newskoseli.Com

कोरियाली नेता किम रेल चढेर ट्रम्पसँग वार्ता गर्न भियतनामतिर

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन शनिबार दिउँसो भियतनामको राजधानी हनोइतर्फ प्रस्थान गरेका छन् ।

उनी रेल चढेर भियतनाम गएको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बहुप्रतिक्षित शिखर बैठकमा सहभागी हुनका लागि उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

ट्रम्प र किमबीच फेब्रुअरी २७ र २८ मा भियतनामको राजधानी हनोईमा दोस्रो शिखर बैठक तय भएको छ । उनीहरुबीचको पहिलो शिखर बैठक गत बर्षको जुनमा सिङ्गापुरमा भएको थियो । भियतनामका राष्ट्रपति गुयन फु ट्रोङको निमन्त्रणमा उत्तर कोरियाली नेता किम शिखर बैठकभन्दा अगाडि नै भियतनामको औपचारिक भ्रमण गर्ने गरी हनोई गएका हुन् ।

किम नेतृत्वको भ्रमण टोलीमा सरकारी तथा पार्टीका उच्चपदस्थ अधिकारीहरु सहभागी भएका छन् । किम झन्डै ३ दिन लगाएर ४ हजार किलोमिटर यात्रा गरी भियतनामको राजधानी हनोई पुग्नेछन् ।

यसैबीच, उत्तर कोरियाका नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पको भेष धारण गरेर नक्कल गर्ने दुई जनालाई भियतनामको प्रहरीले पक्राउ गरेर सोधपुछपछि रिहा गरिदिएको छ । किमको जस्तो अभिनय गर्ने हावर्ड एक्स तथा ट्रम्प जस्तो देखिने रसेल ह्वाइटलाई प्रहरीले सोधपुछ गरेर रिहा गरेको हो ।

समाचार संस्था एएफपीसँग बोल्दै दुवै जनाले आफूहरूलाई त्यहाँबाट निकालिदिने धम्की आएको बताएका छन् । दुई नेताको शिखर बैठक हुनु अगाडि नै ती दुईले हनोइमा नेताहरूको बैठकको नक्कल गरेको अधिकारीहरुले जनाएका छन् । किमको नक्कल गर्ने हावर्ड एक्स खासमा हङकङका बासिन्दा रहेको जनाइएको छ ।

उत्तर कोरियाको परमाणु महत्त्वाकाङ्क्षा कम गराउनु आफ्नो उद्देश्य भएको उनीहरूले बताएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर