newskoseli.Com

‘प्रलेसले सत्ताको तावेदारी गर्नुहुँदैन’ : प्रगतिशील लेखकहरुको सघन छलफल

प्रगतिशील लेखकहरूले नेपालमा प्रगतिशील लेखक सङ्घको औचित्य, आवश्यकता र महत्त्वमाथि सघन छलफल गर्दै प्रलेसले सत्ताको तावेदारी गर्नु नहुनेमा स्रष्टाहरुले जोड दिएका छन् ।

सङ्घको ११औं राष्ट्रिय सम्मेलन नजिकिँदै गइरहेको सन्दर्भमा प्रगतिशील लेखक सङ्घ ३ नं. प्रादेशिक समितिद्वारा आयोजित कार्यक्रममा प्रलेसको जीवनका बारेमा विभिन्न खाले मत–अभिमत व्यक्त गर्ने कार्यक्रम भएको हो । वि.सं. २००९ मा स्थापित नेपालका वामपन्थी विचारमा आस्थावान् लेखक–साहित्यकारहरूको साझा मञ्च प्रगतिशील लेखक सङ्घको आफैंमा रूपान्तरण आवश्यक रहेको उल्लेख गर्दै वक्ताहरूले सबैतिरका कमी–कमजोरीको भण्डाफोर प्रलेसले गर्न सक्छ कि सक्तैन भनेर प्रश्न उठाए ।

अब प्रगतिशील लेखक सङ्घले ठोस नीतिहरू निर्माण गर्दै यथास्थितिलाई चिरेर अघि बढ्न वक्ताहरूले सुझाए । प्रगतिशील लेखक सङ्घमा आउने मानिसहरूका बारेमा पनि सम्बन्धित पार्टीहरूमा गम्भीर छलफल गरिनुपर्ने कुरामा समेत उनीहरुले जोड दिए । नेपालमा वर्गसंघर्ष अन्त्य नभएको र निरन्तर क्रान्ति आवश्यक रहेको भन्दै यसको औचित्य अझ बढेको कुरामा पनि वक्ताहरूले जोड दिए ।

प्रलेसको एजेन्डालाई राष्ट्रिय एजेन्डा बनाउनुपर्ने कुरामा जोड दिँदै प्रगतिशील लेखक सङ्घले सत्ताको तावेदारी गर्नु नहुने कुरामा सबै वक्ताहरूको जोड थियो । प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्ष मातृका पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न ‘रूपान्तरणका लागि प्रलेस’ विषयक अन्तर्क्रिया कार्यक्रममा कवि–साहित्यकार तथा राजनीतिकर्मी मणि थापा, सांस्कृतिक चिन्तक तथा राजनीतिकर्मी शान्ता मानवी, लेखक, पत्रकार तथा राजनीतिकर्मी गुणराज लोहनी, कवि तथा साहित्यकार बलराम तिमिल्सिना, कवि, साहित्यकार, समालोचक तथा प्रलेसका महासचिव आरएम डंगोललगायतका वक्ताहरूले आ–आफ्ना महत्त्वपूर्ण र सारगर्वित धारणा राखे ।

अनामनगरस्थित संवाद डबलीको सभाकक्षमा आयोजित उक्त कार्यक्रममा प्रलेसका सचिवालय सदस्य आरसी न्यौपानेले स्वागत मन्तव्य राखे भने प्रलेसका सचिव पुन्य गौतामले धन्यवाद ज्ञापन गरे । प्रगतिशील लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष तथा प्रादेशिक इन्चार्ज एवम् संयोजक खेम थपलियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रलेसका केन्द्रीय सदस्य प्रकाश थापा मगरले गरे ।

कार्यक्रममा प्रगतिशील लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष रामप्रकाश पुरी, कोषाध्यक्ष कृष्णहरि भट्टलगायतका केन्द्रीय पदाधिकारी, सचिवालय सदस्यहरू, केन्द्रीय समितिका सदस्यहरू, राष्ट्रिय परिषद्का सदस्यहरू तथा अन्य प्राज्ञिक–बौद्धिक वर्गको सघन उपस्थिति थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर