newskoseli.Com

गरिबीका कारण सानै उमेरमा विवाह ! के–के छन् बालविवाहका कारण ?

पढाइमा कमजोर हुनुका साथै पारिवारिक आर्थिक अवस्था कमजोर रहेका बालबालिकाले उमेर नपुग्दै विवाह हुने गरेको पाइएको छ ।

उमेर नपुग्दै विवाह नगर्न आग्रह गर्दा पनि बालविवाह गर्ने क्रम नरोकिएको पञ्च भयार माध्यामिक विद्यालयकी शिक्षिका नन्दा शाहीले जानकारी दिइन् । आर्थिक अवस्था कमजोर भएका छात्राको उमेर नपुग्दै बिहे हुने गरेको छ । विभिन्न आर्थिक प्रलोभनमा परेर, कम उमेरमा बिहे गर्नेको सङ्ख्या बढेको सरोकारवालाहरू बताउँछन् ।

आर्थिक अवस्था कमजोर भएका परिवारका छोरीले धनी परिवारका केटासँग बिहे गरेमा राम्रो लगाउन र मिठो खान पाइने भ्रमका कारण छिटो बिहे हुने गरेको छ । देखासिकी र लहलहैमा पनि कम उमेरका छात्राहरूको बिहे हुने गरेको पाइएको छ ।

अभिभावकको उक्साहट र छिट्टै नाति–नतिना देख्न चाहने सोचका कारण पनि धेरैको सानै उमेरमा बिहे हुने गरेको छ । गैरदलितभन्दा दलित समुदायका छात्रछात्राको सानै उमेरमा बिहे हुने गरेको शिक्षकहरू बताउँछन् । विद्यालयमा कक्षा छाड्नेको सङ्ख्या दलित समुदायकै बढी रहेको पाइन्छ । स्थानीय सरकार तथा विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने सङ्घ–संस्थाले बालविवाह न्यूनीकरणका लागि अभियान चलाए पनि दूरदराजको भू–भागमा सानै उमेरमा बिहे गर्नेको सङ्ख्या अझै पनि अत्यधिक छ ।

भर्खर बिहे गर्ने उमेरका अधिकांश किशोरीहरु आमा बनेका छन् । ग्रामीण क्षेत्रमा सञ्चार माध्यमको पहुँच नहुनु र आमा–बाबुले छिटो नाति–नातिना देख्न चाहनुले बालविवाहको क्रम रोकिएको छैन । खासगरी बालिकालाई रजस्वला हुनुअघि नै बिहे गरिदिनुपर्छ अन्धविश्वासपूर्ण मान्यताले पनि कतिपय समुदायमा बालविवाह हुने गरेको छ ।

बालविवाहका कारण किशोरीहरुको बिहेपछि पढाइ बिग्रनुका साथै आमा तथा बच्चाको शारीरिक अवस्था समेत कमजोर हुने गरेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए । विद्यालयमा पढ्दापढ्दै बिहे गर्दा अधिकांशले पढाइ छाडेर घर सम्हाल्दै बसिरहेका छन् । सानै उमेरमा बिहे भएकामध्ये केहीले पछि पछुतो मान्ने गरेको शाह बताउँछन् ।

विद्यालयमा पढ्दापढ्दै धेरैजसो छात्रछात्राको विवाह हुने गरेकाले उनीहरुले पढाइलाई निरन्तरता दिन नसकेको सेफ द चिल्ड्रेनका मनोज सुनुवारले बताए । कम उमेरमा विवाह गरेर उमेर नपुग्दै आमा बन्दा मानसिक र शारीरिक असर पर्नुका साथै बिहे गर्ने उमेरमा सम्बन्ध–विच्छेदका घटना बढेका छन् ।

जिल्ला अदालतको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा दर्ता भएका ५१ वटा सम्बन्ध–विच्छेदका मुद्दामा ४१ जोडीको उमेर ३० वर्षमुनि रहेको छ । सम्बन्ध–विच्छेद गर्ने यी सबै जोडीको विवाह १९ वर्ष नपुग्दै भएको थियो । मुलुकी देवानी तथा फौजदारी संहितामा २० वर्ष नपुग्दै विवाह गरेको पाइए बालविवाह ठहर हुने उल्लेख छ ।

बालबालिकाको स्थिति प्रतिवेदन अनुसार जाजरकोटमा ६७ हजार ३ सय ३२ जना विवाहितमध्ये ४९ हजार ८ सय ६२ अर्थात ७४ प्रतिशतले १९ वर्ष नपुग्दै विवाह गरेका छन् । प्रतिवेदन अनुसार १ सय ६५ जनाले १० वर्षकै उमेरमा विवाह गरेको उल्लेख छ । १० देखि १४ वर्षसम्मका ५ हजार ६ सय ६८ जनाले बालविवाह गरेका छन् ।

१५ देखि १९ वर्षको उमेरमा ४४ हजार २९ जना बालबालिकाको विवाह भएको उक्त प्रतिवेदनमा उल्लेख छ । बालविवाह गर्नेमा बालकको तुलनामा बालिकाको सङ्ख्या धेरै छ । बालविवाह गरेकामध्ये ६२ दशमलव ८७ प्रतिशत बालिका र ३७ दशमलव १३ प्रतिशत बालक रहेका छन् । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर