newskoseli.Com

‘पिँढीमा बसेर मेरै बाटो हेरेर’… : रहेनन् चर्चित लोकगायक बुद्धिकृष्ण

‘पिँढीमा बसेर, मेरै बाटो हेरेर
मेरी आमा रुँदी हुन्, मलाई सम्झेर
परदेशी छोरा नआउँदा,
चिठीपत्र नपाउँदा
मनमा विरह चल्दो हो,
आँशुले धोती भिज्दो हो…’

आमाको न्यानो माया र विरहको व्यथा गीतमार्फत पस्केर नेपालीको मन जित्न सफल चर्चित लोकगायक बुद्धिकृष्ण लामिछानेले शुक्रबार आफ्नै आँगनमा देहत्याग गर्दा परिवारको मात्रै नभई भेला भएका अधिकांशको आँखा उसैगरी रसाए ।

आँगनमा लडिरहेको उनको देहलाई हेरेर आँशु पुछ्नेहरु ‘पिँढीमा बसेर मेरै बाटो हेरेर, मेरी आमा रुँदिहुन् मलाई सम्झेर…’ बोलको गीतकै चर्चा गरिरहेका थिए । उनकी छोरी सम्झना भन्छिन्– ‘यो गीतमा जस्तै, प्यारो पिँढीमा झन्डै आधा जीवन बिताउनु भएका बुबाले आज त्यही पिँढी पनि छाडेर जानुभयो ।’

वि.सं. २०१२ साउन १ मा जन्मिई सयभन्दा बढी जीवन्त गीत गाएर नेपाली गीत–सङ्गीतका क्षेत्रमा निकै लोकप्रियता हासिल गरेपछि सात वर्षअघि हृदयाघातका कारण पक्षाघात भएर घरमै थलिएका लामिछानेले ६३ वर्षका उमेरमा शुक्रबार अपराह्न चाँगुनारायण नगपालिका– ७, चारघर चौतारास्थित आफ्नै निवास देहत्याग गरे ।

‘घाँस काट्ने खुर्केर
आयो जोवन हुर्केर
कसलाई दिऊँ यो जोवन…’

विरहका मात्रै होइन, युवा र प्रेमका गीत समेत गाउने यी साधक घरको पिँढीबाट पुराना दिनहरू सम्झिएर टोलाइरहन्थे । उनलाई भेट्न जानेहरुले विरहका गीतको सम्झना गराउँदा उनको आँखाबाट मात्रै होइन, भेट्न जानेहरुको मन पनि कटक्क काटेर तप्प आँशु चुहिन्थ्यो ।

गायिका कोमल वलीसँग लामिछानेले गाएको गीत ‘तिम्रो र मेरो मायाको डोरो बेरौं कि फनफनी…’ मात्र नभई ‘फाटेको दौरा लाएर, खोले सिस्नो खाएर, हात र खुट्टा टेक्दैछु, भारी बोक्दैछु…’ जस्ता उनले गाएका गाउँघरको यथार्थ जीवन बोकेका गीत पनि उत्तिकै चर्चामा आए ।

औषधोपचार गर्ने खर्चको जोहो नहुँदा एकाध संस्था र कलाकर्मीले दिएको थोरै सहयोग बाहेक राज्यबाट कुनै सहयोग नपाएका पीडित लामिछानेले आफ्नै जीवनको यथार्थलाई पनि गीतमार्फत पस्केका थिए ।

‘पर्नु पर्‍यो पिर जेठा,
मलाई पर्‍यो पिर
एउटा थाप्ला दुईटा नाम्लो
ज्यानलाई पर्‍यो पिर…’

दुईटी श्रीमती ल्याउँदा कान्छीले दिएको दुःखलाई सम्झेर गाएको यो गीतलाई यथार्थपरक ढङ्गले गाउने गायक लामिछानेको पार्थिव शरीरलाई बिदाइ गर्न समेत कान्छी श्रीमती र कान्छी श्रीमतीबाट जन्मिएका एक छोरी नआएको विषयमा समेत वागेश्वरी– ७, महादेव मन्दिर नजिकैको घाटमा उनको देह जलिरहँदा चर्चा चलेको थियो ।

टीकाराम र पद्मकुमारीको कान्छो सन्तानका रूपमा जन्मी सानैमा बुबा गुमाउँदाको पीडा व्यहोरेका लामिछानेले गीत गाएको हेर्ने आमाको चाहना पूरा गर्न रेडियो नेपालमा स्वरपरीक्षा उत्तीर्ण गरेर २०३६ मै रेडियो नेपालमा पहिलो गीत रेकर्ड गराए– ‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर… ।’ यो गीत चर्चित भएसँगै उनी ‘गाई त बाँध्ने पातलो दाम्लो…’, ‘पर्नु पर्‍यो पीर, जेठा मलाई पर्‍यो पीर…’, ‘भयो डामाडोल…’, ‘फाटेको दौरा लाएर, खोले सिस्नु खाएर…’, ‘तिम्रो र मेरो मायाको डोरो, बेरौं कि फनफनी, कान्छी…’ लगायतका गीत गाउँदै गीतियात्रामा अगाडि बढेको उनकी श्रीमती दुर्गादेवीले बताइन् ।

श्रीमतीसँगै दुई छोरा र छ छोरीका पिता लामिछानेको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्न भूकम्पले भत्काएर जीर्ण बनेको उनको घरको पिँढीमा न कोही नेता पुगे न त कुनै सरकारी प्रतिनिधि नै । घाटमा उनको देह जलिरहँदासम्म पनि कलाकर्मी र गायक–गायिका श्रद्धाञ्जलि अर्पण गर्न नआएको देख्दा गाउँबाट जम्मा भएका मलामीहरु स्रष्टाप्रति चरम बेवास्ता भएको गुनासो गरिरहेका थिए । राससबाट

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर