newskoseli.Com

प्रतिबन्धित २१ थरी विषादि बिक्री वा प्रयोग गर्दै हुनुहुन्छ ? जेलको बास होला नि !

प्रतिबन्धित २१ थरीका विषादिको बिक्रीवितरण गर्ने व्यक्ति ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा ३ महिनासम्म कैद वा दुवै सजायको भागिदार हुने भएका छन् ।

विषादि भनेको किटाणु मार्न खेतबारीमा प्रयोग गरिने विष हो । सरकारले सन् २००१ मा क्लोरोडेन, डीडीटी, डाइएल्ड्रिन, इन्ड्रिन अल्ड्रिन, हेप्टाक्लोर, माइरेक्स, टोक्साफेन, बीएचसी, लिन्डेन, फस्फामिडन र अर्गानो मर्करी कम्पाउन्ड तथा सन् २००७ मा मिथाइल पाराथियन, मोनोक्रोटोफस अनि सन् २०१४ मा इन्डोसल्फान र फोरेट लगायत गरी २१ थरी विषलाई राजपत्रमा प्रकाशित गरेरै प्रतिबन्धित विषादिमा सूचीकृत गरेको थियो ।

‘जीवनाशक विषादि व्यवस्थापन विधेयक, २०७५’ मा उल्लेख गरिएको उक्त विषयमाथि संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा मंगलबारदेखि दफावार छलफल सुरु भएको छ । विधेयक छलफल एवं संशोधनका लागि प्रतिनिधिसभाले झन्डै दुई हप्ताअघि समितिमा पठाएको थियो ।

विधेयकमाथि सांसद प्रेम सुवालले प्रस्ताव गरेको संशोधनको सूचना अस्वीकृत भएको छ । सांसद सुवालले आगामी चार वर्षभित्र जीवनाशक विषादि उत्पादन, आयात र बिक्री बन्द गर्ने प्रस्ताव विधेयकमा राख्नुपर्ने धारणा व्यक्त गरेका थिए । समितिमा दफावार छलफल जारी छ ।

छलफलमा भाग लिने सांसदहरूले उत्पादक र प्रयोगकर्तालाई एकै प्रकारको दण्ड–सजाय हुनु नहुने धारणा राखेका छन् । संशोधनकर्ताका तर्फबाट सुनिता शाक्यले नेपाल विषादिको प्रयोगशाला हुँदा पनि सरकारले ठोस काम गर्न नसकेको बताइन् । समितिमा सांसदहरूले उठाएका विषयमा कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले गाउँघरका किसानलाई ‘विषादि विष हो, औषधि होइन’ भन्ने विषयमा पर्याप्त जानकारी नहुँदा विषादिको प्रयोग केही बढ्न गएको भए पनि पत्रपत्रिकामा आएजस्तो धेरै विषादिको प्रयोग नभएको बताए ।

धादिङ, काभ्रे, मकवानपुर, नुवाकोटमा विषादिको प्रयोग अलि धेरै देखिए पनि अन्य जिल्लामा खासै प्रयोग नभएको पाइएको उनले बताए । विषादिको उत्पादन, संश्लेषण, निकासी, पैठारी, भण्डारण, बिक्रीवितरण, ओसारपसार, प्रयोग, विसर्जनजस्ता कार्यलाई नियमन गरी मानव तथा जीवजन्तुको स्वास्थ्य र वातावरणमा पर्ने प्रतिकूल प्रभावलाई नियन्त्रण गर्नुपर्ने विषय विधेयकले समेटेको छ ।

विधेयकमा कुनै व्यक्ति, संस्था वा निकायले कुनै जीवनाशक विषादि तथा त्यस्तो विषादिको सक्रिय तत्त्व समेतको उत्पादन, संश्लेषण, निकासी, पैठारी, व्यावसायिक प्रयोग, भण्डारण, बिक्रीवितरण, ओसारपसार वा पुनः प्याकिङ गर्नुपूर्व केन्द्रमा पञ्जीकरण गराउनुपर्ने उल्लेख छ ।

मानव स्वास्थ्य तथा वातावरणमा प्रतिकूल असर गर्ने विषादिको उत्पादन, संश्लेषण, निकासी, पैठारी, पञ्जीकरण, बिक्रीवितरण वा प्रयोगमा प्रतिबन्ध लगाएको भए पनि विधेयकमा मानव स्वास्थ्य तथा वातावरणमा प्रतिकूल असर पर्ने विषादिको नाम सूचीकृत गरिएको छैन । यद्यपि सो प्रकृतिका विषादिको नाम नेपाल राजपत्रमा पछि प्रकाशित गर्न सक्ने प्रावधान विधेयकमा रहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर