NewsKoseli.Com

जनयुद्धको ऐतिहासिकता र आगामी राजनीतिक सन्दर्भ

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को आह्वान र नेतृत्वमा सञ्चालित जनयुद्ध १ फागुन, २०५२ देखि थालनी भएको थियो । जनयुद्ध पहलको पहिलो दिन अर्थात् फागुन १ गते रोल्पाको होलेरी प्रहरी चौकी, रुकुमको आठबीसकोट प्रहरी चौकी, सिन्धुलीको सिन्धुलीगढी प्रहरी चौकी, गोरखाको च्याङ्लीस्थित कृषि विकास बैंक, काठमाडौंको पेप्सीकोलास्थित बहुराष्ट्रिय कम्पनी र काभ्रेका सामन्त दौलतसिंह दोङमाथि गरी जम्मा ६ वटा कारबाही सम्पन्न गरिएका थिए ।

यसबाहेक देशैभरि ‘जनयुद्धको बाटोमा अघि बढौं’ उल्लेखित पोस्टर टाँस्दै र अन्य प्रचारात्मक कामबाट अघि बढेको जनयुद्ध नेपालको इतिहासमा अन्ततः नयाँ कोशेढुंगा सावित भयो । जनयुद्धको थालनी गर्दा नेपाललाई अर्धसामन्ती र अर्धऔपनिवेशिक देशका रुपमा चित्रण गरिएको थियो । सामन्त र दलाल तथा नोकरशाही पुँजीवाद सर्वहारा वर्गविरुद्धको प्रधान दुश्मन थियो ।

राज्यसत्ता जनताको साथ, समर्थन र चाहनाविपरीत राज्यको फौजी शक्तिको भरमा टिकेको थियो । त्यसैले माथिका कारबाहीमध्ये तीन वटा प्रहरी चौकीमा केन्द्रित गरेर फौजी संरक्षणबाट राज्यसत्तालाई मुक्त गर्ने सन्देश दिइएको थियो । त्यसैगरी, सामन्तलाई कारबाही गरेर सामन्तवादी व्यवस्थाविरुद्ध धावा बोलिएको थियो भने बाँकी दुई कारबाहीमध्ये बहुराष्ट्रिय कम्पनीले दलाल पुँजीवादको प्रतिनिधित्व गरेको र बैंकिङ गतिविधि मूल रुपमा नोकरशाही प्रतिनिधि हुनाले क्रमशः दलाल तथा नोकरशाही पुँजीवादमाथि हमला गरिएको हो । यसरी राज्यका सबै अंग र चरित्रमाथि एकै पटक आक्रमण गरेर नेपालको जनयुद्ध मौलिक प्रकृतिको हुने सन्देश प्रवाह भएको थियो ।

महान् जनयुद्ध र ‘महान्’ बहस

भीआर्इ लेनिनको नेतृत्वमा मार्क्सवादको पहिलो व्यावहारिक सफलताका रुपमा रुसमा सन् १९१७ मा अक्टोबर क्रान्ति सम्पन्न भयो । लेनिनकै नेतृत्वमा सन् १९२१ पछि ‘नयाँ आर्थिक नीति (नेप)’ मार्फत् सोभियत संघमा समाजवादको अभ्यास थालियो । त्यसलाई जोसेफ स्टालिनले सशक्त ढंगले अघि बढाउनुभयो । उहाँको मृत्यु अर्थात् सन् १९५३ पछि समाजवाद विवादमा तानियो । त्यसबेला सोभियत संघमा सत्ताको नेतृत्व निकिता ख्रुश्चेबले गरे । त्यही वरपर (सन् १९४९ मा) चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । यता, जनवादी चीनमा सत्ताको नेतृत्व माओ त्सेतुङले गर्दथे । कम्युनिस्ट पार्टीले सत्ता हाँकिरहेका यी भीमकाय क्षेत्रफल भएका मुलुकहरुमा दुई नेतृत्वको वैचारिक बेमेल सुरु भयो, खासगरी रुसी समाजवादको विषयलाई लिएर । यसलाई माओ र चिनियाँ क्रान्तिकारीहरुले ‘महान् बहस’ नामकरण गरेका हुन् ।

नेपालमा राणाविरोधी आन्दोलन चलिरहेकै बेला कम्युनिस्ट पार्टीको जन्म भएको थियो । टुटफुट र विभाजनका कारण गोलचक्करमा रहेको कम्युनिस्ट आन्दोलन जनयुद्धको थालनीसँगै नयाँ उचाइमा उक्लियो । कुनै पनि देशको इतिहासमा १० वर्ष खासै लामो कालखण्ड होइन । यस हिसाबले १० वर्ष चलेको जनयुद्धले नेपालमा निमेषभरमा उथलपुथल ल्याइदियो । नेपाली जनतामा अन्तर्निहित क्रान्तिकारी चेत र क्षमता अभूतपूर्व रुपमा अकाशियो । विश्वको ध्यान नेपालमा आकर्षित भयो । कल्पनासम्म गर्न कठिन राजनीतिक परिवर्तन जनयुद्धको जगबाटै सम्भव भए । यसरी जनयुद्ध उत्पीडित वर्गका निम्ति महान् सावित भयो ।

यद्यपि अहिले ‘जनयुद्ध’ शब्दोच्चारण गर्ने विषयमा समेत नेपालमा एकमत छैन । अझ यससँगै प्राप्त उपलब्धिलाई स्वीकार गर्ने विषयमा त आकाश–जमिन टाढा पुगिन्छ । बरू यसमा सहमति खोज्नभन्दा अर्को जनयुद्ध गर्न सजिलो होला ! जनयुद्ध नभएको भए नेपालको राजनीतिक परिदृश्य आजको जस्तै हुन्थ्यो त ? यस सवालमा एक छिन घोत्लिँदा सर्वसम्मत उत्तर आउँछ कि निश्चित रुपमा आजको भन्दा फरक हुन्थ्यो । त्यसैले पनि जनयुद्ध थालनी भएको दिन फागुन १ गते प्रत्येक वर्ष यसका पक्ष वा विपक्षमा चर्चा हुने गर्छ, जसलाई स्वाभाविक मान्न सकिन्छ ।

नमेटिने इतिहास

हुन त तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले जनयुद्धको थालनी गर्दा यो आम रुपमा पत्यारिलो हुन सकेन । तर, जसै जनयुद्धले आफ्नो बाटो तय गर्यो, यसबारे प्रशस्त भ्रमका खेती सुरु भए । खासगरी आन्दोलन र नेतृत्वकै विषयमा समेत भ्रम छरियो । जनयुद्धलाई आतंक र क्रान्तिकारीहरुलाई आतंककारी चित्रण नगरिएको होइन । दमन, थुनछेक र हत्याजस्ता जघन्य र क्रूर अपराधी शैलीमा स्वयम् राज्य पक्षबाट गरिएको अभ्यास वास्तवमैमा कहालीलाग्दो थियो । त्यसबाट आन्दोलन प्रभावित भएन, बरु आगोमा घिउ थपे झैं झन् फैलँदै गयो । आधारभूत वर्गको अत्यधिक सहभागिता, महिलाको ठूलो संख्यामा प्रत्यक्ष संलग्नता, पार्टी पङ्क्तिमा कडा अनुशाासन, जनमुक्ति सेनाको निर्माण, छापामार युद्धको विकास र चलायमान एवम् आमने–सामने युद्धको अभ्यास, हतियार निर्माण, संकलन र कब्जा, जनपक्षीय न्याय सम्पादन, स्थानीय जनसरकार सञ्चालन आदि जनयुद्धकालका निकै उल्लेख्य विशेषता थिए ।

थालनीको ११ वर्ष पुग्नै लाग्दा, ५ मंसिर, २०६३ मा भएको विस्तृत शान्ति सम्झौतासँगै जनयुद्धको पुरानो रुप भंग भयो । त्यसपछि अन्तरिम संविधान, अन्तरिम व्यवस्थापिका, अन्तरिम सरकार, सेना समायोजन, संविधानसभाको चुनाव हुँदै जनयुद्धको कोर्षबाट नै देश अघि बढिरहेको छ । नयाँ संविधान निर्माणपछि आज हामी त्यसको कार्यान्वयनको चरणमा छौं । खासगरी, संविधान जारी भएपछि तीन वर्षमा निर्माण गर्नुपर्ने ऐनहरु समयसीमाभित्र तयार पार्न सरकार सफल भएको छ । र, पहिलो सरकारले एक वर्षभित्रमा नयाँ संविधानसँग बाझिने कानुनहरुलाई प्रतिस्थापन गर्नुपर्ने जिम्मेवारी पनि लगभग पूरा गरिसकेको छ । यो प्रक्रियापछि ‘समृद्ध नेपाल र सुखी नेपाली’ नारासहितको अभियान तीव्रतामा अघि बढ्ने अवस्था छ । यस सँगसँगै नेपाल विकासोन्मूखबाट विकासशील र अन्ततः विकसित मुलुकमा रुपान्तरण हुन्छ । यो सुन्दर नेपालको सपनाको निर्णायक जग फेरि पनि महान् जनयुद्ध नै हो ।

अहिले देश–विदेश दुवैतिर नेपालको जनयुद्धको समीक्षा जारी छ । यो आलेख स्वयम् एउटा समीक्षा हो । दीर्घकालीन जनयुद्ध सञ्चालन भएका देशहरुको स्थितिबारे जानकार हुनु जरुरी छ । छिमेकी भारतमा सशस्त्र संघर्ष ५० वर्षदेखि निरन्तर छ, जहाँ न त कुनै आधारइलाका निर्माण भएको छ न त छापामारस्तरबाट युद्ध अगाडि बढ्नै सकेको छ । वर्मा, मलाया, पेरुमा जनयुद्ध निकै उत्कर्षमा पुगेका थिए तर ती देशहरुमा भएका उपलब्धि के थिए ? उल्लेख गर्न लायक केही पनि देखिँदैनन् ।

गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्वलगायतका उपलब्धि संविधानसभाबाट निर्मित नयाँ संविधानमा संस्थागत हुनु चानचुने विषय होइन । निश्चित रुपमा यो सफलता दोस्रो ऐतिहासिक जनआन्दोलनको आडमा सम्भव भएको हो । तर, स्वयम् दोस्रो जनआन्दोलन जनयुद्धको जगबाट विकास भएको सत्यलाई जो–कोहीले भुल्न सक्दैन ।

आगामी राजनीतिक सन्दर्भ

नेपालको इतिहासमा जनयुद्ध महान् परिघटना भए पनि यो जनवादी क्रान्तिको कार्यक्रम भएको यथार्थ हो । जनयुद्धमार्फत् यसको थालनीपूर्व गरिएका प्रतिबद्धताहरु हुबहु प्राप्त भए वा भएनन् भन्ने विषयमा अहिले बहस कायमै छ । यसलाई मूल कारण मानेर जनयुद्धका सहयात्रीहरु फरक–फरक पार्टी वा समूहमा संगठित नभएका होइनन् । अझ जनयुद्धमा प्रभावकारी भूमिका खेलेका व्यक्तिहरु ठूलो संख्यामा असन्तुष्टिसँगै आन्दोलनको मूलधारबाट बाहिरिएका छन् । ती कति ठीक वा कति बेठीक ? यो कुरा त आफ्नो ठाउँमा होला । तर, जनयुद्धको निरन्तरतामा फरक स्वरुपबाट अघि बढेको शक्ति नै नेपालको क्रान्तिकारी आन्दोलनमा मूलधार बनेकामा दुईमत छैन । त्यो धार नै नेपालमा आज पार्टीको एजेन्डा बनाएर मात्र होइन, संविधानमै व्यवस्था गरेर समाजवादको झन्डा उठाउन सफल भएको छ ।

समाजवादको कार्यक्रममा सहमत दुई ठूला कम्युनिस्ट पार्टी एकता भई अघि बढ्दा इतिहासको अर्को कार्यभार पूरा भएको छ । यो परिवेश जनयुद्धलाई ठीक ढंगले आतमसात् र ठोस वस्तुको ठोस विश्लेषण गरेरै निर्माण भएको भन्दा अतिशयोक्ति नहोला । त्यसैले पुँजीवादी जनवादी क्रान्तिका मूल कार्यभार पूरा भएको सन्दर्भमा कम्युनिस्ट क्रान्तिका राणनीतिक उद्देश्य हासिल गर्ने क्रममा समाजवादी क्रान्तिको तयारी गर्नु आजको भिन्न परिवेशमा जनयुद्धको निरन्तरता हुन जान्छ ।

प्रतिकृया दिनुहोस्

Google AdSense

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

Google AdSense

आजको विनिमय दर