NewsKoseli.Com

यसरी खाएँ सेनाको गोली, जसले मेरो खुट्टा लग्यो

साँझ पौने सात बजेतिर एक्कासि फायरिङ भयो । दुस्मन आएको स्पष्ट जनाउ थियो त्यो । फायरिङको आवाजसँगै दुस्मनले चारैतिरबाट घेरेको महशुस गर्‍यौं । फायर कताबाट भएको हो ? यकिन गर्न सकिएन ।

पूर्वतिर इन्चार्ज मल्ल थिए । दक्षिण हुँदै पूर्वतिर चेतना गएकी थिइन् । पश्चिमतर्फ जासुसी गर्न गएका साथीहरू त्यति बेलासम्म आइपुगेका थिएनन् । त्यसकारण दुस्मन पक्कै पनि पश्चिमबाट आएको होला भन्ने अनुमान गर्‍यौं । सेना पश्चिमबाट आएर हाम्रा ‘जासुस’ साथीहरूलाई कब्जा गरेको हुन सक्छ भन्ने लाग्यो । हामी उत्तरतर्फको बारीको छेउ नजिकैको डाँडामा थियौं । साथीहरू वस्तीको नाका–नाकामा सेन्ट्री बसेका थिए । त्यसैले दुस्मन पक्कै पनि जङ्गलतर्फबाट आएको हुनुपर्छ, यदि जङ्गलतर्फबाट नआएको भए पश्चिमबाट आएको हुनुपर्छ भन्ठानेर हामी वस्तीबाटै भाग्ने निर्णयमा पुग्यौं ।

धेरैबेर सोचेर छलफल गर्ने समय थिएन । अपर्झट आइपरेको विपत्तिमाथि तुरुन्त निर्णय लिनुको विकल्प पनि थिएन । त्यसैले वस्तीकै बीचबाट घेरा तोड्न वस्तीतर्फ हामफाल्यौं । अफसोच ! हामीले सोचेविपरीत सेना त उत्तर वा पश्चिमतिरबाट होइन, वस्तीतिरबाटै आएर पूर्व–दक्षिण दिशालाई ‘सी’ आकारमा घेरेको रहेछ ।

सेनाले असिना परे जसरी गोली बर्साइरहेको थियो । बुद्धिराम ढलजस्तो फोहोर बाटो हुँदै जङ्गलतिर भागे । चारैतिरबाट ड्याङ्… ड्याङ्… ड्याङ्… फायरिङ भैरहेको थियो । अन्धाधुन्ध गोली बर्सिरहेका बेला म तल्लो घरको आँगनमा पुगें । एउटा मान्छे उभिएको थियो । त्यो हाम्रो साथी पनि हुन सक्छ वा दुस्मन पनि हुन सक्छ भन्ने सोचोर आँगनको डिलमा भएको बार नै भत्काएर बारीको कान्लामा हामफालें । बारी मकै छर्नका लागि तयार थियो । दिनभरको झरीले हिलाम्ये थियो । आँगनमा भएको कान्ला आठ फिटजति अग्लो रहेछ । त्यसै कान्लाबाट हामफालें । हिलो बारीमा जुत्ता गड्यो । त्यो जुत्ता छाडेर म अरु तीन–चार कान्ला हामफाल्दै र घस्रँदै ओरालोतिर कुदिरहें । त्यतिन्जेलसम्म हातमा रहेको रेडियो पनि छुट्यो । अरु दुई–तीन वटा कान्ला नाघेपछि गोजीमा रहेको डायरी पनि खस्यो ।

अझै दुई कान्ला तल पुगेपछि एक जना कलाकार बहिनी पनि मेरो छेवैमा आइपुगिन् । उनी र म केही क्षण सँगसँगै कान्ला नाघ्दै थियौं । हामफाल्दै जाँदा एउटा अग्लो कान्ला आयो । त्यो कान्लाबाट कलाकार बहिनी हामफालिन् । म भने बहिनीको त्यस्तो साहस देखेर पलभर त्यहीं सोच्न थालें । म आफैं चाहिँ हाम फालीहाल्न सकिनँ ।

एक–दुई सेकेन्ड त्यही सम्झेर समय बर्बाद गरें । त्यहाँ त सेकेन्डमै मृत्यु घुमिरहेको थियो । गोली बर्सिरहेका थिए । त्यत्तिकैमा म थचक्कै बसें । त्यसपछि गोली लागेछ भन्ने लाग्यो । गोली लागेको भए पनि नलागेको भए पनि यहाँ धेरै समय बसे मारिन्छु तर यहाँ मर्नुहुन्न भन्ने विचार मस्तिष्कले प्रवाह गर्‍यो । त्यसैबेला छोरीलाई सम्झिएँ । मैले उपत्यकामा काम गर्दा छोरी आठ–नौ वर्षकी थिइन् । उनीसँग भेट हुँदा म नछुटुन्जेल लामो न लामो सास् तानेर आत्तिन्थिन् । मैले कुनै पनि सर्तमा छोरीलाई भेट्नुपर्छ । त्यसैले यहाँबाट भागिहाल्नुपर्छ भन्ने विचार मनमा पलायो ।

म भिरालोमा पौडी खेले जसरी सललल्ल बगें । त्यसपछि क्रलिङ गर्दै, घस्रँदै सात–आठ कान्ला तल झरें । सात–आठ कान्ला पार गरेपछि कुहिनाबाट रगत बगिरहेको थियो । त्यहाँभन्दा अघि बढ्न सकिनँ ।

मभन्दा ठीक माथिल्लो पाटासम्म सेनाले हाम्रो पिछा गर्दै आएको रहेछ । अँध्यारो भइसकेकाले दुई जना सेनाले आपसमा कुरा गरेको सुनियो । एक जनाले भन्दै थियो– “मैले हानेको गोलीले एक जना ढलेको छजस्तो लाग्छ, टर्च निकालेर हेरौं ।” उसको साथीले फाइटर ब्यागबाट टर्च निकाल्नै लागेको थियो, ठीक त्यसै बेला माथि डाँडामा बसेको सेनाले ‘भेरीलाइट’ बाल्यो । लाइटको उज्यालाले छैलुङ डाँडालाई झिलीमिली पार्‍यो । त्यसैबेला मैले मृत्युको अन्तिम घन्टी बजेको अनुभूत गरें । र, मैले आफ्नै मृत्युलाई नजिकबाट नियालिरहेको थिएँ ।

‘मृत्युदण्ड’ का जल्लादहरू पचास मिटर पर खासखुस गरिरहेका थिए । म भने सिकारीले गोली हानेर रुखबाट भुइँमा खसेको चराजस्तै फट्फटाइरहेको थिएँ । उनीहरू मेरो खोजीमा यत्रतत्र नियालिरहेका थिए । तर, संयोग ! त्यो ‘भेरीलाइट’ नै मेरो मृत्युका विरुद्ध ‘सञ्जीवनी’ बन्यो ।

छैलुङ डाँडा छर्लङ्गै उज्यालो भएपछि सेनाले टर्चलाईट निकाल्न आवश्यक ठानेनन् । एकैछिनको उज्यालोमा उनीहरूले चारैतिर नजर डुलाए । तर, कान्लाको कुनामा आड लिएर बसेको हुनाले उनीहरूले मलाई देख्न सकेनन् । कतै नदेखेपछि उनीहरू डाँडातिर उक्लिए । ‘भेरीलाइट’ नबालेको भए टर्चलाइटले त म घस्रँदै गर्दा भुइँभरि बसेका रगतका डोबहरू उनीहरूले सजिलै देख्न सक्थे । त्यही डोब पछ्याउँदै उनीहरूले मलाई सजिलै कब्जामा लिन सक्थे ।

“भागेछन् सालेहरू !” भनेर आक्रोश पोख्दै र गुनगुन् गर्दै उनीहरू हिँडे । एक पटक बाँचियो भनेर खुसी पनि भएँ । म सँगसँगै दौडिएकी बहिनी कान्लामा कावा खाँदै पूर्वतिर लागिन् । उनी पनि घेरा तोड्न सफल भइन् ।

वस्ती र मेराबीचको दुरी करिव डेढ किलोमिटरको हुँदो हो । माथि गाउँमा अझै पनि कोलाहल मच्चिइरहेकै थियो । कुकुरहरू भुकिरहेका थिए । आइमाई र केटाकेटी चिच्याइरहेका थिए । फाट्टफुट्ट गोली पनि चलिरहेको थियो । यो १५ मिनेटको अवधिमा दुस्मनसँग लुकामारी गर्ने र ज्यान बचाउने बाहेक आफ्नै शरीरमा समेत कहाँ–कहाँ के–के भयो ? कताकता गोली लाग्यो ? भन्नेतर्फ समेत ध्यान गएन ।

बल्ल कान्लाको कुनामा पल्टेर शरीरका अङ्ग चलाउन थालें । सर्वप्रथम भित्ता समातेर उभिने कोशिस गरें, तर उभिन सकिनँ, मेरो खुट्टा त खोलाको गिट्टी चालेजस्तो ‘सोर्‍याक–सोर्‍याक’ गर्ने पो भएछ । “लौ खत्तम भएछ !” मैले भनें । दुवै कुहिनाका छाला खुइलिइसकेका थिए । कुहिनाबाट रगत बगिरहेको थियो । खुट्टामाथि खुट्टा राख्दा फर्लक्क पल्टियो । त्यसरी पनि उभिन सकिनँ ।

गोली लागेको ठाउँबाट ह्वालह्वाल्ती रगत बगिरहेको थियो । यसरी रतग बगिरह्यो भने त्यसकै कारणले पनि म छिट्टै मर्छु भन्ने लागेपछि पहिलो काम रतग रोक्नु हो भन्नेमा पुगें । त्यसपछि दुई वटा छोटा–छोटा मोजा गाँसेर घुँडामाथि बाँधें । त्यसले पनि रगत थामिएन । के गर्ने ? उपाय थिएन । मैले एउटा फुल र अर्को हाफ ज्याकेट लगाएको थिएँ । फुल ज्याकेट खोलेर त्यसको चेन निकालें । दुवैपट्टिको चेनले बेस्सरी कसें । त्यसपछि रगत बग्न कम हुँदै गएको अनुभूत गरें । दुखाइको त अनुभव नै भएन । अचम्मै लाग्यो, त्यसरी गोली लागेर खुट्टा नै छियाछिया हुँदा पनि दुखाइको कुनै सङ्केत शरीरले दिएको थिएन । मैले जीवनमा दुखाइबारे पहिलो अनुभव बटुलें ।

तुरुन्तै मेरो मनमा “दुस्मनको हातबाट मर्नुभन्दा त भीरबाट पल्टेर आत्महत्या गर्नु ठीक हुन्छ” भन्ने सोच पलायो । त्यसैले कुनै हालतमा पनि पहराको डिलसम्म पुग्नुपर्दछ भन्ने लाग्यो । कथमकदाचित भोलि बिहान उज्यालोमा दुस्मन फेरि खोज्न आयो भने त्यहींबाट गुल्टिनु पर्दछ भन्ने सोचेर विजय प्राप्त गरेपछि घस्रिँदै अगाडि बढें । करिव सात–आठ कान्ला अझै घस्रँदै र ओर्लदै गएँ । अन्तिममा सानो कान्ला उक्लेर फेरि ओर्लनुपर्ने ठाउँ आयो । अर्को कान्लाचाहिँ निकै ठूलो र भिरालो थियो । त्यहाँ-बाट ओर्लन सक्ने सामर्थ्य जुटाउन मैले सकिनँ । आत्मबल पनि कमजोर भयो । अब ती दुई वटा कान्लाको बीचमा पल्टनुबाहेक मसँग अर्को उपाय रहेन । म त्यही कुनामा पल्टिरहें ।

त्यतिबेलासम्म पनि मैले दुखाइको कुनै अनुभूति गरिनँ । वास्तवमा शरीर तातो छउन्जेलल दुख्ने रहेनछ । क्रमशः शरीर शिथिल भएर चिसिन थालेपछि मात्र दुखाइले पनि जिस्काउँदो रहेछ ।

(दसवर्षे जनयुद्धः स्मृतिका डोबहरुको एक अंश, शीर्षक हामीले दिएका हौं । नयाँ वर्ष– २०७६ को सुरुआतसँगै यो पुस्तकको दोस्रो संस्करण बजारमा आउँदै छ । –सम्पादक ।)

प्रतिकृया दिनुहोस्

Google AdSense

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

Google AdSense

आजको विनिमय दर