newskoseli.Com

सुन्तला बोटबाटै धमाधम बिक्री : किसानहरू मख्ख !

बारीभरि लटरम्म फलेका सुन्तला नै यहाँका किसानको मुख्य आयस्रोत हो । कोदो फल्ने बारी र धान फल्ने खेत मासेर किसानले सुन्तलाको बगान बनाएका छन् ।

बागलुङ नगरपालिका– ८, सिगानाका किसानलाई यतिबेला सुन्तला बेच्न भ्याइनभ्याई छ । सुन्तला बिक्री गर्न किसान हतारमा छन् । समयमै सुन्तला नटिपे नयाँ फूल नफुल्ने र अर्को वर्ष उत्पादनमा कमी आउने किसानलाई चिन्ता छ । सिगानाको सुन्तला खरिद गर्न व्यापारीलाई पनि उत्तिकै हतार छ । सुन्तला खरिदका लागि उनीहरुबीच हानाथाप हुने गरेको छ ।

व्यापारी बगानमै पुगेर मोलमोलाइ गर्न थालेका छन् । पोखरा, चितवनदेखि बागलुङ र म्याग्दीसम्मका व्यापारी सुन्तला खरिद गर्न आउन थालेको बागलुङ नगरपालिका– ८, सिगानाका वडाध्यक्ष राजन जीसीले बताए । ‘सुन्तला खरिद गर्न व्यापारी दैनिक नै आउन थालेका छन्,’ उनले भने– ‘उचित मूल्य दिनेहरूलाई किसानले बगान नै ठेक्कामा दिन थालेका छन् ।’

सिगानामा साना–ठूला गरी ७० बगान छन् । बजारसम्म पुर्‍याउँदा दोब्बर फाइदा लिन सकिने भएकाले व्यापारी यहाँको सुन्तलाप्रति आकर्षित भएको जीसीले बताए । बगानमै ठेक्का लिँदा प्रतिकिलो ४० देखि ५० रूपैयाँसम्ममा सुन्तला बिक्री भइरहेको छ । बजारमा प्रतिकिलो १०० रूपैयाँभन्दा बढीमा बिक्री हुने गरेको छ ।

डोके व्यापारीले समेत बगानबाट प्रतिकिलो ५० रूपैयाँमा उठाएको सुन्तला बजारमा १०० रूपैयाँका दरले बिक्री गर्ने गरेका छन् । सुन्तला बिक्रीबाट गत वर्ष झन्डै १ करोड रूपैयाँ गाउँमा भित्रिएको थियो । यसपालि सुन्तला गत वर्षभन्दा कम फलेको कृषक अनन्त खड्काले बताए ।

व्यापारी बगानमै आउन थालेपछि किसान उत्साहित बनेका छन् । ‘व्यवसायीले बगानबाटै सुन्तला उठाउँदा टिप्ने, स्तरीकरण गर्ने र बिक्रीका लागि ढुवानी गर्ने झन्झट कम हुन्छ’– खड्काले भनेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर