newskoseli.Com

३ सय ६० भैंसीले पाए ‘सुत्केरी भत्ता’, पाडा–पाडीको ‘जन्मदर्ता’ सुरु !

पनौती नगरपालिकाले आफ्नो क्षेत्रका ३ सय ६० वटा भैंसीलाई ‘सुत्केरी भत्ता’ वितरण गरेको छ ।

नगरपालिकाले चालू आर्थिक वर्षदेखि ‘सुत्केरी भत्ता’ स्वरुप प्रतिभैंसी ५ हजार रूपैयाँ दिएको हो । कार्यालयले भैंसीबाट जन्मिएका पाडा वा पाडीको जन्मदर्ता समेत गरिरहेको छ ।

भत्ता दिन कतिपय सुत्केरी भैंसीका गोठमा नगरप्रमुख भीम न्यौपाने आफैं पुग्ने गरेका छन् । उनी भन्छन्– ‘यस वर्ष भैंसी संरक्षण अभियान अन्तर्गत कृषकलाई व्यावसायिक भैंसीपालनतर्फ आकर्षित गरी आत्मनिर्भर बनाउन हामीले यसो गरेका हौं ।’ उनका अनुसार कृषकले भैंसीको ‘सुत्केरी भत्ता’ लिन अनिवार्य रूपमा बीमा गरेको हुनुपर्छ ।

‘जन्मदर्ता’ भएका पाडीको स्याहार गरी सोही पाडी ‘सुत्केरी’ भएपछि पालनपोषणस्वरूप कृषकले २० हजार रुपैयाँ भत्ता पाउने तथा पहिलो बेतमा ब्याएका भैंसीलाई ५ हजार र दोस्रो बेतदेखि २ हजारका दरले भत्ता दिने नीति नगरपालिकाले बनाएको छ ।

कृषकले आफ्नो घरमा पालेको ‘सुत्केरी’ भैंसी र त्यसबाट जन्मिएको पाडा वा पाडीको फोटोसहित वडा कार्यालयको सिफारिस र नागरिकताको प्रतिलिपि पेस गरेपछि नगरपालिका कार्यालयबाट भत्ता रकम उपलब्ध गराइनेछ ।

नगरले चालू आ.व. मा १२ लाख रकम छुट्याएर ‘सुत्केरी’ भैंसीभत्ता वितरण थालेको नगरप्रमुख न्यौपानेले बताए । उनले भने– ‘व्यावसायिक कृषि र पशुपालनलाई प्राथमिकतामा राखी युवा तथा कृषकलाई अनुदान र प्रोत्साहन भत्ता दिएर स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न हामीले यो अभियान थालेका हौं ।’

नगरपालिकाले ‘सुत्केरी भत्ता’ र अनुदान दिन थालेपछि आफूले अर्को एउटा भैंसी थप्ने योजना बनाएको वडा– १२ की भावना थापाले बताइन् । उनले भनिन्– ‘घरमा दुईव टा छन्, अब एउटा थप्छु, अब भैंसीले पाडो हैन पाडी पाओस् भन्ने चाहना छ ।’ चालू आ.व. को साउनदेखि हालसम्म ‘सुत्केरी भत्ता’ का लागि भन्दै १ सय ७ वटा माग फारम भरिएको नगरका पशु चिकित्सक मणिप्रसाद सापकोटाले बताए ।

यीमध्ये ५५ वटा पहिलो बेतका सुत्केरी भैंसीका फारम हुन् । उनी भन्छन्– ‘भैंसी सुत्केरी भएपछि कृषकले जानकारी दिनुहुन्छ, हामी वडाका जनप्रतिनिधिको रोहवरमा पाडा वा पाडीको जन्मदर्ता गर्छौं ।’ उनका अनुसार चालू आ.व. को हालसम्म ८ लाख रुपैयाँ ‘सुत्केरी भत्ता’ वितरण गरिएको छ ।

सापकोटाका अनुसार नगरमा हाल ४ हजार ६ सय ४७ भैंसी छन् । नगरले ३ वर्षमा १० हजारभन्दा बढी भैंसी पुर्‍याउने लक्ष्य राखेको छ । नगरभित्र दैनिक ९० हजार लिटर दूध उत्पादन हुँदै आएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर