newskoseli.Com

हिंसा कम गर्न मोबाइल एप्स ‘खुल्दुली’ !

किशोरकिशोरी तथा युवामाथि हुने जोखिम कम गर्न सरकारले मोबाइल एप्स ‘खुल्दुली’ शुभारम्भ गरेको छ ।

किशोरकिशोरी तथा युवायुवतीलाई यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सूचना दिने उद्देश्यले तयार पारिएको मोबाइल एप्स ‘खुल्दुली’ सोमबार एक कार्यक्रमबीच बुटवलमा शुभारम्भ गरिएको हो ।

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष र जर्मन विकास नियोगको सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले मोबाइल एप्स तयार पारेको हो । एप्सको शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख उमाशङ्कर चौधरीले यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सम्पूर्ण जानकारी एप्समा व्यवस्थापन गरिएकाले किशोरकिशोरी र युवाका लागि लाभदायक हुने विश्वास व्यक्त गरे ।

स्वास्थ्य सेवामा आधारभूत मनोपरामर्श दिने, परीक्षण गर्ने, स्वास्थ्य जाँच गर्ने र स्वास्थ्य संस्थामा नभएको सेवाका लागि सेवाग्राहीलाई कहाँ पठाउने भन्ने जानकारी समेत मोबाइल एप्समा रहेको जानकारी उनले दिए । ‘एप्समा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सबै जिज्ञासाको समाधान छ,’ उनले भने– ‘यसको सही प्रयोगले किशोरकिशोरी र युवाले धेरै फाइदा लिन सक्छन् ।’

मोबाइल एप्सले किशोरकिशोरीको यौन जिज्ञासा मेटाउने हुँदा लैङ्गिक हिंसा र यौन हिंसामा समेत कम हुने विश्वास उनले व्यक्त गरे । किशोरावस्थामा हुने विभिन्न परिवर्तनसँगै यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी विभिन्न चासो, चिन्ता र समस्या आउने भएकाले यसको समाधानका लागि यो एप्सले सहयोग गर्ने वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक कुञ्जप्रसाद जोशीले बताए ।

‘अधिकांश युवाले किताब, पत्रपत्रिका, वेबसाइट तथा विभिन्न स्रोतबाट लुकिछिपी यौनसम्बन्धी विषय हेर्ने–पढ्ने गर्छन्, ती सबै सही नहुन सक्छन्, त्यसको सही जानकारीका लागि यो एप्स तयार पारिएको हो,’ उनले भने– ‘यो किशोरकिशोरीमैत्री र युवामैत्री छ ।’

मोबाइल एप्समा मिथक तथा तथ्य कुरा, सूचना तथा जानकारी, महिनावारी पात्रो, माया, प्रेम, यौन सम्बन्ध, विवाह, गर्भावस्था, गर्भपतन, क्लिनिक खोज र हेल्पलाइनको व्यवस्था रहेको जानकारी संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका सञ्चार संयोजक सन्तोष क्षेत्रीले दिएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर