newskoseli.Com

गिट्टी कुटेर गुजारा चलाउँदै दृष्टिविहीन : के हेरिरहेछन् सरकार र एनजीओ ?

बेनी नगरपालिका– २, ज्यामरुककोट, फापरखेतका दुवै आँखा नदेख्ने आइतबहादुर दर्जीको हातमा सधैं एउटा लट्ठी र हथौडा हुन्छ ।

दृष्टिविहीन दर्जी पाँच वर्षदेखि एकाबिहानै एउटा हातले लट्ठी टेकेर र अर्को हातले हथौडा बोकेर घरबाट निस्कन्छन् । गाउँमा निर्माण हुने विद्यालय भवन र व्यक्तिगत घरका लागि गिट्टी कुटेर गुजारा चलाउनु उनको बाध्यता बनेको छ । दैनिकजसो बिहानै ज्याला–मजदुरी गर्न जाने दर्जी दृष्टिविहीन भए पनि परिवारमा उनको जिम्मेवारी ठूलो छ । आर्थिक अवस्था कमजोर भएका दर्जीले भकुन्डेको अर्जुन माविमा निर्माणाधीन भवनका लागि गिट्टी कुट्ने गरिरहेका छन् ।

फापरखेतमा सार्वजनिक जग्गामा बसिरहेका दर्जी गत साल पत्रकार हरिकृष्ण गौतमको अगुवाइमा करिव १ लाख ५० हजार रूपैयाँ आर्थिक सहयोग जुटेपछि जस्तापाताले छाएको घर बनाएर बसेका छन् भने ५० हजारमा अरुको खेत बन्धकीमा पनि लिएका छन् ।

दैनिक घरखर्च चलाउनका साथै छोराको पढाइ खर्च जुटाउन गिट्टी कुट्ने गरेको दर्जीले बताए । दर्जीका दुई छोरा र श्रीमती छन् । जेठा छोरा गाउँकै अर्जुन माविमा कक्षा १२ उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि आर्थिक अभाव भएकाले वैदेशिक रोजगारीमा जाने तर्खरमा छन् भने कान्छा छोराले पनि राम्रोसँग आँखा देख्दैनन् । कान्छा छोरा अनिल ७ कक्षामा पढ्छन् ।

“मैले दुवै आँखा देख्दिनँ, मेरो कमाइले घरमा चुलो बल्छ”– दर्जीले भने । दर्जीले आफ्नो सहारा भनेकै एउटा लट्ठी र हथौडा भएको बताए । सहाराका रूपमा रहेको लौरोभन्दा प्यारो गिट्टी कुट्नका लागि आवश्यक पर्ने हथौडा आफ्नो लागि महत्वपूर्ण रहेको दर्जीको भनाइ छ ।

दर्जी परिवार गाउँकै सबैभन्दा कमजोर परिवारको रूपमा रहेको स्थानीय समाजसेवी भीमबहादुर पौडेलले बताए । छोरालाई लत्ताकपडा, कपीकलमसहित खाजा खर्च जुटाउनसमेत मुस्किल छ । “सकिनसकी दैनिक ३ सय रूपैयाँ जति कमाइ हुन्छ । बिरामी हुँदा आफ्नो शरीरभन्दा छोराहरूको चिन्ता लाग्छ” दर्जीले भने । दर्जीले पैसाको अभावमा कहिलेकाहीँ एकछाक खाने गरेको बताए ।

“पत्रकार हरिकृष्ण गौतम मेरो जीवनमा भगवान् नै बनेर आए,” अर्जुन माविको चौरमा गिट्टी कुट्दै गरेका दर्जीले भने– “उनकै आग्रहमा देश विदेशमा रहेका व्यक्तिले मलाई सहयोग गरे र त्यसैको भरमा जस्ताले छाएको घरमा बस्न पाएको छु ।” “दर्जीको अवस्था अत्यन्त टिठलाग्दो थियो,” पत्रकार गौतमले भने– “उनको दयनीय अवस्था देखेर मैले सहयोग जुटाएको हुँ ।”

अपाङ्गताको क्षेत्रमा काम गर्ने धेरै सङ्घसंस्था भए पनि आफ्नो घरमा सानो सहयोगसमेत नगरेको दर्जीको गुनासो छ । “गरीबको घरमा त सहयोग गर्ने सङ्घसंस्था पनि आउँदैनन्, कमाइ गर्न पनि सकिँदैन”– उनले भने । श्रीमती बिरामी हुने समस्याले समेत नियमित मजदुरीमा जान समस्या हुने गरेको दर्जीको भनाइ छ । दर्जीले मनकारी व्यक्तिसँग सहयोगको आग्रह गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर