newskoseli.Com

‘अटो चालक’ बने सत्ताधारी पार्टीनिकट विद्यार्थी नेता !

केही दशक यता राजनीतिकर्म ‘सेवा’ नभएर ‘व्यवसाय’ बनिरहेको यथार्थता सबैका आँखा अगाडि छर्लंगै छ ।

नेपालका प्रायः सबैजसो राजनीतिक दलहरुमा श्रम गर्न र उत्पादनमूलक काम गर्न जाँगर नलाग्ने, पढाइमा असफल हुने, व्यापार–व्यवसायमा डुब्ने, जीवनोपयोगी सिप–दक्षता हासिल गर्न नसक्ने र विदेश पुगिसकेर पनि सामान्य कामदार बन्न समेत अयोग्य भएर फर्कने ‘लफंगा’ हरुको चर्को बोलवाला बढिरहेको छ । त्यसैगरी, नेपाली राजनीतिक दलहरुमा नेता एवं विभिन्न शक्तिकेन्द्रहरुको चाकडी–चाप्लुसी गरेकै भरमा अनि समकालीन–समवयी नेता–कार्यकर्ताहरुविरुद्ध चुक्ली, दादागिरी र खुराफात गरेकै भरमा ‘नेता’ बनेकाहरुको जगजगी छ ।

अहिले जताततै ‘वामपन्थी’ नेतृत्वको दुईतिहाई बहुमतको सरकारबारे चर्चा–परिचर्चा छ । विगतका सबै सत्ताधारी नेता–कार्यकर्ता झैं यो सरकारको सञ्चालक रहेको पार्टीका अधिकांश नेता–कार्यकर्ता पनि भुइँमा पोखिएको चिनीको वरिपरी कमिला झुम्मिए झैं सत्ताको वरिपरी झुम्मिएर दलाली, कमिसन, ‘सेटिङ’ र भ्रष्टाचारका माध्यमबाट आफू र आफ्नो परिवारजनलाई ‘सस्टेन’ गराउने प्रयासमा तल्लिन देखिन थालेका छन् ।

तर, केही इमानदार, प्रतिभाशाली र कर्मठ नेता–कार्यकर्ताहरुले भने राजनीतिक दलहरुको ‘फुस्किएको धोती’ अड्याइदिएर ‘लाज’ ढाकिदिने प्रयास गरेको पनि देख्न पाइन्छ । यस्तै सकारात्मकताको एउटा उदाहरण बनेका छन् वर्तमान सत्ताधारी पार्टी– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माणको एउटा पक्ष, पूर्व नेकपा (माओवादी केन्द्र) सम्बद्ध प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय सदस्य खेम रणपहेली ।

उनी ‘शक्तिशाली’ हरुको निकै नजिक भएर पनि आफ्नो जीवन, परिवार र सांगठनिक काममा खट्दाको खर्च जुटाउन दलाली, कमिसनखोरी र भ्रष्टाचारको बाटोमा लागेनन्, बरु लागे मजदुरीतिर । उनी आफूलाई आर्थिक रुपले टिकाएर राजनीतिमा जम्नका निम्ति अटोरिक्सा (टेम्पो) चलाउन थालेको तस्बिर उनका केन्द्रीय सचिव नरेश रेग्मीले सामाजिक सञ्जाल ‘फेसबुक’ मा पोस्ट गरेका छन् ।

यो तस्बिर र खबर ‘शेयर’ गर्ने क्रान्तिकारीका केन्द्रीय सचिव नरेश पनि उही कोटीका उदाहरणीय विद्यार्थी नेता हुन् । त्रिभुवन विश्वविद्यालयमा आफ्नो विषयका टपर बनेका नरेश फुर्सदको समयमा मोबाइल मर्मत गर्छन्, साथीहरुलाई तालिम दिन्छन्, ट्युसन पढाउँछन् र तिनै कामबाट आर्जित रकमले जीवन धानेर राजनीति गर्छन् । यिनका लागि पनि दलाली, कमिसन, घुसखोरी र भ्रष्टाचार त्याज्य छन्, तुच्छ छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर