newskoseli.Com

पशुपति आइपुगे ६ हजार साधुसन्त : यस्तो छ महाशिवरात्रिको तयारी

यस वर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा साधुसन्तको आगमन विगतको भन्दा बढेको छ ।

भारतको प्रयागराजमा लागेको कुम्भ मेलाकै सेरोफेरोमा शिवरात्रि पर्व परेकाले साधुसन्तको भीड बढेको महाशिवरात्रिको विषयमा जानकारी दिन पशुपति क्षेत्र विकास कोषले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सदस्य–सचिव डा. प्रदीप ढकालले बताए ।

पशुपति क्षेत्रमा शनिबार दिउँसोसम्म ६ हजार साधुसन्तको आगमन भइसकेको उनले बताए । महाशिवरात्रिका अवसरमा फागुन २० गते पशुपतिनाथको दर्शनका लागि आउने लाखौं भक्तजनको भीड व्यवस्थापन गर्न तीन वटै सुरक्षा निकायका ६ हजार सुरक्षाकर्मी परिचालन गरिने कोषले जनाएको छ । सुरक्षा र व्यवस्थापनका निम्ति नेपाल स्काउटलगायत विभिन्न सङ्घ–संस्थाका ५ हजार स्वयंसेवक समेत खटाइनेछ ।

भक्तजनलाई हुन सक्ने आकस्मिक स्वास्थ्य समस्या समाधानका लागि मूल मन्दिरको बाहिरपट्टि नै नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गर्नेछ । एम्बुलेन्स सेवासहित ५० स्वास्थ्य संस्थाले शिविर राख्ने तयारी गरेका छन् । पशुपति क्षेत्रको वातावरणलाई स्वच्छ बनाउन एक हप्तादेखि तीन वटै सुरक्षा निकाय, स्थानीय तहलगायतका संस्थाले सफाइ अभियान सञ्चालन गरिरहेका छन् । महाशिवरात्रिका दिन बिहानैदेखि दर्शनार्थीको भीड व्यवस्थापन गर्न ५ स्थानमा जुत्ता–चप्पल राख्ने व्यवस्था मिलाइएको छ ।

दर्शनार्थी बाहिरिने मूलद्वार नजिकै चन्दन वितरण गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ । मूल मन्दिरभित्र कोषकै नेतृत्वमा रात्रिकालीन व्यवस्थासहितको जनशक्ति परिचालन गरिने छ । हंसमण्डप, वनकालीको खुला स्थान, तिलगङ्गाको क्षेत्रलाई आवास क्षेत्र तोकी १ सय संस्थालाई निःशुल्क भोजन, पानी, चिया वितरणको व्यवस्था मिलाइएको छ ।

साधुसन्तलाई निःशुल्क आवास, भोजन, चिया, पानी र चिसोबाट बच्न धुनी बाल्ने व्यवस्था गरिएको छ । सबै साधुसन्तलाई दान–दक्षिणासहित फागुन २२ गते बुधबार बिदाइको तयारी कोषले गरेको छ ।

यस्तो छ दर्शन–मार्ग

मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट एक–एक गरी दुई, जयवागेश्वरी–इँट्टापाखा–भुवनेश्वरी अघिको सानो फलामे ढोका हुँदै पश्चिम प्रवेशद्वारबाट एक, बत्तीसपुतली, गौशाला तथा विमानस्थल गौशाला भएर पिङ्गलास्थान–सुमार्गी भवन–चारशिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट एक–एक गरी दुई लाइनको व्यवस्था गरिएको सदस्य–सचिव ढकालले बताए ।

भक्तजनको भीड बढी भएमा तिलगङ्गा–राममन्दिरतिरबाट समेत एक लाइनको व्यवस्था गरिने छ । पशुपतिनाथका नियमित दर्शनार्थीले बिहान सात बजेअघि नै भुवनेश्वरी अघिको सानो फलामे ढोकाबाट प्रवेश गरी दर्शन गरिसक्नु पर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

तिलगङ्गा, कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त गौशाला, सिफलचौर, गुह्येश्वरी पारीको खाली भाग गरी पाँच स्थानमा सवारी पार्किङको व्यवस्था मिलाइएको छ । विमानस्थल–गौशाला–चावहिल चक्रपथमा दर्शनार्थीको चापअनुसार सवारी एकतर्फी गरिनेछ ।

हंसमण्डपमा भरत नाट्य र अन्य कलाकारले भक्तिसङ्गीत कार्यक्रम प्रदर्शन गर्नेछन् । आइतबारदेखि नै पश्चिम मूल ढोकाअघि शिव र शक्तिसँग सम्बन्धित विद्युतीय झाँकी प्रदर्शन गरिनेछ । पशुपति क्षेत्रमा मासु, मदिरा, गाँजा, भाङलगायत नशालु पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाइएको छ ।

मेलामा प्लाष्टिक झोला एवं सामग्री नल्याउन पनि कोषले भक्तजनमा आह्वान गरेको छ । ज्येष्ठ नागरिक र अशक्तलाई दर्शन गर्ने विशेष व्यवस्था मिलाइएको जनाइएको छ । पर्वको तयारीका लागि ८ उपसमिति गठन गरी सबै तयारी अन्तिम चरणमा पुगेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर