newskoseli.Com

कोइरालाहरूको पुर्ख्यौली थलो दुम्जामा बीपी प्रतिष्ठान निर्माण गरिने

चार जना पूर्वप्रधानमन्त्री, साहित्यकार, शिक्षाविद् एवं उच्च पदमा आसीन कोइरालाहरूको पुर्ख्यौली थलो दुम्जामा पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाका नाममा प्रतिष्ठान र उद्यान निर्माण गरिने भएको छ ।

रामेछाप, काभ्रेपलाञ्चोक र सिन्धुलीको मिलनविन्दुमा रहेको सिन्धुलीको सुनकोशी गाउँपालिका– १ स्थित दुम्जा पूर्वप्रधानमन्त्रीहरू बीपी, मातृकाप्रसाद, गिरिजाप्रसाद र सुशील कोइरालाको पुर्ख्यौली थलो हो । त्यहाँ पानीको अभाव भएपछि मातृका, बीपी र गिरिजाप्रसादका पिता कृष्णप्रसाद विराटनगर बसाइँ सरेका थिए ।

वि.सं. १९५० मा बनेको कृष्णप्रसादको घरको भग्नावशेष दुम्जामा अझै छ । वि.सं. १९९० को भूकम्पले क्षति नपुगेको यो घर २०७२ वैशाख २९ को भूकम्पले भत्केको थियो । वैशाख १२ र १३ को भूकम्पले कोइराला परिवारको यो ऐतिहासिक थलोमा खासै क्षति पुगेको थिएन । सिन्धुपाल्चोक र दोलखाको सीमानामा केन्द्रविन्दु भएको वैशाख २९ को भूकम्पले यो धरोहर गरल्यामगुर्लुम्म ढल्यो ।

बीपी प्रतिष्ठान र उद्यान निर्माणका लागि १ सय ४९ रोपनी जग्गा अधिग्रहणका लागि हाल रोक्का राखिएको घरको संरक्षण गर्दै आएका शङ्करप्रसाद कोइराला बताउँछन् । कृष्णप्रसाद यहाँबाट बसाइँ सरे पनि छोराहरू मातृका, बीपी, केशव र गिरिजाप्रसादलाई लिएर पछिसम्म पनि यहाँ आउजाउ गरिरहेको आफ्ना पिताले सुनाउने गरेको शंकरको स्मरण छ ।

प्रतिष्ठान निर्माणका लागि सार्वजनिक ७७ रोपनी र विभिन्न व्यक्तिका नाममा रहेको ७२ रोपनी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढेको गाउँपालिका– १ का अध्यक्ष विमलमान मोक्तानले बताए । जीर्ण घर भूकम्पले भत्किनुअघि नै बीपी सङ्ग्रहालय सुन्दरीजलले मर्मत गरेर संरक्षण गर्न २०७१ असारमा आर्थिक सहयोग गरेको थियो । जीर्ण घर मर्मत गर्ने प्रक्रिया अघि बढिरहेकै बेला २०७२ वैशाख १२, १३ र २९ को भूकम्प एवं पटक–पटकको परकम्पले सुन्दरीजलस्थित सङ्ग्रहालयमै क्षति भएपछि दुम्जाको घर ओझेलमा परेको थियो ।

घर मर्मतको प्रक्रिया सुरु गर्न लाग्दा भूकम्पले भत्किएपछि कुनै निकायले पनि यसको संरक्षणका लागि पहल नगरेको गुनासो स्थानीय बच्चु कोइरालाले गरे । ऐतिहासिक स्थलको संरक्षणका लागि यसको वरपर पर्ने १४ जग्गाधनीले सहमति जनाइसकेकाले सहरी विकास मन्त्रालयमार्फत प्रक्रिया अघि बढेको छ ।

भग्नावशेष अवस्थामा रहेको यस क्षेत्रको शनिबार पुरातत्त्व विभागका प्राविधिकहरूले नापजाँच गरेका छन् । जग्गा अधिग्रहणका लागि मुआब्जा वितरणसम्बन्धी प्रक्रियाको फाइल अर्थ मन्त्रालयमा पुगेको जनाइएको छ । कोइरालाको जीर्ण घर क्षेत्रको शनिबार बीपी सङ्ग्रहालयका पदाधिकारीहरूले अवलोकन गरेका छन् ।

‘प्रतिष्ठान एवं उद्यान निर्माणका लागि सरोकार भएका निकायलाई अनुरोध गरिरहेका छौं, सरकारी निकायले प्रक्रिया अघि नबढाए सहयोग जुटाएर भए पनि निर्माण गर्नेछौं, यसका लागि व्यक्तिगत रूपमा सहयोग गर्न पनि हामी जुटेका छौं’– संरक्षण गरी दर्शनीय स्थलका रुपमा विकास गर्न सङ्ग्रहालयको समन्वय एवं सहकार्य गरिरहेका परशुराम पोखरेलले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर