्राविधिक पक्ष के के हुन्, ती कुराबारे बढी जान्न खोज्नु उपयुक्त हुँदैन । तर, त्यस सैन्य कार्यदिशाको आधारभूत पक्ष के हो त ? त्यो मुख्यतः जनविद्रोह हो कि दीर्घकालीन जनयुद्ध हो वा अन्य कुनै हो वा केही पनि पनि होइन ? यी कुराबारे जनतालाई अन्धकारमा राख्नु ठीक होइन । यसलाई सैन्य कार्यदिशाका सन्दर्भका देखिएको रहस्यवाद भन्न सकिन्छ । क्रान्तिकारी कम्युनिस्टहरुले फौजी कार्यदिशाजस्तो महत्त्वपूर्ण पक्षमा रहस्यवादको खेती गर्दैनन् ।

सो समूहको राजनीतिक कार्यक्रम वा कार्यदिशा के हो त ? सो प्रस्तावमा भनिएको छ –“हामीले विगतमा अर्धसामन्तवाद र अर्धउपनिवेशवाद भएकाले क्रान्तिको कार्यदिशा नयाँ जनवाद निर्माण गरेका थियौं । तर दश वर्षको जनयुद्ध, गणतन्त्रको स्थापना, दलाल पुँजीवादको स्थापना, नवऔपनिवेशिक अवस्था आदि कारणले गर्दा अब नेपालको राजनीतिक कार्यक्रम नयाँ जनवाद मात्र बनाउँदा अपूर्ण हुन्छ र पछि पर्न जान्छ । अर्को कुरा नयाँ जनवाद कुनै लामो र स्थायी चरण पनि होइन । यो केवल समाजवादमा प्रयोग गर्ने खुड्किलो मात्र हो । कम्युनिस्टहरूको आधारभूत राज्यव्यवस्था भनेको वैज्ञानिक समाजवादी व्यवस्था नै हो । माओकै उदाहरण लिँदा पनि सन् १९४९ मा क्रान्ति गर्नु भयो र नयाँ जनवाद लागु गर्नुभयो । यसर्थ हामीले अबको राजनीतिक कार्यक्रम विगतकै जस्तो नयाँ जनवादी मात्र भन्नु वस्तुवादी हुँदैन, वैज्ञानिक समाजवादी बनाउनु वैज्ञानिक र वस्तुवादी हुन्छ । वस्तुवादी कार्यक्रम निर्माण गरेर नै क्रान्तिको वरिपरि नयाँ मित्र र सहयोगी शक्तिहरूलाई ध्रुवीकृत र एकताबद्ध गर्न सकिन्छ । तसर्थ नेपालको आउँदो राजनीतिक कार्यक्रम वैज्ञानिक समाजवादी अपनाउनुपर्छ ।” (उक्त पृ. ४७) ।

यहाँ निकै लामो उद्धरण दिइएको छ । तर पनि अझै कुरा स्पष्टसित बुझ्न सकिएको छैन । यहाँ अहिलेको क्रान्तिको चरण पुँजीवादी जनवादी हो कि समाजवादी, अनि अहिलेको राजनीतिक कार्यक्रम नयाँ जनवाद हो कि समाजवाद बडो अन्योलपूर्ण देखिन्छ । यहाँ एकातिर “नयाँ जनवाद मात्र वनाउँदा अपूर्ण हुन्छ” भनिएको छ, तर अर्कोतिर “नेपालको आउँदो कार्यक्रम वैज्ञानिक समाजवादी अपनाउनु पर्छ” पनि बताइएको छ । यहाँ अत्यन्तै कुरा चपाएर, यो वा त्यो कुनै स्पष्ट रूपमा भन्न नसकेर र मोहनीपूर्ण सन्ध्याभाषाको प्रयोग गरेर विचित्रको विभ्रम सिर्जना गरिएको छ । यहाँ सारसंग्रहवादको निकै “कुशलतापूर्वक” प्रयोग गर्ने काम भएको छ ।

आखिर कुरा के हो त ? पार्टीका समग्र नीतिहरूको चर्चागर्ने सन्दर्भमा पार्टीको राजनीतिक नीतिका रूपमा निम्न भनाइ प्रस्तुत गरिएको छ : “नेपालमा दलाल पुँजीवादी संसदीय राज्यसत्तालाई फालिसकेपछि जनताको राजनीतिक व्यवस्था नयाँ जनवाद र वैज्ञानिक समाजवाद स्थापना हुनेछ ।” (उक्त पृ.५५) । यहाँ पार्टीको राजनीतिक कार्यदिशा, कार्यक्रम वा रणनीतिका रूपमा एकैसाथ नयाँ जनवाद र वैज्ञानिक समाजवाद दुवै हुने कुरा बताइएको छ । यो सारसंग्रहवादका साथै द्वैतवादको पनि एक भद्दा नमूना हो ।

नयाँ जनवादी क्रान्ति र समाजवादी क्रान्ति निश्चित देशको निश्चित ऐतिहासिक सन्दर्भमा सम्पन्न गरिने क्रान्तिका बेग्लै प्रक्रिया र भिन्न चरण हुन् । तिनलाई सारसंग्रहवादी ढङ्गले घालमेल बनाएर प्रस्तुत गर्नु हुँदैन । जस्तो कि माओ भन्नुहुन्छ : “समग्रमा हेर्दा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चल्ने चीनको क्रान्तिकारी आन्दोलनका दुई चरण, जुन मूल रूपले क्रान्तिका दुई अलगअलग प्रक्रिया हुन् र पहिलो प्रक्रिया पूरा गरेपछि नै दोस्रो प्रक्रियालाई पूरा गर्न सकिन्छ । जनवादी क्रान्ति समाजवादी क्रान्तिको आवश्यक तयारी हो, समाजवादी क्रान्ति जनवादी क्रान्तिको अनिवार्य परिणति हो । (माओ त्से तुंगका छानिएका रचनाहरू , भो. २, ३३०/३३१) ।

यहाँ माओले जनवादी र समाजवादी क्रान्तिका दुई भिन्न चरण तथा प्रक्रिया र तिनका बीचको पारस्परिक सम्बन्धबारे निकै सटिक र स्पष्टरूपमा उल्लेख गर्नुभएको छ । माओका यी भनाइबारे आवश्यक ध्यान दिनु जरुरी छ ।

त्यसैगरी माओले “संयुक्त सरकारबारे” मा पनि भन्नुभएको छ : “हाम्रो नौलो जनवादको सामान्य कार्यक्रम पुँजीवादी जनवादी क्रान्तिको चरणभरि अर्थात् अनेकौं दशकसम्म अपरिवर्तित रहनेछ । तर, यस चरणका हरेक नौला खुट्किलामा परिस्थिति फेरिएको छ वा फेरिंदो छ र त्यसैअनुसार हामीले हाम्रो विशिष्ट कार्यक्रम पनि फेर्दै जानु स्वाभाविकै हो । उदाहरणका निम्ति, नौलो जनवादको हाम्रो सामान्य कार्यक्रम उत्तरी अभियान, कृषि क्रान्ति युद्ध र जापानविरोधी प्रतिरोध युद्धका अवधिहरूभरि उही नै रहेको छ, तर तीन अवधिहरूमा हाम्रा मित्रहरू र सत्रुहरू एकनासका नहुनाले गर्दा हाम्रो विशिष्ट कार्यक्रममा भने हेरफेर गरिएको छ ।” (माओ त्सेतुङ्का सङ्ककलित रचनाहरू, भाग ३, पृ. १८०)।

माओका उक्त भनाइअनुसार अर्धऔपनिवेशिक र औपनिवेशिक मुलुकहरू मा गरिने क्रान्तिमा नयाँ जनवादलाई न्यूनतम र समाजवादलाई अधिकतम कार्यक्रम पनि भनिन्छ । हामीले पनि नेपालजस्तो अर्धसामन्ती, अर्धऔपनिवेशिक वा नव औपनिवेशिक मुलुकमा नयाँ जनवादलाई न्यूनतम र समाजवादलाई अधिकतम कार्यक्रमका रूपमा लिँदै नै आएका छौं । जहाँसम्म हाम्रो अन्तिम लक्ष्य, उद्देश्य वा गन्तव्यको प्रश्न हो, त्यो साम्यवाद भएको कुरा सुस्पष्ट नै छ ।

त्यसैगरी, कार्यक्रम तथा नीतिलाई कार्यदिशामा ढालेर पनि माओले उल्लेख गर्दै आउनु भएको छ । यस सन्दर्भमा उहाँले आम कार्यदिशा तथा आम नीति, विशिष्ट कार्यदिशा तथा विशिष्ट नीतिको पनि उल्लेख गर्नुभएको छ । यसरी हेर्दा नयाँ जनवादी क्रान्तिको आम कार्यदिशा तथा आम नीति, विशिष्ट कार्यदिशा तथा विशिष्ट नीतिजस्ता पदावलीहरूको प्रयोग गरिँदै आउने काम भएको छ ।

यदि बिप्लव समूहले नेपाली समाजको सामाजिक तथा आर्थिक स्वरूप पूरै बदलिएको छ, पुरानै तरिकाले अब हुँदैन भन्न खोजेको हो भने त्यो पनि स्पष्ट हुनु पर्यो । अनि कार्यक्रम वा कार्यदिशाको उल्लेख गर्दा नयाँ जनवाद-समाजवाद भनेर एकैठाउँमा खिचडी पकाएर पस्कनु भएन । क्रान्तिका लागि सारसंग्रहवाद र द्वैतवाद निकै हानिकारक प्रवृत्ति हुन् ।

६. सबल तथा दुर्बल पक्ष

वैचारिक तथा राजनीतिक रूपमा बिप्लव समूहबारे अध्ययन गर्ने क्रममा त्यस समूहमा विद्यमान सबल तथा दुर्बल पक्षलाई एकै ठाउँमा राखेर उल्लेख गर्नु उपपुक्त हुन्छ । यसबाट सो समूहलाई ठीकसित बुझ्न आवश्यक मद्दत पुग्दछ ।

विप्लव समूहमा विद्यमान सबल पक्ष

पहिलो, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको उल्लेख गर्ने क्रममा पहिलो, दोस्रो तथा तेस्रो अन्तर्राष्ट्रियलाई सकारात्मक रूपमा लिइएको छ । १९१७ को अक्टोबर क्रान्तिदेखि १९४९ को नयाँ जनवादी क्रान्तिसम्मको अवधिलाई अधिकतम लोकप्रिय अवधि बताएको छ । स्टालिनको निधनपश्चात् ख्रुश्चोभको नेतृत्वमा गरिएको २०औं महाधिवेशन तथा आधुनिक संशोधनवादको विरोध गरिएको छ । स्टालिनको उच्च मूल्याङ्कन गरिएको छ, तर त्यसो गर्दा माओको स्टालिनसम्बन्धी मूल्याङ्कनलाई न्यूनीकरण गरिएको छ । चीनको सर्वहारा सांस्कृतिक क्रान्तिको सकारात्मक मूल्याङ्कन गरिएको छ । रिमको पहललाई थोरै भए पनि छुने मात्र काम भएको छ ।

दोस्रो, नेपाली कम्युनिस्ट आन्दोलनको चर्चा गर्दा पहिलो र दोस्रो महाधिवेशनमा पुष्पलाललाई महासचिव नबनाउनुलाई गलत बताइएको छ । भीमदत्त पन्तको किसान विद्रोह र झापा विद्रोहलाई सकारात्मक अर्थमा ग्रहण गरिएको छ । २०५२ को जनयुद्धको पहललाई सकारात्मक बताउँदै पछिल्लो कालखण्डमा प्रचण्ड-बाबुराममा पैदा भएको दक्षिणपन्थी विचलनको उल्लेख तथा विरोध गरिएको छ ।

तेस्रो, राष्ट्रिय परिस्थितिको चर्चा गर्दा कमसे कम देशमा पुँजीवादी जनवादी क्रान्ति नभएको र देश नवऔपनिवेशिक अवस्थामा रहेकाले नयाँ जनवादी क्रान्तिको आवश्यकतालाई अझै नकारिएको छैन ।

चौथो, विप्लव समूहले कतिपय अवस्थामा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवाललाई लिएर सङ्घर्षका कार्यक्रम दिँदै आएको छ । राष्ट्रिय स्वाधीनताको सन्दर्भ र अक्टोबर शतवार्षिकीका सन्दर्भमा हामीले कार्यगत एकता गरी संयुक्त रूपमा पनि कार्यक्रम दिने गरेका छौं ।

विप्लव समूहमा विद्यमान दुर्बल पक्ष–

पहिलो, विश्वदृष्टिकोण अर्थात् दर्शनको क्षेत्रमा आठौं महाधिवेशनमा जुन प्रस्ताव पारित गरियो त्यो नितान्त गलत छ । त्यो मार्क्सवाद-लेनिनवाद-माओवादद्वारा विकसित दर्शनिक सिद्धान्तमाथि गम्भीर आक्रमण तथा संशोधन हो । त्यो एकातिर विश्वलाई मुख्यरूपमा बदल्ने मान्यतामा आधारित मार्क्स-एङ्गेल्सको प्रस्थापना र अर्कोतिर लेनिन तथा माओद्वारा थप विकसित भौतिकवादी द्वन्द्ववादको आधारभूत नियमका विरुद्ध परिलक्षित रहेको छ । यसले द्वन्द्ववादलाई अधिभूतवादमा बदल्न खोजेको छ ।

दोस्रो, यस समूहले जसरी उत्तर-साम्राज्यवादको अवधारणा ल्याएको छ, त्यसले एकातिर लेनिनद्वारा गरिएको साम्राज्यवादको विश्लेषण र अर्कोतिर स्टालिनद्वारा प्रस्तुत आजको युग साम्राज्यवाद तथा सर्वहारा क्रान्तिको युग हो भन्ने मान्यतालाई पूरै निषेध गरेको छ । यहाँनेर यो समूह उत्तर-आधुनिकतावाद र उत्तर-मार्क्सवादको गम्भीर भासमा फस्न पुगेको छ ।

तेस्रो, विश्वको आधारभूत अन्तर्विरोधको उल्लेख गर्दा यस समूहले उत्तर-साम्राज्यवाद र समाजवादी शक्तिबीचको अन्तर्विरोधको चर्चा गरेको छ । यसवाट बिप्लव समूहका दृष्टिमा विश्वमा अझै पनि राज्य सत्तामा समाजवादी मुलुकहरू छन् भन्ने देखिन आउँछ ।

चौथो, राष्ट्रिय परिस्थितिको चर्चा गर्दा यस समूहले वर्गविश्लेषण, राजनीतिक शक्तिहरूको विश्लेषण र नेपाली कम्युनिस्ट आन्दोलनका धाराको विचित्र ढङ्गले उल्लेख गरेको पाइन्छ । वर्गविश्लेषण गर्दा ‘मध्यम’ वर्गलाई नयाँ श्रमिक वर्गका रूपमा पेश गरिएको छ र सर्वहारा वर्गलाई विस्थापित गर्न खोजिएको छ । राजनीतिक शक्तिहरू र साथै कम्युनिस्ट आन्दोलनका धाराहरूको विवेचना गर्ने कामबाट यो समूह भाग्न खोजेको पाइन्छ ।

पाँचौं, पार्टीको कार्यदिशा, नीति र कार्यक्रम निर्धारण गर्ने सन्दर्भमा यो समूह अस्पष्टता, अमूर्तता र गम्भीर प्रकारको सारसङ्ग्रहवादको सिकार हुनपुगेको छ । नयाँ जनवाद-समाजवादलाई एउटै ठाउँमा राखेर पेश गर्नु यसै अस्पष्टता, अमूर्तता र सारसङ्ग्रहवादको एक भद्दा उदाहरण हो ।

छैटौं, हुन त यस समूहले स्वतन्त्र रूपमा सङ्घर्षका कतिपय जुझारु कार्यक्रम पनि दिने गरेको छ, तर यस प्रकारको सङ्घर्ष क्रान्तिकारी उद्देश्यसित जोडिएको पाइंदैन, र त्यो जुझारु अर्थवादमा फस्नगएको देखिन्छ ।

मार्क्सद्वारा प्रस्तुत विश्वलाई बदल्नु मुख्य काम हो भन्ने मान्यतालाई संशोधन गर्नु, विपरीतहरूको एकत्वको नियमलाई पार्टी भित्रीजीवनमा लागू हुँदैन भन्नु, लेनिनद्वारा परिभाषित साम्राज्यवादसम्बन्धी विश्लेषणलाई पुरानो भयो भनेर परित्याग गर्नु तथा उत्तर-साम्राज्यवाद पदावलीलाई स्वीकार्नु, स्तालिनको अतिमा गएर मूल्याकन गर्नु तथा माओको अत्यन्तै न्यूनीकरण गर्नु, कार्यदिशा, नीति तथा कार्यक्रममा सारसङ्ग्रहवादको सहारा लिनु र नयाँ बन्ने धुनमा मार्क्स, लेनिन तथा माओ समयसन्दर्भबाट टाढिए भन्दै जानु –विप्लव समूहका मूल विशेषता बन्न गएका छन् । लामो समयदेखि बिप्लव समूहले सत्तासाझेदारीका कुरा गर्दैआएको थियो र अहिले पनि यदाकदा त्यसको चर्चा सुनिन्छ । वास्तविकता के हो, त्यसवारे विप्लव समूहले स्पष्ट पारेको देखिँदैन । यी सबै कुरामाथि गहिरिएर ध्यान दिँदा के अड्कल काट्न सकिन्छ भने यस समूहले मार्क्सवाद-लेनिनवाद-माओवादलाई परित्याग गरी उत्तर मार्क्सवादको बाटो पकड्ने सम्भावना छ । तर, त्यसो हुन नपाओस्, विप्लव समूह स्वयम् सचेत एवम् सतर्क रहनु जरुरी छ ।

यसरी समग्रमा हेर्दा यस समूहमा सबल पक्ष कमजोर र दुर्बल पक्ष बलवान् बन्दै गएका देखिन्छन् । हिजो हामीले यस समूहलाई रूपमा वाम र सारमा दक्षिणपन्थी विचलनमा फसेको भनेर मूल्याङ्कन गरेका थियौं । अहिले यस समूहले आफ्नो यात्रालाई रूप र सार दुवै दृष्टिले दक्षिणपन्थी विचलनवादतर्फ अत्यन्तै तीव्रता प्रदान गर्दै गइरहेको देखा पर्दछ ।

७. निष्कर्ष

नेकपा विप्लव समूहको आठौं महाधिवेशनमा पारित राजनीतिक प्रतिवेदनका कतिपय विषयबारे मोटामोटी रूपमा चर्चा गरियो । साथै, त्यस समूहमा विद्यमान सबल तथा दुर्बल पक्षबारे पनि केही उल्लेख गरियो । अब निष्कर्षका रूपमा यस समूहवारे हाम्रो धारणा स्पष्ट पार्नु आवश्यक छ ।

सबैभन्दा पहिलो कुरा त आज साम्राज्यवादी तथा विभिन्न खाले प्रतिक्रियावादी शक्तिहरूद्वारा सर्वहारा वर्गसहित सम्पूर्ण उत्पीडित जनसमुदाय तथा देशमाथि शोषण, उत्पीडन तथा दमनका प्रक्रियालाई तीव्रता दिने काम हुदैआएको छ । यसैगरी, अन्तर्राष्ट्रिय र नेपाली कम्युनिस्ट आन्दोलनमा पनि दक्षिणपन्थी अवसरवाद निकै प्रभावी बन्दैगएको छ । यस प्रकारको स्थितिमा क्रान्तिकारी कम्युनिस्टहरूलाई एकताबद्ध तुल्याउनु एक ऐतिहासिक आवश्यकता बन्न गएको छ ।

दोस्रो, समग्र कम्युनिस्ट आन्दोलन र क्रान्तिको हितमाथि विशेष ध्यान दिँदै नेकपाप्रति हामीले भौतिकवादी द्वन्द्ववादी ढङ्गले सोच्नु पर्दछ । तदनुरूप एकातिर त्यस समूहमा विद्यमान दुर्बल पक्षहरूको विरोधमा वैचारिक सङ्घर्ष चलाउनु पर्दछ भने अर्कोतिर सबल पक्षहरूलाई सकारात्मक ढङ्गले ग्रहण गर्दै त्यससित एकताका सम्भावना तथा आधार पनि खोज्दै जानु पर्दछ ।

अन्ततः नेकपामा रहेका नेतृत्वसहितका सम्पूर्ण कमरेडहरूले यो बेला आफूमा विद्यमान दुर्बल पक्षका विरुद्ध सङ्घर्ष गर्ने तथा तिनलाई हटाउने र सबल पक्षलाई अझै विकसित तुल्याउँदै जानेतर्फ विशेष प्रयत्न गर्नुपर्दछ । इतिहासले कसैसित पनि लामो प्रतीक्षा गर्न जान्दैन । अब हामीले देश, जनता, क्रान्ति, सर्वहारा अन्तर्राष्ट्रियतावाद तथा मार्क्सवाद-लेनिनवाद-माओवादलाई विशेषरूपमा मनन गर्दै र आ–आफ्ना कमी तथा कमजोरीलाई सच्याई क्रान्तिकारी ढङ्गले रूपान्तरित हुँदै एकताबद्ध बन्ने दिशामा गम्भीरतापूर्वक सोच्नु र ठोस पाइला चाल्नु नितान्त जरुरी छ ।

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव वैद्यद्वारा लिखित र नेकपा–विप्लव समूह : संक्षिप्त अध्ययन शीर्षकमा प्रकाशित यो सामग्री नेकपा (क्रान्तिकारी माओवादी) को मुखपत्र ‘माओवादी’, अङ्क– १२ बाट लिइएको हो ।

प्रतिकृया दिनुहोस्

Google AdSense

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

Google AdSense

आजको विनिमय दर