newskoseli.Com

१५औं पञ्चवर्षीय योजना : आर्थिक वृद्धिदरको लक्ष्य र लगानीको अनुमान

पन्ध्रौं पञ्चवर्षीय योजनाको ५.६ प्रतिशतले आर्थिक वृद्धिदर लक्ष्य हासिल गर्न राष्ट्रिय योजना आयोगले सार्वजनिक, निजी तथा सहकारी क्षेत्रको कूल ९७ खर्ब ७७ अर्ब ७५ करोड रुपैयाँ लगानी हुने अनुमान गरेको छ ।

आयोगले तयार पारेको आधारपत्रमा कृषितर्फ ८ खर्ब ३७ अर्ब ३० करोड, उद्योगतर्फ ३५ खर्ब ८३ अर्ब ४७ करोड र सेवातर्फ ५३ खर्ब ५६ अर्ब ९७ करोड लगानी हुने उल्लेख छ । सार्वजनिकतर्फ ३७.६ प्रतिशत, निजीतर्फ ५८.१ प्रतिशत र सहकारीतर्फ ४.३ प्रतिशत लगानी रहने आधारपत्रमा उल्लेख छ ।

चौधौं योजनाको अन्तिम वर्ष कूल राष्ट्रिय प्रतिव्यक्ति आय १ हजार ५ सय अमेरिकी डलरबाट वि.सं. २१०० मा उच्च आयस्तरको विकसित मुलुकमा रूपान्तरण गरी प्रतिव्यक्ति आय १२ हजार ५ सय अमेरिकी डलर पुर्‍याइने आयोगको आधारपत्रमा उल्लेख छ ।

पन्ध्रौँ योजनालाई ‘समृद्धि र सुखको सिर्जना गर्ने आधार’ का रूपमा विकास गर्न आयोगले प्रदेश नं. १ मा सुझाव लिने काम मंगलबार सम्पन्न गरेको छ । सोहीबमोजिम समृद्ध अर्थतन्त्र, सामाजिक न्याय तथा परिष्कृत जीवनसहितको समाजवादउन्मूख लोककल्याणकारी राज्यमा रूपान्तरण गर्दै उच्च आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने आधार तयार गर्ने लक्ष्य आयोगले लिएको छ ।

विराटनगरका सरकारी कार्यालय प्रमुखहरुबाट सुझाव लिन राष्ट्रिय योजना आयोगद्वारा मंगलबार आयोजित ‘१५औं योजना २०७६/७७–२०८०/८१ को आधारपत्रको प्रारम्भिक मस्यौदा प्रदेश नं. १ परामर्श बैठक’ मा आयोगले सो अवधारणा प्रस्तुत गरेको हो ।

पन्ध्रौं योजनाको आधार तर्जुमामा दीर्घकालीन सोच, ६ दशकका योजनाबद्ध विकास प्रयास, उपलब्धि तथा प्रमुख सिकाइ, संवैधानिक व्यवस्था, समुन्नतमूलक समाज निर्माण र समाजवादउन्मूख समृद्ध राष्ट्र निर्माण, सरकारको नीति तथा कार्यक्रममा राष्ट्रिय लक्ष्यका रूपमा ‘समृद्ध नेपाल, सुखी नेपाली’, सन् २०२२ मा विकासोन्मूख देशमा स्तरोन्नति गर्ने, सन् २०३० अगावै दिगो विकास लक्ष्य हासिल गर्ने र मध्य आय भएको देशमा पुग्ने प्रतिबद्धता तथा सन् २०४३ (वि.सं. २१००) मा समुन्नत राष्ट्रको स्तरमा पुर्‍याउने प्रतिबद्धता उल्लेख छन् ।

समष्टिगत तथा विषय क्षेत्रगत सोच, उद्देश्य तथा रणनीतिअन्तर्गत समष्टिगत आर्थिक क्षेत्र, समाजिक क्षेत्र, पूर्वाधार क्षेत्र, लोकतन्त्र र सुशासन अन्तरसम्बन्धी विषय क्षेत्र, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन, राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन एवं रूपान्तरणकारी कार्यक्रम र योजना छलफल नै मंगलबारका विषय बने ।

प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले धरातलीय यथार्थभन्दा फरक ढङ्गको योजना बनेमा कार्यान्वयनमा समस्या आउने बताए । पाँच वर्षभित्रमा काम गर्न सकिने किसिमका योजना बनाउन आयोगलाई सुझाव दिँदै परिवर्तनलाई संस्थागत गर्न कर्मचारीहरूको भूमिका महत्त्वपूर्ण रहेको उनले बताए ।

विगतमा जनस्तरका आयोगले सुझाव नलिर्इकन बनाउने योजनाबाट अपेक्षित लाभ लिन नसकेकाले नै प्रत्येक प्रदेशमा सुझाव सङ्कलन गर्न यस्ता कार्यक्रमको आयोजना गरिएको आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले बताए ।

केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक सुमनराज शर्माले नेपालको दीर्घकालीन सोच सहितको १५औं योजना तथा प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले प्रदेश योजना र तर्जुमा प्रक्रियाका बारेमा कार्यपत्र प्रस्तुत गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर