newskoseli.Com

यी वृद्ध पत्रकार, जो ६० वर्षदेखि समाचारलेखनमै समर्पित छन् !

जिल्लामा हुने धेरै कार्यक्रममा पत्रकार दीर्घामा हरहमेशा एक वृद्ध व्यक्तिलाई देख्न सकिन्छ । झन्डै ८० वर्षको उमेरमा पनि एक पत्रकार अनवरत रुपमा समाचार खोज्ने र लेख्ने कर्ममै व्यस्त छन् । उनी हुन्– गणशेखर शर्मा ।

भरतपुर महानगरपालिका– १२ निवासी शर्मा वि.सं. १९९६ साउन १२ मा काठमाडौंको इन्द्रचोकमा जन्मेका हुन् । वि.सं. २०१७ मा, २१ वर्षको उमेरमा कोहिनूर साप्ताहिकबाट पत्रकारिता सुरु गरेका शर्माले ३६ वर्षसम्म राष्ट्रिय समाचार समिति (रासस) मा सेवा गरे ।

राससबाट सेवानिवृत्त भएपछि उनी ‘साप्ताहिक चितवन’ को सम्पादकका रूपमा उहाँ कार्यरत छन् । बोलाएका अधिकांश कार्यक्रममा आफैं उपस्थित भएर समाचार तयार पार्ने र सम्पादन गर्ने काम उनले अनवरत रुपमा गर्दै आएका छन् ।

वि.संं. २०१८ मा चितवन बसाइँ सरेर दुई वर्ष उनले चितवन माविमा शिक्षकको रूपमा समेत काम गरे । त्यससँगै २०२३ मंसिरमा राससको स्ट्रिङ्गरका रूपमा उनले काम थाले । विगत सम्झँदै शर्माले भने– ‘एउटा समाचारको तीन रुपैयाँ पाइन्थ्यो, खोजी समाचार भए सात रुपैयाँ र राजपरिवारको भए १५ रुपैयाँ पाइन्थ्यो ।’

तत्कालीन अध्यक्ष एवं महाप्रबन्धक गोविन्दप्रसाद प्रधानले आफूलाई नियुक्ति दिएको सम्झना उनमा अझै ताजा छ । पछि २०३२ मा पाँचौं तहमा स्थायी भएका शर्मा भन्छन्– ‘भरतपुर कार्यालयलाई अञ्चल कार्यालय बनाई मलाई कायममुकायम प्रमुखको जिम्मेवारी दिइएको थियो ।’

शर्माले समाचार मात्र होइन, स्थानीय तहसँग जग्गा मागेर स्रोत जुटाई राससको जिल्ला कार्यालय भवन पनि निर्माण गरे । त्यतिबेला जिल्ला विकास समितिले सबैलाई जग्गा भोगचलनका लागि दिएको भए पनि राससको भने आफ्नै लालपुर्जा छ ।

२०५९ मा ५८ वर्ष पुगेर राससबाट अनिवार्य अवकाश लिएका शर्मा त्यसपछि आफ्नै ‘चितवन साप्ताहिक’ मा व्यस्त छन् । पत्रकारिता जीवनमा सम्मान र पुरस्कारसँगै शाही सरकारका विरुद्ध लागेका कारण शर्मालाई काराबास बस्नुपर्ने बाध्यता समेत आइलागेको थियो ।

विगत सम्झँदै शर्माले भने– ‘नारायणगढको क्याम्पाचौरमा जनमतसङ्ग्रहका बेला विश्वेश्वर, मनमोहन र गणेशमान आउनुभयो । त्यो समाचार राससमा पठाएपछि ८५ दिन वीरगञ्ज कारागारमा बसें ।’ शर्माको भनाइमा तत्कालीन प्रमुख जिल्ला अधिकारीले त्यो समाचार ‘नपठाउनू’ भनेका थिए । कर्तव्य सम्झेर शर्माले समाचार पठाए । लगत्तै उनलाई पक्राउ गरी ६ महिने पुर्जी थमाएर वीरगञ्ज लगियो ।

संयोगवश उनले सुरुमा काम गरेको कोहिनूर पत्रिकाका सञ्चालक कृष्णमान श्रेष्ठ अञ्चलाधीश रहेछन् । शर्माले थपे– ‘अब गल्ती नगर्ने कागज गरी घर जाऊ भनियो, मैले मानिनँ । त्यसपछि कागजै नगरी सम्झाएर ८५ दिनमा मलाई घर फर्काए ।’ श्रेष्ठ परिवारसँग राम्रो सम्बन्ध रहेकाले श्रेष्ठपत्नीले पनि आफूलाई सम्झाएको तर आफूले कर्तव्य पूरा गरेको जवाफ दिएको उनले बताए ।

त्यसको डेढ वर्ष पछि भरतपुरको एक होटलमा पञ्चायतविरोधी पर्चा पढ्दै गर्दा पक्राउ परी एक महिना कारागार बसेको शर्मा बताउँछन् । सरकारको स्थायी कर्मचारी भए पनि आफू राससबाट कारबाहीमा नपरेको उनले बताए ।

शर्माका अनुसार उनी पत्रकार भएको १७ वर्षपछि मात्र जिल्लामा अरुले व्यावसायिक पत्रकारिता सुरु गरेका हुन् । शर्माले जीवनमा सङ्घर्ष, पीडा, दुःख मात्र होइन, मान–सम्मान र इज्जत पनि पाए । जतिबेला उनी एक्ला पत्रकार थिए, त्यसको प्रभाव सिङ्गो जिल्लामै थियो ।

जीवनमा सरकारबाट ‘वरिष्ठ पत्रकार सम्मान’ बाट २ लाख रूपैयाँ र ताम्रपत्रसहितको पुरस्कार, ५१ हजार १ सय ५१ रूपैयाँको मैयादेवी राष्ट्रिय पत्रकारिता पुरस्कार, २५ हजार १ सय २५ रूपैयाँको सूर्यभक्त–पतनादेवी राष्ट्रिय पत्रकारिता पुरस्कार, नेपाल पत्रकार महासङ्घको सम्मान, पत्रकार महासङ्घ जिल्ला शाखा चितवनको ‘तीलचन साँखी पुरस्कार’ सहित राससका विभिन्न सम्मान तथा पुरस्कारबाट उनी सम्मानित भइसकेका छन् । यससँगै रेडक्रसलगायतका सामाजिक संस्थाबाट पनि उनी सम्मानित भएका छन् ।

यो उमेरसम्म पनि समाचार सङ्कलनमा खटिनु आफ्नो बाध्यता नभएर रहर र नशा भएको शर्मा बताउँछन् । भन्छन्– ‘बोलाएपछि जाऊँ–जाऊँ लाग्छ, मलाई नशा नै भयो– भए घरको गाडी, नभए भाडाको साधन खोजेर समाचार सङ्कलनमा जाने गर्छु ।’

‘मेरो पत्रिकामा पाँच जना पत्रकार–कर्मचारी छन्, विज्ञापनले पुग्दैन । हरेक महिना १३–१४ हजार रुपैयाँ आफैँले थप्नुपर्छ,’ शर्माले दुःखेसो पोखदै भने– ‘सकुन्जेल पत्रकारितामै रमाउँछु ।’ उनी आm्ना दुई छोरासँगै बस्दै आएका छन्, श्रीमतीको भने निधन भइसक्यो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर