newskoseli.Com

हेलिकप्टर दुर्घटनाको सनसनीपूर्ण स्थलगत विवरण : ‘कारण मौसमको खराबीसँगै हतार पनि’ !

करिव १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बिग्रिरहेको थियो बुधबार । छिनछिनमा हिउँ र पानी पर्ने भइरहेको थियो । हावा–हुरीले मान्छेलाई नै उडाउला झैं थियो ।

पाथीभरा दर्शनका लागि आएका धेरै तीर्थयात्री बीचैबाट फर्किएका थिए । महिना दिनदेखि नै सो क्षेत्र हिउँले ढाकेको थियो । यही मौसममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलगायत सवार हेलिकप्टर पाथीभरा पुगेको थियो । तेह्रथुमबाटै काठमाडौं जाने भनेर उडेको हेलिकप्टर उडेपछि मात्रै पाथीभरा जाने निर्णय भएको स्थानीय सुनाउँछन् ।

पाथीभरा मन्दिरका पुजारी डिल्ली आचार्यलाई केहीअघि मात्रै मन्त्री आउने कुराको जानकारी आएको थियो । ‘जब हेलिकप्टर ओर्लियो, त्यसपछि हिउँ र हुरी–बतास चल्यो’– मन्दिरका पुजारीको भनाइ उद्धृत गर्दै व्यवस्थापन समितिका अध्यक्ष तारा घिमिरेले भने । पूजा गरेर फर्कने बेला हिउँको चिसो छल्न मन्त्रीलगायतको टोली हेलिकप्टरमै बसेर मौसम खुल्ने प्रतीक्षामा चिया समेत पिएको थियो ।

‘उहाँ हतार–हतारमा हुनुहुन्थ्यो, फेरि मौसम थप बिग्रेला भन्ने डर पनि थियो त्यसैले हतारिनुभएको हो’– घिमिरेले भने । स्वर्गद्वारीबाट आएका एक फलारी बाबाले समेत मौसम खराब भएको उल्लेख गरेको घिमिरेले सुनाए । केही समयको प्रतीक्षामा पाथीभराको ठीक पश्चिममा पर्ने ताप्लेजुङ क्षेत्र (सिधा देखिन्छ) को मौसम केही खुलेको भन्ने सूचना आएपछि चालकले हेलिकप्टर उडाएका थिए । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले भने– ‘मौसम चाहिँ खराब थियो तर दुर्घटना कसरी भयो भनेर यसै भन्न सकिँदैन ।’

हेलिकप्टर उडेको निकै पछि दुर्घटना भयो भन्ने सुन्दा विश्वास नै नलागेको पुजारी आचार्यले सुनाए । यता, सुकेटार विमानस्थलमा पनि मन्त्री चढेको हेलिकप्टर पाथीभरा आउँदैछ भन्ने जानकारी आएको थिएन । तर, थाहा पाएपछि विमानस्थलबाटै फोन गरेर जानकारी लिइएको एक कर्मचारीले बताए ।

दुर्घटनास्थल पाथीभरा मन्दिरको पश्चिम ताप्लेजुङ बजार पाखोको भीरमा पर्छ । मन्दिर क्षेत्र १२ हजार फिट उचाईमा पर्छ । तर, दुर्घटना करिव १० हजार ३ सय ९८ फिटको उचाइमा भएको थियो । सुकेटार विमानस्थलबाट दुर्घटनास्थलको खोंच प्रस्ट देखिए पनि घटनास्थललार्इ आँखाले भने ठम्याउन सक्दैन । घटना विमानस्थलबाट करिव छ–सात किलोमिटर दुरीमा पर्ने सिस्ने खोलाको शिरमा घटेको फुङ्लिङ नगरपालिका– १० का वडाध्यक्ष गमबहादुर लिम्बूले बताए ।

घटनास्थलको माथि र दायाँबायाँ ढुङ्गो छ । तल्लो क्षेत्रमा थोरै भाग जमिन छ । घटनास्थलको वरिपरी भीर छ । जानका लागि बाटो समेत राम्रो छैन । भएको बाटो पनि हिउँले पुरेको छ । घटनास्थलबाट कच्ची सडकमा आइपुग्न दुई घन्टा लाग्छ । त्यसपछि एक घन्टाको सडकमार्फत सुकेटार विमानस्थल आइपुग्ने स्थानीयको भनाइ छ । बीचमा सामान्य ओडारजस्तो स्थानमा हेलिकप्टर बजारिएको र त्यसपछि आगो लागेको स्थानीयको दाबी छ ।

उक्त दुर्घटनामा मन्त्री अधिकारी र अङ्गरक्षक (सेनाका जमदार) अर्जुनप्रसाद घिमिरेको शव पहिचान भएको छ । अन्य पाँच शव पहिचान गर्न सकिएको छैन । पाथीभराको थुम्कोबाट उड्ने क्रममा नियमित गति लिन नसक्दा त्यसैको सिधा तल भीरमा गएर ठोक्किएको हुन सक्ने घटनास्थलमा पुगेका एक उद्धारकर्मीले बताए ।

तेह्रथुमको आठराईस्थित चुहानडाँडामा विमानस्थल निर्माणका लागि स्थलगत अवलोकन र अध्ययन गर्न पुगेका मन्त्री अधिकारीसहित उनका अङ्गरक्षक अर्जुनकुमार घिमिरे, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, उपसचिव युवराज दाहाल, यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया र पाइलट प्रभाकर केसीको दुर्घटनामा निधन भएको छ । यसअघि ताप्लेजुङको घुन्सामा २०६३ असोज ७ मा पनि विशिष्ट व्यक्ति सवार हेलिकप्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित २४ जनाको निधन भएको थियो ।

के भन्छन् उद्धारकर्ता ?

नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीले हिउँ पर्दापर्दैको अवस्थामा उद्धारकार्य र शव उठाउने कार्य गरेका थिए । हिउँको कठ्याङ्ग्रिँदो चिसोमा लुगलुग काम्दै दुई दिन हिउँसँग पौंठेजोरीमै उनीहरु उद्धारकार्यमा जुट्दा केही स्थानीय समेत घटनास्थलमा पुगेका थिए ।

घटना बुधबार दिउँसो करिव १ः२० बजे भएको थियो । उद्धारका लागि काठमाडौंबाट ३ः२० मा उडेको सेनाको एमआई– १७ हेलिकप्टर अपराह्न ४ः३० बजे सुकेटार विमानस्थल पुगेको थियो । उद्धार टोली लिएर तत्कालै घटनास्थल उडेको हेलिकप्टरले साँझ ५ः४६ बजे डोरीमा झुन्ड्याएर दुई शव सुकेटार विमानस्थलमा ल्यायो । हेलिकप्टर बस्ने ठाउँ नभएपछि उड्दाउड्दै दुई सेना डोरीमार्फत घटनास्थल झरेका थिए ।

त्यसअघि नै घटनास्थल पुगेका सुरक्षाकर्मीले शव सङ्कलन गरेर प्लास्टिकमा राखिसकेका थिए । सेनाका तालिम प्राप्त नायक प्रताप लामा र लेसनायक तेजव घलेले हुकमार्फत शवलाई बास्केटमा राखेपछि हेलिकप्टरले झुन्ड्याएर सुकेटार विमानस्थल ल्याएको थियो । हेलिकप्टरभित्र सेनानी चिरञ्जीवी चौलागाईंलगायत व्यवस्थापनमा खटिएका थिए ।

साँझ ६ बजे थप दुई शव सुकेटार ल्याइपुर्‍याएपछि ६ः१० बाट हिउँ पर्न थालेको खबर घटनास्थलबाट आएपछि सेनाले शव उठाउने कार्य स्थगित गर्‍यो । बाँकी तीन शव डोकामा बोकेर ल्याउने स्थानीय सुरक्षा संयन्त्रको प्रयास सम्भव नभएको प्रजिअ भण्डारीले बताए ।

बिहीबार बिहान करिव ७ बजे केही समय मौसम खुलेका बेला एकैसाथ तीन शव हेलिकप्टरले विमानस्थलमा ल्याएपछि मौसम बिग्रिएको थियो । शव झुन्ड्याएको डोरीमा झुन्डिएर नै सेनाका दुई उद्धारकर्ता विमानस्थल आएका थिए । करिव ८ बजेदेखि पर्न थालेको हिउँ ११ः४५ बजेसम्मै रह्यो । विमानस्थलमा आधा फिट हिउँ जमे पनि मौसम सफा भएपछि दिउँसो १२ः१० मा शव लिएर सेनाको हेलिकप्टर काठमाडौं उडेको थियो । सेनाका उद्धारकर्ता कठिन अवस्थामा रात बिताएर उद्धारमा खटिएको अनुभव सुनाउँछन् ।

यसो भन्छन् उद्धारकर्ता सेनानी चौलागाईं

हिउँ त परिरहेकै थियो । हावाहुरी पनि आइरहेकै थियो । भीर भएका कारणले उद्धारमा धेरै कठिन भयो । हामीले हेलिकप्टर ‘ओभरिङ’ गरेर बास्केटसहित डोरीबाट दुई जना सेनालाई पठाएर शव उठाउन सफल भयौं । मैले माथिबाट ‘एङ्करेज’ गरेको थिएँ । उनीहरु काम सकेर डोरीमै झुन्डिएर सुकेटारमा आए । डोरीलाई नै हावाले घुमाएर आफैं दुर्घटना हुने सम्भावना हुँदाहुँदै पनि जोखिम लिएर शव सङ्कलन गरिएको हो ।

उद्धारकर्ता नायक लामाले भने…

आकाशमै हेलिकप्टरलाई माथि नै ‘ओभरिङ’ गरेर हामी दुई जना (म र तेजव घले) झर्‍यौं । पहिलो चरणमा तीन वटा शव बास्केटमा हालेर पठाइएकामा ढुङ्गामा ठोक्किएर एउटा शव झर्‍यो । पछि फेरि दोस्रो पटकमा दुई वटा शव हाल्न सफल भयौं ।

समय छोटो भएकाले बुधबार रात परेपछि हिउँ पनि झर्‍यो । एमआइ– १७ हेलिकप्टर आउन सकेन । माथिल्लो निकायबाट शव कुरेर बस्ने आदेश आएपछि प्रहरी, सशस्त्र र सेना रातभर आगोको भरमा बसेका थियौं । हिउँचितुवा, स्याल आउन सक्ने भएकाले रातभर कुर्नुपर्ने भयो । लुगलुग कामे पनि हिउँ टकटक्याउँदै बस्नुपरेको थियो ।

शुक्रबार बिहान पुनः हेलिकप्टर आएपछि हामीले शव बास्केटमा हाल्यौं । त्यसपछि डोरीमा हुक गरेरै हामी सुकेटारसम्म झुन्डिएर आएका हौं । कठिन भए पनि शव उठाउन सक्यौं, त्यसमा खुशी लागेको छ । यस्तो उद्धार पहिले पनि गरिएको थियो तर रातभर हिउँमा बासै बसेर गरिएको चाहिँ पहिलो हो ।

के भने स्थानीयवासी गौतमले ?

हामी ४ः३० बजे पुग्दा क्षतविक्षत अवस्थामा शरीरका अङ्ग यत्रतत्र छरिएका थिए, तिनको सङ्कलनमा लाग्यौं । सेना, प्रहरी सबै थियौं । हामी राति आठ बजे सबै काम सकेर फर्कियौं तर प्रहरी नायब उपरीक्षक सञ्जय थापाको नेतृत्वमा घटनास्थलमा सुरक्षाकर्मी बसेका थिए । त्यहाँ प्रायः घोरल, मृगजस्ता वन्यजन्तु पुग्छन् ।

हेलिकप्टर ठोक्कियो वा अरु के भयो, यसै भन्न सकिन्न । शव जलेको छ, उछिट्टिएको छ । ओडार र पहरा छ । अलि–अलि पोथ्रा छन् । माथिबाट ठोक्किँदै झरेको भन्दा एकै पटक ठोक्किएको हुन सक्छ । ओडारको छेउमा मन्त्री अधिकारीको केही अङ्ग परेकाले अनुहार भने चिनिन सक्ने देखिन्थ्यो । सिस्नेको सिरानमा दुर्घटना भएको हो ।

यसो भने प्रजिअ अनुज गौतमले…

पाथीभारा दर्शन गरेर फर्कने क्रममा घटना भएको हो । घटनास्थल एकदम विकटमा पर्छ । फुङलिङ नगरपालिका– १० मा घटना भएको हो । त्यो ठाउँ ठूलो भीर छ । थाहा पाउने बित्तिकै चार वटै सुरक्षा निकाय परिचालन भए । सात शवलाई प्रहरीले सङ्कलन गरेर राखेको थियो । विकट भएकाले र हिउँ परिरहेकाले बोकेर ल्याउने अवस्था रहेन । बाटो पनि हिउँले पुरिएको अवस्था थियो ।

त्यसपछि नेपाली सेनाको हेलिकप्टरबाट बुधबार चार शव उठायौं । मौसम बिग्रियो । हेलिकप्टर जान सक्ने अवस्था भएन । अनि डोकामा बोकेर ल्याउने प्रयास पनि सफल नभएपछि रातभर सुरक्षाकर्मी भीरमै बसेर शुक्रबार बिहान मौसम खुलेपछि पुनः हेलिकप्टरबाट तीन शव ल्याइएको हो । दुर्घटना हुँदा मौसम खराब नै थियो ।

तर, दुर्घटना कसरी भयो, भन्न सक्तिनँ । मन्त्रीज्यू तेह्रथुमको कार्यक्रममा आउनुभएको कुरा मलाई पछि मात्रै त्यहाँका प्रमुख जिल्ला अधिकारीले भन्नुभयो । तर, मैले चाहिँ चुहानडाँडाबाट पर्यटन मन्त्री पाथीभरा दर्शनका लागि आउँदै हुनुहुन्छ भन्ने खबर पाएपछि नेपाल प्रहरीको टोली पठाएको थिएँ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर