newskoseli.Com

३५ वर्षदेखि सुन्तलाबाटै पालिएको यो परिवार !

बँदेल, दुम्सी, मुसाको चिन्ता छैन । दिनहुँ हेरचाह, कुरालु, ज्यामी पनि चाहिँदैन । तर, सुन्तलाले मज्जाले परिवार पालेको छ ।

प्युठान नगरपालिका– १०, छेपानी निवासी ५८ वर्षीय रविलाल रोका मगर आफूले होइन, पाखा–डाँडाको सुन्तलाले ३५ वर्षदेखि परिवार पाल्दै आएको बताउँछन् ।

छेपानीमा रहेको पाखो जमिनमा लगाएको सुन्तला–कमलाबाट मनग्य आम्दानी भएपछि रविलाल रोका मगरले लामो समयदेखि आर्थिक सङ्कट भोग्नु परेन, बरु सामाजिक क्षेत्रमा काम गर्ने अवसर मिल्यो । रोका परिवारमा तीनभाइ छोरा र बुहारी, एक छोरी तथा उनका बच्चा गरी ९ जना रहे पनि घरमा अहिले पाँच जना छन् । अहिले पाँच जनाको परिवार सुन्तला र कमलाको आम्दानीमै आश्रित रहेको उनी बताउँछन् ।

६० वर्षअघि रविलालका बुबाले एक बोट सुन्तला रोपेका थिए । पछि (४० सालतिर) सुन्तलाका बोट बढाइयो । ‘२०१४ सालतिर बाबाले लगाएको सुन्तलाको बोट अथवा बाबाको चिनो अहिले व्यवसाय बनेको छ,’ रविलालले भने– ‘हाम्रो परिवार पाल्ने यही सुन्तला–कमला हो ।’

रविलालले अहिले आफ्नो ९ रोपनी पाखोमा ३ सय ४५ वटा सुन्तला रोपेका छन् । करिव १ सय ५० बोटबाट राम्रो उत्पादन हुन्छ भने अन्य बोटबाट अर्को वर्षदेखि उत्पादन सुरु हुने उनी बताउँछन् । रविलाललाई सुन्तलाको बजार अभाव छैन । बरु प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले बोटका सुन्तला बजारसम्म पुर्‍याइदिने व्यवस्था गरिदिएपछि रविलालले पनि आफ्ना सुन्तला निःशुल्क ढुवानी गर्न पाएका छन् ।

आफूले एक वर्षमा करिव ३ लाख २० हजार रूपैयाँको सुन्तला–कमला बिक्री गरेको जानकारी रविलालले दिए । ‘बजारमा त समस्या छैन, थुप्रै साथी यहीं आउँछन्, केही मेला–पर्वमा आफैं लैजान्छौं,’ उनले भने– ‘मेयरले ढुवानीको व्यवस्था गरिदिएपछि नाफा राम्रो हुन थालेको छ ।’

किसानले उत्पादन गरेका वस्तु गाउँघरमै बेच्दा सस्तो मूल्य मात्रै आउने भएकाले सहर–बजार पठाइदिँदा अधिक मूल्य लिन प्रोत्साहन हुने नगरप्रमुख कक्षपतिले बताए । बेमौसमी रुपमा बिक्री–वितरण गर्न आफूले चिस्यान केन्द्र स्थापनाको समेत पहल गरेको दाबी उनले गरे । ढुवानीको बन्दोबस्त मिलाइएपछि किसानहरूले फलफूल बिक्री गरेर पोहर सालभन्दा तेब्बर राम्रो आम्दानी लिन पाएको नगरप्रमुख कक्षपतिको भनाइ रहेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर