newskoseli.Com

नेपालमै कारगारभित्रको पहिलो अस्पताल : भवन निर्माण सम्पन्न, दरबन्दी पनि स्वीकृत

ललितपुरस्थित नख्खु कारागारभित्र निर्माणाधीन मनोसामाजिक अस्पताल छिट्टै सञ्चालनमा आउने भएको छ । यो नै कारागारभित्रै खोलिएको नेपालको पहिलो यस प्रकारको अस्पताल हो ।

अस्पतालको भवन निर्माण सम्पन्न भइसकेको र कारागार व्यवस्था विभागले दरबन्दी स्वीकृत गरिसकेकाले वैशाखदेखि सञ्चालनमा आउने कारागार प्रशासनले जनाएको छ । कारागारमा मानसिक रोगी कैदी–बन्दीको संख्या बढिरहँदा २ वर्षदेखि अस्पतालको निर्माण सुरु भएको थियो ।

देशभरका कैदी–बन्दीमा मानसिक समस्या देखिएपछि लगनखेलमा मानसिक अस्पताल भएका कारण ती सबै नख्खु कारागारमा सरुवा भएर आउने गरेको जेलर जीवन दुलालले बर्ता । कारागारमा अहिले १ सय ४० मानसिक रोगी छन् । उनले भने– ‘कारागारमा पुगेपछि यस्तो रोग लागेर औषधि खाइरहेका बिरामी यहाँ आइरहेका छन् ।’

यहाँका तीनै ब्लकमा कारागार प्रशासनले मानसिक रोगीलाई अरु कैदीबन्दीसँग मिसाएर राखेको छ । त्यस्ता रोगी मात्रै एउटै ब्लकमा राख्दा जोखिम हुने भएकाले फरक–फरक ब्लकमा मिसाएर राखिएको जेलर दुलालले बताए । ‘मानसिक रोगी कहिलेकाहीं आवेगमा आउँदा पनि भित्रका अरु कैदी–बन्दीले समालेर राख्नुहुन्छ,’ उनले भने– ‘हामीले मात्रै सबै व्यवस्थापन गर्न सकिन्न ।’

अस्पताल सञ्चालनमा आउन बाँकी भए पनि औषधि खाइरहेका बिरामीलाई यहाँ मनोचिकित्सकले समय–समयमा जाँच गरिरहेका छन् । बिरामीलाई आवश्यकता अनुसार लगनखेलस्थित मानसिक अस्पताल लगिन्छ । अस्पताल बन्नुभन्दा पहिले नै यहाँ मानसिक रोगी कैदीबन्दी धेरै आउने गरेका थिए । अस्पताल बन्न थालेपछि त झन् उपचार हुन्छ भन्दै त्यस्ता धेरै रोगी सरुवा भएर आएका हुन् । जेलर दुलालले भने– ‘अस्पताल पूरै सञ्चालनमा आएपछि यो संख्या अझै बढ्न सक्छ ।’

कारागारको व्यवस्थापन आफैंमा सजिलो काम नभएको उनले बताए । मानसिक रोगी कैदी–बन्दीको व्यवस्थापन झनै गाह्रो छ । त्यस्ता रोगीलाई जोगाउनुपर्छ भने अरु कैदी–बन्दीलाई पनि असर पर्न नदिने कुरामा ध्यान दिनुपर्छ । कतिपय अरुलाई कुटपिट गर्ने, कोही लामो समयसम्म लुक्ने र कतिपय त हाम फालेर वा विष खाएर आत्महत्याको प्रयास समेत गर्छन् । उनले भने– ‘भित्रका नै अरुले चनाखो भएर त्यस्ता रोगीको ख्याल गर्नुपर्ने खाँचो छ ।’

मानसिक रोगीले गरेको जस्तोसुकै कर्म पनि कसुरमुक्त हुने कानुनी व्यवस्था छ । कुनै पनि अपराधमा अदालतले सजाय सुनाएर कारागारमा रहँदा मानसिक रोग लागे ऊ कसुरमुक्त हुँदैन र कारागारले नै उपचारको व्यवस्था गर्छ । देशका धेरै ठाउँमा मानसिक रोग विशेषज्ञ नहुँदा उपचारका लागि धेरैले यहीं सरुवा गर्छन् ।

कारागारले जुनसुकै रोगका बिरामीको पनि सरकारी अस्पतालमै उपचार गर्छ । बिरामी पर्दा उनीहरुलाई रोगअनुसार वीर, गङ्गालाल हृदय रोग केन्द्र वा तिलगङ्गा आँखा अस्पताल लगिन्छ । सरकारी अस्पतालमा ठाउँ नहुँदा गम्भीर खालका बिरामीको उपचारमा समस्या पर्ने गर्छ ।

परिवारसँग टाढा हुँदा कैदी–बन्दीमा मानसिक रोग लाग्ने कारागारमा कार्यरत स्वास्थ्य सहायक नानीमैयाँ दाहाल बताउँछिन् । धेरैमा उदासिनता हुने समस्या देखिएकाले नियमित रुपमा औषधि खाइरहेका छन् । उनले भनिन्– ‘एक त बाहिरको संसार छाडेर यहाँ आएको हुन्छ, त्यसमा पनि कतिपयका परिवारले बेवास्ता गर्दा उनीहरुमा चिन्ता हुन्छ र चिन्ताले मानसिक रोग लाग्छ ।’

नख्खु कारागारमा १ हजारभन्दा बढी कैदी–बन्दी छन् । यस कारागारमा नयाँ भवन बन्न लागेको र अस्पताल समेत चल्ने सुरसार भएका कारण यहाँ कैदी–बन्दीको संख्या बढिरहेको छ । सहरी क्षेत्रको भीडभाडभन्दा टाढाको यो कारागार झन्डै ४७ रोपनी क्षेत्रफलमा फैलिएको छ । मनोसामाजिक अस्पतालका लागि कारागार व्यवस्थापन कार्यविधि, २०७३ ले एक जना वरिष्ठ मनोरोग विशेषज्ञसहित १२ कर्मचारीको दरबन्दी व्यवस्था गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर