newskoseli.Com

सफलताको कथा : एउटै ठेलाको कमाइ महिनाको एक लाख !

ठेलामा व्यापार गरेर महिनामा १ लाख रुपैयाँसम्म कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् नवलपरासी घर भई हेटौंडामा ठेला किचेन चलाएर बसेका ३५ वर्षीय युवराज नेपाल ।

वैदशिक रोजगारीको सिलसिलामा मलेशियामा थुप्रै हन्डर खाएर फर्किएका युवराजलाई चितवनमा कुखुरा फार्मले पनि डुबायो । फेरि दुबई गएका उनलाई एक वर्षको बसाइले फेरि कहिल्यै विदेश नजाने गरी नेपाल फर्काइदियो । तर, आज उनी २० हजार रुपैयाँभन्दा कम लगानीमै हेटौंडामा दैनिक ३–४ हजार रुपैयाँ त मुनाफा मात्रै गरिरहेका छन् । उनी भन्छन्– ‘पहिल्यैदेखि विदेश–सिदेश नगएर यस्तै काम गरेको भए अहिले हेटौंडामा पाँचतले घर बनाइसक्या हुन्थें ।’

उनको ठेला वरपर केराका परिकार सहित चटपटे, पकौडा, आलुचप, भेज मःमः लगायतका परिकारहरु खाने ग्राहकहरुको घुइँचो लाग्छ । साइँला दाइको नामले परिचित हँसिला युवराजको वास्तविक कथा भने निकै नै उतारचढावपूर्ण छ ।

नवलपरासीमा जन्मिएका युवराजले विदेश गएर टन्न पैसा कमाउने सपना देखे । ऋणपान गरेर मलेसिया उडे । भुइँ कहिल्यै नछोडेका उनले बोइङ चड्दा भुइँ मात्रै छाडेनन् देश, आमा, बाबा, आफन्त, साथीभाइ, स्नातकसम्मको अध्ययन सबै छाडे ।

पैसा कमाउन ती सब कुरा त्याग्नु नै पर्ने थियो । धेरै नेपालीहरुले त्यागेकै थिए । हवाइजहाज चड्नु अघिसम्म पनि उनलाई विदेश गएर आएका नेपालीहरुको सुकिलोमुकिलो दैनिकीले लोभ्यार्इ नै रहेको थियो, विदेशमा बगाएको पसिनाको गन्ध अत्तरले पुरिएकै किन नहोस् । युवराजका अनुसार हवाइजहाज गुड्न थालेदेखि नै अनौठो डर, देश छोड्नुपर्दाको ग्लानि अनि केले हो, केले थिचेको जस्तो निस्सासिएको जस्तो अनुभूति भएको थियो ।

‘कसम, सानोमा दाजुभाइ सिरकले थिची खेल्थ्यौं, त्यतिखेर अलि धेरैबेर सिरकले थिचिँदा जस्तो उकुसमुकुस हुन्थ्यो, मलाई त्यस्तै भयो’– उनले विगत सम्झँदै आफ्नै लवजमा भने । तर, पैसा कमाउने र धनी मान्छे बन्ने सपना विपनाभन्दा धेरै गुणा चहकिलो बनेर आँखामा बसेपछि युवराजलाई तीन वर्ष मलेशिया बस्न उकुसमुकुसले छेकेन । केही पैसा कमाए पनि तर त्यो पैसा पर्याप्त थिएन र कम पनि थिएन । युवराज भन्छन्– ‘रातदिन अर्काको देशमा डर–चिन्ताबीच जोतिँदा मनग्ये आम्दानी गरे पनि परिवारसँगै हुन नपाउँदा साह्रै गाह्रो हुने रहेछ । त्यही भएर मलाई पनि आफ्नै देशमा आउन मन लाग्यो ।’

त्यसो त तीन वर्षको अवधिमा एक पटक पनि नेपाल नफर्केका युवराजले विदेशमै हुँदा पिता गुमाए । जन्मदाताको काजक्रिया गर्न समेत नेपाल फर्कन खोज्दा कम्पनीले दिएन । ‘पसिना मात्र हैन दाइ, मैले धेरै गाग्री आँशु पनि बगाएको छु विदेशमा’– भावुक हुँदै युवराजले भने ।

उनी नेपालमै केही गर्ने सोचसहित नेपाल फर्के । त्यसो त विदेशमै हुँदा उनलाई नेपालमै गर्न सकिने थुप्रै कामहरुको ‘आइडिया’ नफुरेको होइन । तर, के चाहिँ गर्ने– निर्क्योल भने हुन सकेको थिएन । यसबीचमा चितवनकी निरु चिमरियासँग उनको विवाह भयो । एक्ला युवराजसँग अब सहयात्री थपिएपछि नेपालमै बसेर कुखुरापालन गर्ने योजना बन्यो ।

नवलपरासीका युवराज कुुखुरा पाल्ने योजनासहित चितवनमा बसाइँ सरे । चितवनमै खोर बन्यो । कुखुराका चल्ला पनि हालियो । चल्ला बढ्दै गए । चल्लाहरु कुखुरामा परिणत भए । बेच्ने बेला पनि भयो । तर, बेच्ने बेलाका कुखुरा भटाभट मर्न थाले । युवराजलाई ‘तावाबाट उफ्रेको माछा भुङ्ग्रोमा’ भने झैं भयो । मलेशियामा कमाएको अलिअलि रकम पनि यसले डुबायो ।

परदेशप्रतिको वितृष्णा कुखुरापालनको घाटाले कता हरायो कता ! उनी २०६९ मा फेरि दुबईका लागि उडे । यो उनको दोस्रो वैदेशिक यात्रा थियो । उनका अनुसार दुबई पनि ‘फापेन’ । मासिक १० हजार रुपैयाँको तलब, खाना खान नै नपुग्ने । युवराज एक वर्षको दुबई वसाइलाई बिट मारेर गोजीमा १० हजार रुपैयाँ बोकेर नेपाल फर्के ।

त्यसपछि आफन्त भेट्न हेटौंडा आएका युवराजले हेटौंडामै सटर भाडामा लिएर दुनोट बनाएर बेच्न थाले । आँखै अगाडि ताजा दुनोट, सेल, जेरी, पुरी बनाउँदै गरेको देखेपछि ग्राहकहरु बढ्दै गए, व्यापार पनि बढ्दै गयो । ठीकैको कमाइ भए पनि सटर भाडा महँगो भएकाले बचत हुन सकेन ।

युवराजले हेटौंडामै ठेला किचेन खुब चलेको देखिरहेक थिए । साँझपख हेटौंडाका सडक किनारमा मःमः, ससेज, चप, पकौडा, चटपटेलगायतका खाने कुराका ठेला किचेनहरु देखेपछि उनलाई त्यस्तै पसल चलाउन मन लाग्यो र त्यसै गरे । हेटौंडाको व्यस्त बजारबाट अलि पर हेटौंडा सिमेन्ट उद्योग जाने बाटोमा उनले ‘साइँला दाइको ठेला किचेन’ खोले ।

बजारले नयाँ तर स्वादिला परिकार खोज्छ भनेर केराको नयाँ परिकार कल्पना गरे र नाम राखे– ‘बनाना ससेज’ । आज त्यही बनाना ससेजले युवराजको धेरै पैसा कमाउने सपना पूरा गर्दैछ र परिवारका चाहनाहरु पनि । आज साँइला दाइको ठेलाबाट अपराह्न ३ बजेदेखि साँझ ८ बजेसम्ममा दैनिक ३–४ सय ग्राहक सन्तुष्ट बन्ने गर्छन् ।

यी सबै काममा सहयोग गर्छिन् उनकी श्रीमती निरु । ‘फ्रन्टमा म छु, ब्याकग्राउन्डमा मेरी वाइफ’– युवराजले नेपालीमा अङ्ग्रेजी मिसाएर भने । निरु भने ठेलामा के सकियो वा के आवश्यक पर्‍यो, याद गरेर बस्छिन् । सकिएका चिजविज कोठाबाट ल्याइहाल्छिन् ।

दुई छोराका अभिभावक बनिसकेको यो जोडीको सफलताको कथाले चाहना भए आफ्नै देशमा बसेर केही गर्न सकिन्छ भन्ने तथ्यलाई स्थापित गरेको छ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर