वर्तमान युवापुस्ताको ठूलो हिस्सामा हाम्रो मौलिकताप्रतिको मोह क्रमिक रुपले घट्दै गइरहेको छ । आधुनिक हुने नाममा हाम्रा कतिपय राम्रा मौलिक परम्पराहरु, संस्कृति, लोकसाहित्य, लोकसंगीत, लोकबाजाहरु, लोप हुने अवस्थामा पुगिरहेका छन् । जन्मोत्सवको सट्टामा ‘बर्थ डे’ हाम्रो ‘संस्कृति’ नै बनिसक्यो । पञ्चेबाजालाई विस्थापित गर्दै ‘ब्यान्ड बाजा’ स्थापित भैरहेको छ । हाम्रो खाजामा आजकल भुटेको मकै र रोटीको स्थान पनि चाउचाउ, बिस्कुट र यस्तै–यस्तै ‘तयारी र हल्का खाजा’ भनिने ‘जङ्क–फुड’ ले लिइरहेको छ ।
पूर्वीय संस्कृतिको गुरुकुलीय शिक्षा पद्धति त उहिल्यै हराइसकेको हो । योगलाई योगा बनाइएको छ । हाम्रा मौलिक संस्कृतिहरु बिर्सिइएका छन्, टोल–टोलमा ‘क्याफे कल्चर’ मौलाइरहेको छ । रोधीघरहरु भत्किसकेका छन् र धमाधम ‘डिस्को’ र ‘डान्स क्लब’ हरु खुलिरहेका छन् । अहिलेको नयाँ पुस्ता त्यसैमा रमाइरहेको छ त्यसैकारण आउँदो पुस्ताले त यसैलाई आफ्नो संस्कृति मानेर थप परसंस्कृति ग्रहण गर्ने कुरा स्वाभाविक हुँदैछ ।
हामीले आफ्ना सबैजसो मौलिकपनहरु त्याग्दै गैरहेका छौं । सहरहरु कंक्रिटको जङ्गल बनिसकेका छन् । गाउँहरु पनि धमाधम त्यस्तै हुने तरखरमा छन् । हाम्रो सोचाइ, लवाइ–खुवाइ, भाषा, धर्म–संस्कृति सबै नै बिस्तारै परिवर्तित हुँदै गइरहेका छन् । यही क्रम जारी रहने हो भने हाम्रो मौलिक पहिचान र अस्तित्व सकिन अब धेरै समय लाग्दैन ।
वास्तवमा समाजको प्रकृति नै परिवर्तनशील हुन्छ । खराब र नराम्रा कुराहरुलाई छाड्दै, राम्रा र असल कुराहरुलाई ग्रहण गर्दै परिष्कृत एवं परिमार्जित हुँदै अगाडि बढ्नु समाजको प्रकृति हो । तर, हामी आधुनिकीकरणका नाममा पश्चिमीकरणको प्रभावमा बहकिँदै छौं । हामीले हाम्रा राम्रा पक्ष तथा मौलिकतासहित आफ्ना ज्ञानहरुलाई पुनर्ताजगीकरण गर्न सकिरहेका छैनौं । आफ्ना ज्ञानहरुलाई समय सुहाउँदो रुपमा व्यावहारिक बनाउन सकेनौं, बरु पश्चिमीकरणलाई नै अन्धो रुपमा अनुशरण गरिरह्यौं ।
अहिलेको पश्चिमी समाजले पनि प्राचीन पश्चिमी समाजका गुणहरुको हुबहु अनुशरण गरेको होइन । पश्चिमी समाजहरु पनि विभिन्न कालखण्ड (पुनर्जागरण, औद्योगिक क्रान्ति, सूचना–प्रविधि क्रान्ति आदि) हुँदै अहिलेको आधुनिक पुँजीवादी र विश्वव्यापीकरणको चरणमा आएका हुन् । पहिलेका पश्चिमी समाजहरु पूर्वीय समाजभन्दा निकै परम्परागत थिए र अझ बढी अन्धविश्वासमा अल्झेका थिए । विभिन्न कालखण्ड पार हुँदै ती समाजहरु क्रमशः परिष्कृत र परिमार्जित भएर आधुनिकतातर्फ अघि बढे । अहिले त्यही आधुनिकीकरण पश्चिमीकृत भएर संसारभर फैलियो । उतैबाट विकसित भएको उत्तरआधुनिकताले अन्य समाजका धेरै कुराहरुलाई स्वीकार गर्यो तर भूमण्डलीकरणले बाँकी अस्तित्वलाई फेरि ध्वस्त पार्दैछ । उत्तर कोरियाजस्तो बन्द समाज पनि पाश्चात्य जीवनशैली र भाषा–भेषबाट अछुतो रहन सकेको छैन ।
विकास र परिवर्तनका नाममा हामीले आधुनिकता भित्र्यायौं भन्यौं तर आधुनिकीकरण पश्चिमीकृत भएर भित्रियो । खासमा हाम्रा लागि पश्चिमीकरण विकास वा परिवर्तन थिएन । बरु त्यो त भद्दा र कुरुप कुसंस्कृति लादिनु अनि राष्ट्रिय अस्मिता र स्वाधिनता खतरामा पर्नु चाहिँ थियो ।
आधुनिक हुने नाममा हाम्रो समाजको पश्चिमीकरण भइरहेको छ । पश्चिमीकरण आधुनिकीकरण होइन । नेपाली समाज व्यापक रुपमा आधुनिकतातर्फ उन्मूख भइरहेको छ, त्यो राम्रो हो । तर, विडम्बना ! यहाँ पश्चिमीकरणलाई नै आधुनिकता भन्ने भ्रम पर्न थालेको छ । आधुनिकताले समाजलाई उन्नत, सुसंस्कृत र सभ्य तुल्याउँछ अनि पुनर्ताजगी गराउँछ । तर, पश्चिमीकरणले हाम्रा मौलिक मान्यता र आदर्शलाई ध्वस्त पार्छ । आधुनिकता र पश्चिमीकरणबीच एउटा नजानिँदो सीमारेखा हुन्छ र त्यसको भेद खुट्याउन नसक्दा मौलिकता लोप हुँदै जाने र बेपरबाह पश्चिमी प्रभाव बढ्ने सम्भावना प्रबल हुन्छ ।
उन्नाईसौं शताब्दीमा घाम कहिल्यै नअस्ताउने गरी ब्रिटिस साम्राज्य विश्वका धेरै भू–भागमा फैलिएकाले अङ्ग्रेजी भाषा नै विश्वको माध्यम भाषा बन्यो । साथसाथै; इतिहास, बौद्धिक एवं प्राज्ञिक अध्ययनको शैली र दृष्ट्रिकोण पनि उतैबाट आयो । सङ्ग्रह एवं अभिलेखमा पनि उतैको प्रभाव देखियो । भाषासँगसँगै जोडिएर सभ्यता, संस्कार, संस्कृति र धर्म पनि आयात हुन थाल्यो । वास्तवमा यही नै हो पश्चिमीकरण ।
विकास र परिवर्तनका नाममा हामीले आधुनिकता भित्र्यायौं भन्यौं तर आधुनिकीकरण पश्चिमीकृत भएर भित्रियो । खासमा हाम्रा लागि पश्चिमीकरण विकास वा परिवर्तन थिएन । बरु त्यो त भद्दा र कुरुप कुसंस्कृति लादिनु अनि राष्ट्रिय अस्मिता र स्वाधिनता खतरामा पर्नु चाहिँ थियो ।
हामीले आफ्नो मौलिकतालाई समयसापेक्ष पुनर्ताजगी गराउन सकेनौं । हाम्रो यही कमजोरीको आडमा पश्चिमीकरणले धक्का दियो । त्यसैले हामी आज हरेक कुरामा उतैको भर पर्नु परेको छ । भाषा, धर्म, जात, संस्कृतिलगायत हरेक क्षेत्रको खोज–अनुसन्धान पाश्चात्य ‘विद्धान्’ हरुकै भरमा छ । पाश्चात्य ‘विद्धान्’ हरुले हाम्रा हरेक क्षेत्रको अध्ययन गरेर आफूअनुकूल स्थापित गरेको मानकलाई हामीले नै हामीले अन्धो बनेर पछ्याइरहेका छौं । हाम्रा नीति–नियम, संविधान–कानुन, रणनीति–कार्यनीति आदि समेत पश्चिमी दर्शन तथा सिद्धान्तबाट प्रभावित छन् । पृथ्वीनारायण शाहको शासनकालपछि हरेक राजनीतिक र सामाजिक आन्दोलनहरु पनि पश्चिमीकरणबाट धेरथोर प्रभावित छन् । र, हाम्रो अधिकार माग्ने विधि समेत पश्चिमीकृत भैसकेको छ ।
राज्य र समाजका हरेक पक्ष तथा गतिविधिमा पश्चिमी प्रभाव बढिरहेको छ । राज्य र समाजले कतिपय कुरामा संस्थागत रुपबाटै पश्चिमीकरणलाई प्रोत्साहन–संस्थागत गरिरहेको छ । जंगबहादुर राणा बेलायत भ्रमण गरी फर्कंदा नेपाली कला–संस्कृति, जनजीवन र काननुमा समेत पश्चिमी प्रभाव बोकेर फर्केका थिए । त्यही समयदेखि नेपालमा घर–भवन र मठ–मन्दिर निर्माणमा अन्धाधुन्ध पश्चिमीकरण सुरु भयो । त्यही समयदेखि नै नेपालमा रोम शैली भित्रियो । त्यही समयदेखि निर्माणकलामा हाम्रो मौलिकता मासिन थाल्यो । वि.सं. १९९० को भुइँचालोपछि भत्किएका पुरातात्त्विक सम्पदाहरु कतिपय पश्चिमी शैलीमा पुनर्निर्माण भए । त्यसैगरी, वि.सं. २०७२ को भुइँचालोपछि सुरु भएको पुनर्निर्माणमा त हाम्रो मौलिक निर्माणको परम्परा मासेर पश्चिमी निर्माणको परम्परालाई संस्थागत रुपमै अझ बढी अंगिकार गरिएको छ ।
धेरैलाई लाग्दो होे– युरोप र अमेरिकामा बस्ने मानिसका वेषभूषा, खानपान, मनाउने चाडपर्व, अंगिकार गर्ने धर्म–संस्कृति, उन्नत, परिस्कृत र सभ्य होला । होला पनि, तर प्रश्न अरू भूगोल, इतिहास र सभ्यता भएकाहरूका लागि यो किञ्चित पनि मार्गनिर्देशन होइन, हुनु हुँदैन । उनीहरूको सभ्यता पश्चिमी हो न कि आधुनिक । आधुनिकताको मुहान जुनसुकै भुगोल, इतिहास र संस्कृति हुन सक्छ ।
पूर्वीय संस्कृति, दर्शन र साहित्यको इतिहास पनि गौरवपूर्ण थियो । आजभन्दा करिब पाँच हजार वर्ष अघिको आसपासमा रचना गरिएका पूर्वीय साहित्यका पौराणिक ग्रन्थहरुमा कल्पना गरिएका अधिकांश कुराहरुलाई पश्चिमा विद्धानहरुले अनुसन्धान गरेर व्यावहारिकता प्रदान गरिरहेका छन् । भनिन्छ, महाभारतमा कल्पना गरिएका कतिपय घटनाहरु त अझै घटित भएकै छैनन् । यस्तो गौरवपूर्ण मौलिक इतिहास र संस्कृतिलाई हामीले समयसापेक्ष व्यावहारिकता प्रदान गर्न सकेनौं । चरणवद्ध रुपमा पश्चिमीकरणको प्रभावमा हामीले आफ्नै मौलिक सांस्कृतिक इतिहास र धरातललाई कमजोर ठान्यौं । सबै संस्कार र संस्कृतिहरु खराब थिएनन् होला तर हामीले तिनलाई जोगाउनै चाहेनौं । बुझ्नुपर्ने कुरा के थियो भने मौलिक संस्कारलाई मूल्य–मान्यता र श्रद्धाअनुरुप निरन्तरता दिए मात्र संस्कृति जगेर्ना हुने हो ।
पश्चिमीकरणलाई सबै हिसाबले खराब भन्न खोजिएको होइन । संस्कृति र मान्यतामा ह्रास आउन नदिन हामीले आफ्ना क्रियाकलापमा सचेत भएर सांस्कृतिक लेनदेनको प्रक्रियाबाट केही संस्कृतिलाई परिष्कृत गरेर आफ्नो संस्कृतिलाई वैभवशाली बनाउन सक्नु पर्थ्यो । तर, जसरी र जताबाट भए पनि सिक्नु नै त हो भन्दै परसंस्कृति ग्रहण गर्दै अनि आफ्नो संस्कृति त्याग्दैै जाँदा हामीले आफ्नो मौलिकता चाहिँ के हो भनेर केमा गर्व गर्ने ? हाम्रा पूर्खाहरुको योगदानबाट हजारौं वर्ष लगाएर स्थापित गरिएको सांस्कृतिक इतिहासलाई कुन रुपमा सम्झने ?
जीवनमा जीवन्तता त्यतिबेला मात्र आउन सम्भव छ जब हामी आफ्नो भाषा एवं संस्कृतिप्रति जागरुक हुन्छौं । भाषा र संस्कृतिविना हामीले जतिसुकै भौतिक प्रगति गरे पनि समग्रतामा त्यसबाट कुनै लाभ हुँदैन । भाषा र संस्कृति तब मात्र रहन्छ जब त्यो हाम्रो परिवेश हुन्छ । आफसोच ! हामी आफ्नो जरोलाई नै छाडिरहेका छौं । भाषा नै हाम्रो संस्कृति एवं संस्कारको प्रतीक हो । त्यसैले भाषा, धर्म, संस्कृति र यिनको समष्टिगत गौरवपूर्ण इतिहास तथा मौलिक मान्यतामा ह्रास आउन नदिन हामी आफ्ना हरेक क्रियाकलापमा सचेत हुनैपर्छ ।