NewsKoseli.Com

अन्ततः सही त माओवाद नै हो !

फेरि पनि माओवाद नै सही हो, जनयुद्धको बाटो नै ठकी हो र न्यूनतम रुपमा नयाँ जनवादी क्रान्तिको कार्यक्रम बनाउनु नै सही हुन्छ । आउनुहोस्, बहस गरौं ! अहिले पनि नेकपा माओवादी पुनर्गठन गर्नु आवश्यक छ । यतिखेर पनि माओवादलाई आत्मसात् गर्नु आवश्यक छ । आफ्नो वर्गप्रति उत्तरदायी हुनु आवश्यक छ र नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्न लागिपर्नु छ र युगले सुम्पिएको जिम्मेवारी पूरा गर्नु अनिवार्य भएको छ ।

माओ भन्नुहुन्छ– जुन कुराले वर्गशत्रु भयभीत हुन्छ, हामीले त्यो कुरालाई नै सही मान्नुपर्छ । र, वर्गशत्रुले जुन कुराको प्रशंशा गर्न थाल्छन्, त्योसित सतर्क रहनु पर्दछ । हामीले देखिरहेका छौं– प्रतिक्रियावादीहरु जनयुद्ध र माओवादको नाम लिनै चाहँदैनन् । संसदमा जानेहरुको यति प्रशंशा गर्दछन् कि ‘नोबेल पुरस्कार’ को लोभ देखाउनेसम्म गर्ने गरेका छन् । अवसरवादीहरु पनि यो कुरामा उदार बनिदिन्छन् र भन्छन्– त्यसो भए दुवै पक्षलाई ‘मिल्ने’ कुनै शब्द प्रयोग गरौं ! दुवैले जित्ने बाटो पहिल्याऔं । हामीकहाँ त्यसरी प्रयोगमा आयो– ‘सशस्त्र द्वन्द्व’ ! अझ ‘माओवादी सशस्त्र द्वन्द्व! रे ! हामीले बुझ्नुपर्छ– त्यो दुश्मनले रोजेका ती भनाइहरु बेठीक छन् र माओवाद अनि जनयुद्धको सिद्धान्त एवं बाटो नै सबैभन्दा सही छ ।

वर्गसंघर्षको इतिहास, वर्गदुश्मनले अहिलेसम्म गरेका हर्कतहरु र नयाँ वस्तुगत तथा भौतिक परिस्थितिहरुले अहिलेको अवस्थामा कम्युनिस्ट हुनु भनेको माओवादी हुनु नै हुन्छ । साम्राज्यवादमा पतन भैसकेका पुँजीवादीहरु र अवसरवादीहरुले यो मान्यतालाई अस्वीकार गर्दछन् । अवसरवादी तप्काले पनि कि त माओवादलाई ‘असान्दर्भिक’ देख्दछन् कि त जबर्जस्त ‘अपुग’ भएको तर्क गर्दछन् । माओवादलाई आत्मसात् गर्ने सवालमा उनीहरु चुकेका हुन्छन् । कम्युनिस्टले भने यसैलाई आत्मसात् गर्न पुगेका हुन्छन् ।

नेपाली मिडियामा केही दिनअघि एउटा डरलाग्दो तथ्याङ्क सार्वजनिक भयो– प्रसूतीका लागि अस्पतालमा जानेहरु निजी अस्पतालमा गए ९८ प्रतिशतसम्मको अप्रेसन गर्दा रहेछन् । जबकि, सरकारी अस्पतालमा ३९ प्रतिशतसम्मको अपरेसन गर्नुपर्ने स्थिति आउँदो रहेछ । निजी अस्पतालले अनावश्यक रुपमा मानिसलाई किन यसरी चिरिरहेका छन् त ? अरु कुनै कारण छैन, केवल पैसाकै लागि मात्र हो । पैसा वा नाफाका लागि मानिसलाई चिर्न पनि पछि पर्दैनन् पुँजीवादी बगरेहरु । पुँजीवादीहरु आफ्ना सबै व्यवहारमा मानवता, सेवाभाव सबै हराएर विवेकहीन बनेका हुन्छन् ।

पुँजी हत्याउनु र नाफा कमाउनु नै पुँजीवादीको ध्येय हो । मानव र समाजप्रतिको पुँजीवादीहरुको व्यवहार सभ्यताविरोधी हुन्छ । गरिब, सुकुम्बासी, सर्वहारा वर्गप्रतिको उसको व्यवहार पूर्ण रुपले विवेकहीन हुन्छ । पुँजीवादीहरु यिनै गरिब, सुकुम्बासी, श्रमजीवी, सर्वहारा वर्गसँग सबैभन्दा बढी भयभीत हुन्छन् । कम्युनिस्टले पनि यिनै गरिब, सुकुम्बासी, श्रमजीवी सर्वहारा वर्गलाई नै आफ्नो वर्गका ठानेका हुन्छन् । आ–आफ्नो वर्गमाथि परेको मार्कामा पुँजीवादी र कम्युनिस्टहरुको मन कुँडिने गरेको हुन्छ । हामीले देखिरहेका छौं– लसएन्जलसमा एउटा मजदुरले पिटाइ खाँदा मजदुहरुले क्षणभरमै पूरै सहर जलाइदिन्छन् भने शोषक–सामन्तमाथि कम्युनिस्टले कहीं–कतै कारबाही गर्नासाथ पुँजीवादीहरुले मानिस मारेर लासको थुप्रो देखाउँदै अरुलाई तर्साउँछन् । यो वर्गीय समाजको घीनलाग्दो मानव–व्यवहार हो ।

वर्गीय समाजमा मानिस मानिसजस्तो हुन पाउँदैनन् । अहिलेको समयको सबैभन्दा ठूलो समस्या यही हो । हामीले गर्ने मुख्य काम यही वर्गीय व्यवस्था भत्काउने शक्तिको उत्पादन नै हो । त्यो शक्ति भनेको सचेत सर्वहाराको अग्रदस्तालाई केन्द्रीकरण गर्नु हो । यो वर्गसंघर्षबाट मात्र सम्भव हुन्छ ।

मानवजातिका लागि सबै भन्दा हितकर, सबैभन्दा सही र सबैभन्दा उच्च चेतना के हो ? सबैभन्दा सही विचार कसको हो ? कार्लमार्क्स र फ्रेडरिक एङ्गेल्सले करिव दुई सय वर्ष अगाडि घोषण गरे कि त्यो त सर्वहारा वर्गको विचार र चेतना नै हो । पुँजीवादलाई चिन्नु र श्रमजीवी–सर्वहाराले आफ्नो वर्गप्रति उत्तरदायी हुनु नै अहिलेको अवस्थामा सबैभन्दा ठूलो ज्ञान हो । यो वर्गसंघर्षमार्फत प्राप्त हुन्छ । वर्गसंघर्षले श्रमजीवी वर्गलाई यसको ढोका खोलिदिन्छ । यसबाट कट्नासाथ सही विचार गुम्छ, मानिस अचेत हुँदै जान्छ, उसमा अज्ञानता थुप्रिन थाल्छ र वास्तविकताबाट टाढा हुन पुग्छ ।

त्यसैले, कुनै पनि बहानामा वर्गसंघर्षबाट कट्नु अवसरवाद हुन्छ । अवसरवादीहरुलाई चिन्ने तरिका पनि उसका व्यवहारहरु वर्गसंघर्षतिर केन्द्रित छन् कि छैनन् भन्ने नै हो । चर्चामा आउन र त्यसबाट अस्तित्वरक्षा गर्नका लागि देखाइएका व्यवहार अवसरवादका लक्षण हुन्छन् । त्यस्ता प्रवृत्तिबाट वर्गमाथि नै घात भैरहेको हुन्छ । त्यस्ता तत्त्वहरुसित सचेत रहन पनि कम्युनिस्टहरुले ध्यान दिनुपर्छ ।

प्रसूतीका लागि अस्पतालमा जानेहरु निजी अस्पतालमा गए ९८ प्रतिशतसम्मको अप्रेसन गर्दा रहेछन् । जबकि, सरकारी अस्पतालमा ३९ प्रतिशतसम्मको अपरेसन गर्नुपर्ने स्थिति आउँदो रहेछ । निजी अस्पतालले अनावश्यक रुपमा मानिसलाई किन यसरी चिरिरहेका छन् त ? अरु कुनै कारण छैन, केवल पैसाकै लागि मात्र हो । पैसा वा नाफाका लागि मानिसलाई चिर्न पनि पछि पर्दैनन् पुँजीवादी बगरेहरु ।

‘व्यक्तिगत स्वतन्त्रता’ पुँजीवादीको एउटा नारा हो, यसलाई एउटा नाराभन्दा पनि मुख्य नारा हो भन्दा सहस् हुन्छ । यही नारामा उनीहरुको सम्पूर्ण व्यवस्था मिलाएका हुन्छन् । यही अनुसार राज्यलाई पनि उनीहरुले हतियार बनाएका हुन्छन् । व्यक्तिगत स्वतन्त्रतामा कहीं–कतैबाट आँच आएको महशुस भयो भने उनीहरुको सम्पूर्ण व्यवस्थाले नै अस्वीकार गरिदिन्छ । भनेको जस्तो भएन भने अस्वीकार गर्नु र हस्तक्षेप गर्नु अधिनायकवाद हो । पुँजीपति वर्ग नाफा कमाउने आफ्नो वर्गस्वार्थका लागि हमेसा अनियमितता र गडबडी गर्न उद्धत हुन्छ । यो वर्गले राज्यबाट हमेसा यही सहयोग खोजिरहेको हुन्छ । ‘व्यक्तिगत स्वतन्त्रता’ को नाराले यो वर्गले त्यही अधिकार पाएको हुन्छ ।

सम्पत्ति र पुँजीमा ‘व्यक्तिगत स्वतन्त्रता’ को मुख्य विषय नै बुर्जुवा अधिनायकवाद हो । यही बुर्जुवा अधिनायकवादले नै सर्वहारा वर्गको जन्म गराएको हो । सर्वहारा वर्गले आफ्नो यस अवस्था र बुर्जुवा अधिनायकवादलाई अस्वीकार गर्दछ । र, हमेसा यो वर्गले पनि अधिनायकवाद लागू गर्न बाध्य भएको हुन्छ । सर्वहारा अधिनायकवादविना कम्युनिस्टहरुले पनि आफ्नो अस्तित्व कायम राख्न सक्दैनन् ।

सर्वहारा वर्गले पुँजीवादले गराएको आफ्नो यस्तो अवस्थालाई अस्वीकार गर्दछ । पुँजीको पुनर्उत्पादनबाट पैदा हुने शक्तिले आफू नियन्त्रित र सबै हरण हुने स्थितिमा पुगेकाले सर्वहारा वर्ग यो अवस्थाबाट मुक्त हुन खोज्दछ । त्यसका लागि उसले सामाजिक उत्तरदायित्वसहितको स्वतन्त्रताको नारा लगाउने गर्दछ । यो नारालाई व्यावहारिक रुप दिँदा समाजमा सर्वहारा वर्ग मुक्त हुन पुग्छ । सर्वहारा वर्गले आफ्नो मुक्तिका लागि जब यो नारालार्इ व्यवहारमा लैजान्छ तब बुर्जुवा वर्गले आफ्नो अस्तित्व कायम राख्न पाउनेछैन । त्यसैले यो नारा नै सर्वहारा वर्गको अधिनायकवाद हो । बुर्जुवा वर्गले जस्तै सर्वहारा वर्गले पनि अधिनायकत्व खोज्नु उसको अधिकार हो । यही परस्पर विपरीत वर्गले आफ्नो अधिकारका लागि गरिरहेको प्रयत्न नै वर्गसंघर्ष हो । वर्गीय समाजमा यो सार्वभौम रुपमा रहेको हुन्छ ।

पुँजीवादबाट सञ्चालन हुन थालेपछि हरेक देशका प्रतिक्रियावादी सरकारहरु लोकतान्त्रिक विधिबाट बन्ने कुरा गफमा सीमित भए । त्यसैले, लोकतान्त्रिक प्रक्रियाको केन्द्रलाई महान् लेनिनले ‘गफ गर्ने अखडा र जनतालाई झुक्याउने थलो’ भन्ने संज्ञा दिनु भएको छ । नेता चित्रबहादुर केसीले एक पटक उक्त अखडालाई ‘भेडीखोर’ भन्न पुगेका थिए । जनतालाई झुक्याउने मुख्य अखडाका रुपमा बदनाम भएपछि कतिले यसलाई ‘सुँगुरको खोर’ को पनि संज्ञा दिने गरेका छन् । यसो भन्दा जनताका कथित प्रतिनिधिलाई ‘सुँगुर’ भन्नुपर्ने हुन्छ । यसको अर्थ तिनका प्रमुखलाई ‘सुँगुरको नाइके’ भनेको अर्थ लाग्छ । यसो भन्दा जनतालाई ‘सुँगुर’ भनेको अर्थ लाग्छ । यसो भन्दा प्रतिक्रियावादी राज्यव्यवस्थामा भाग लिने विचरा जनतालाई कसैले ‘भेंडा’ त कसैले ‘सुँगुर’ को अर्थमा व्याख्या गर्न पुगेका छन् । खासमा उनीहरु ‘भेंडा’ वा ‘सुँगुर’ होइनन्, उनीहरूलार्इ ‘अचेत जनता’ भन्दा नै सही हुन्छ ।

जनतामा गरिबी, अभाव, असुरक्षा, अवसरहीनता र अपमानबोध छ । यो सबै शोषण, दमन, उत्पीडन, विभेदजस्ता राज्यव्यवस्थाकै गलत नीतिका कारण भएको हो । जनताले यो बुझ्नु जरुरी छ । तर, राज्यव्यवस्थाकै अंगहरुले त्यो बुझ्न दिँदैनन् । ती अंगहरु क्रियाशील भइन्जेल जनता सचेत हुन सक्दैनन्, आफैं विरुद्धको अन्याय, अत्याचार, शोषण, दोहन, विभेद बुझ्न सक्दैनन् । त्यसैले जनताले बुझ्नका लागि जनताकै नेतृत्वले जनतालाई व्यवस्था बाहिर पुर्‍याउनु जरुरी हुन्छ । यो वर्गसंघर्ष सञ्चालन गरेर मात्र सम्भव हुन्छ । त्यसैले जनताको नेताको काम सही अर्थमा वर्गसंघर्ष सञ्चालन गर्नु हो र जनताको नेतृत्व गर्नु हो । वर्गसंघर्षबाट टाढिएका कुनै पनि नेतृत्व जनताको नेता हुन सक्दैन, ऊ कम्युनिस्ट हुन सक्दैन र अहिलेको समयमा माओवादी नेतृत्व हुन पनि सक्दैन ।

७० वर्षको कम्युनिस्टका नाममा शासन सञ्चालन गर्दा १४ करोड नागरिक गरिबीको रेखामुनि राखेको चीनको शासन व्यवस्थालाई ‘कम्युनिस्ट’ वा ‘समाजवाद’ भन्नु कि त प्रतिक्रियावाद हुन्छ नत्र अवसरवाद । माओवादीहरुले त्यस्ताहरुसँग होस गर्नु पर्दछ ।

सी जिनपिङको नेतृत्वमा चीनमा कम्युनिस्ट पार्टीकै नाममा शासन व्यवस्था सञ्चालन भैरहेको छ । चीनमा त्यही नाममा माओको नेतृत्वमा पनि त्यो व्यवस्था थियो । तर, यी दुबै फरक–फरक शासन व्यवस्था हुन् । सिको प्रतिक्रान्तिबाट आएको शासनव्यवस्था हो भने माओको वर्गसंघर्षबाट आएको शासन व्यवस्था हो । विश्व कम्युनिस्ट आन्दोलनमा चीनमा प्रतिक्रान्ति भएको हो कि होइन भन्ने बहस चल्दा त्यतिखेर माओ र देङपन्थीहरु देखापरे । दुबै पक्षले माओ विचारधाराकै वकालत गरे । केही वर्षपछि माओका पक्षमा रहेकाहरुले माओवादका रुपमा आफूलाई संश्लेषण गरे भने देङपन्थीहरु नाङ्गो पुँजीवादमा पतन भए ।

प्रतिक्रान्तिपछिको अहिलेको चीनमा नाङ्गो पुँजीवाद स्पष्ट देख्न सकिन्छ । ७० वर्षको कम्युनिस्टका नाममा शासन सञ्चालन गर्दा १४ करोड नागरिक गरिबीको रेखामुनि राखेको त्यहाँको शासन व्यवस्थालाई ‘कम्युनिस्ट’ वा ‘समाजवाद’ भन्नु कि त प्रतिक्रियावाद हुन्छ नत्र अवसरवाद । माओवादीहरुले त्यस्ताहरुसँग होस गर्नु पर्दछ ।

अहिलेको संसारमा पुँजीवाद नाङ्गो रुपमा छ । यसले एकाधिकारी पुँजीवाद हुँदै साम्राज्यवादी स्वरुप लिएको पनि शताब्दि नाघिसकेको छ । यसले कहिले एकल साम्राज्य खडा गर्ने गरेको छ त कहिले बहुकेन्द्रमा बाँडिने गरेको छ । यसले आफ्नो रुप बदलिरहेको छ । रुप बदल्दै जाने क्रममा यो अहिले अरु देशबाट लुटेर ल्याउन पाइएन भने दिनभरमै आर्थिक संकटमा फसेर अर्को देशको नियन्त्रणमा पर्ने गरेको छ । एकल अमेरिकी साम्राज्यवाद भूमण्डलीकृत रुप लिएर एकछत्र शासन गर्न लालायित देखिन्छ । अहिले त्यहाँ ९९ प्रतिशत नागरिकमा सर्वहाराकरण भएको छ । चीनसँग सामरिक र व्यापारिक युद्धको घोषणा गरेर एउटाले अर्कोलाई फसाएर कमाउन नसके तुरुन्तै संकटमा फस्ने स्थिति छ । चीन समेत अहिले त्यही अवस्थामा पुगेको छ । अमेरिकाले यसपालि व्यापारयुद्धबाट चीनलाई थला पारिदियो । उसले चिनिया अर्थतन्त्रको विकासमा गत्यावरोध पैदा गरिदिएको छ ।

कुरा प्रस्ट छ, वर्गीय समाजमा धक्का दिन माओवाद बाहेक अर्को कुनै सिद्धान्त व्यवहारमा आएको देखिँदैन । अपवादमा केही प्रयोगहरु आए पनि ती सर्वहारा वर्गले प्रयोग र विकास गर्ने स्थितिमा रहेका छैनन् । नेपालमा भएको प्रयोग र यहाँ देखिएका कमीकमजोरीको समीक्षा; भारत, टर्की, फिलिपिन्स्लगायतका देशहरुमा भैरहेका माओवादका प्रयोगहरु र नजिकको सम्भावनाहरु हेर्दा कुरुप वर्गीय समाजलाई वर्गविहीन कम्युनिस्ट समाजमा रुपान्तरण गर्न माओवाद बाहेक अरु सिद्धान्त अपनाएर सम्भव देखिँदैन ।

२७ माघ, २०७५, सिन्धुली ।

प्रतिकृया दिनुहोस्

Google AdSense

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

Google AdSense

आजको विनिमय दर