newskoseli.Com

३ महिनाभित्रै पाइपबाट पेट्रोल आउँदै : निर्माणकार्य अन्तिम चरणमा

नेपाल–भारत सरकारको उच्च प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजना कार्यालय सिमराका अनुसार नेपालतर्फको ३९ दशमलव २ किलोमिटर भूभागमध्ये २१ किलोमिटर क्षेत्रमा जमिनमुनि पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ । बाँकी काम तीव्र गतिमा भइरहेकाले बढीमा ३ महिनाभित्र काम सम्पन्न भई भारत (बिहार) को राजधानी पटनाबाट पाइप लाइनमार्फत पेट्रोलियम पदार्थ ल्याउन सकिने बताउँछन् परियोजना कार्यालय सिमराका इञ्जिनियर शरदप्रसाद पौडेल ।

‘बाधा–अवरोध नभए अबको ३ महिनाभित्र नेपालमा पेट्रोलियम पदार्थ आउने पक्का छ,’ उनले भने– ‘यसलाई समयमै सम्पन्न गर्न परियोजनाले सक्रिय रुपमा काम अगाडि बढाइरहेको छ ।’ नेपालतर्फ अब १८ दशमलव २ किलोमिटर पाइप बिछ्याउने काम बाँकी छ ।

पर्सा राष्ट्रिय निकुञ्जमा ८ किलोमिटर, नाला, स–साना पुल–पुलेसा, नदी, क्रसिङ सडक र गण्डक क्षेत्रमा पाइप लाइन बिछ्याउन बाँकी छ । निकुञ्जभित्र रहेको करिव ५ हजार रुख काटने काम निकट भविष्यमै हुने र भारतको मोतिहारीदेखि रक्सौलसम्म ३३ दशमलव ७ किलोमिटरमध्ये मोतिहारी–रक्सौल क्षेत्रमा टुक्राटाक्री काम बाँकी रहेको सिमरास्थित परियोजना कार्यालयले जनाएको छ ।

नेपाल–भारत सीमा क्षेत्रको वीरगञ्ज भन्सारस्थित रजत जयन्ती चोक बाइपास क्षेत्रमा समेत पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ । जितपुर–परवानीपुर क्षेत्रमा करिव २ किलोमिटर क्षेत्रमा बाधा–अवरोध आएकाले सो क्षेत्रमा बोरिङ प्रविधिमार्फत पाइप गाड्ने काम भइरहेको पनि इञ्जिनियर पौडेलले जानकारी दिए ।

नेपालको ‘लाइफलाइन’ का रुपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ७० किलोमिटर लम्बाइको सो पाइपलाइन निर्माणका लागि भारत सरकारले ३ सय ५० करोड भारतीय रुपैयाँ लगानी गरेको छ । गत चैतको अन्तिम साता भएको भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुक्त रुपमा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका थिए । शिलान्यासपछि यस कार्यले गति लिँदै जमिनमुनि पाइप बिछ्याउने कामले तीव्रता पाएको हो ।

पथलैयादेखि अमलेखगञ्जसम्म ८ किलोमिटर क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्ज भएर पाइप लाइन जाने भएकाले निकुन्जभित्रका ५ हजार रुख काट्न सहमति भइसकेकाले चाँडै नै सो कामको थालनी गरिने परियोजना कार्यालयले जनाएको छ । पाइप लाइन बिछ्याउने काम सम्पन्न भएपछि लगत्तै प्रयोग गर्नुपर्ने भएकाले पेट्रोलियम पदार्थ भण्डारणका लागि अमलेखगञ्जस्थित आयल निगमको डिपोमा ३ हजार ९ सय किलोलिटर क्षमताका २ वटा तथा ४ हजार १ सय किलोलिटर क्षमताका २ वटा गरी ४ वटा ट्याङ्करको मर्मत–सम्भारको काम समेत द्रुत गतिमा भइरहेको छ । एउटा टयाङ्कर तयार भइसकेको छ भने ३ वटा टयाङ्कर बनाउने काम भइरहेको बताइएको छ ।

अबको ३ महिनाभित्रै निर्माणकार्य सकी सञ्चालनमा ल्याउने लक्ष्य लिइएको सो पाइप लाइन निर्माण सम्पन्न भएपछि पटनाबाट प्रतिघन्टा २ सय ५० लिटर पेट्रोलियम पदार्थ पाइप लाइनबाट भित्रनेछ । पहिलो चरणमा परीक्षणका रुपमा डिजेल आउने बताइएको छ । जमिनमुिन साढे २ मिटर तल तथा पौने ११ इञ्चको माइल स्टिल भन्ने कालो रङ्गको पाइप राखिएकाले खिया लाग्दैन ।

यो प्रोजेक्ट सञ्चालनमा आएपछि नेपाल–भारतको रक्सौल नाकामा देखिने जामको समस्या हट्नुका साथै पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता समेत हट्ने विश्वास लिइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर