NewsKoseli.Com

युरोप र अमेरिका निर्यात भैरहेका यी नेपाली जडीबुटी

कच्चा पदार्थको रुपमा किनबेच हुने जडीबुटीलाई यहाँका व्यवसायीले नेपालगञ्जमै प्रशोधन गरी युरोप र अमेरिका निर्यात गर्न थालेका छन् ।

कच्चा जडीबुटी निर्यात गर्दा ठूलो झन्झट भएपछि व्यवसायीले नेपालगञ्जमा प्रशोधन कारखाना सञ्चालन गरेर प्रशोधित जडीबुटी प्याकिङ गरी युरोप र अमेरिकालगायतका मुलुकमा बिक्री गर्न थालेका हुन् । कर्णाली प्रदेशलगायत हिमाली र पहाडी जिल्लामा उत्पादन हुने जडीबुटी सङ्कलन गरेर नेपालगञ्जमा भण्डारण गरी निर्यात गर्दै आएका व्यवसायीले कच्चा पदार्थ मात्र निर्यात गर्दा लाभ नहुने भएपछि प्रशोधन गरेर बिक्री गर्न थालेका हुन् ।

नेपाल जडीबुटी व्यवसायी सङ्घका कार्यालय प्रमुख पुष्कर खरेलका अनुसार आर्थिक वर्ष २०७४–७५ मा अमला पाउडर १ हजार २० किलो, अश्वगन्धा पाउडर ४ हजार ६ सय किलो र सितल चिनी पाउडर १ हजार २० किलो इटली, जर्मन र फ्रान्समा निर्यात भएको थियो । चालू आर्थिक वर्ष २०७५–७६ को साउनदेखि पुससम्म अश्वगन्धा ३ हजार ५ सय किलोग्राम प्रशोधित जडिबुटीका रुपमा अमेरिका निर्यात भएको छ । नेपालगञ्ज जडीबुटी कारोबार हुने प्रमुख क्षेत्र हो । यहाँबाट विषेशगरी भारतमा जडीबुटी निर्यात हुन्छ । अहिले युरोप र अमेरिकामा बजार खोज्ने काम भइरहेको सङ्घका अध्यक्ष मोहम्मद याकुव अन्सारीले बताए ।

प्रशोधन गरी भारत बाहेक तेस्रो मुलुकमा बिक्री भइरहेको जडीबुटी प्रारम्भिक चरणको भएकाले न्यून रहेको उनको भनाइ थियो । ‘नेपालगञ्जमा प्रशोधन भएको जडीबुटीले युरोप र अमेरिकी बजारमा स्थान पाउनु राम्रो कुरा हो,’ अन्य मुलुकमा समेत जडीबुटीका प्रमुख निर्यातकर्ता रवीन्द्रनाथ शुक्लाले भने– ‘यसको परिमाण बढाउन र यो बजारलाई स्थायी बनाउन स्वयं व्यवसायी र सरकारका तर्फबाट धेरै गर्न बाँकी छ ।’

प्रशोधन गरी निर्यात गरिने जडीबुटीमा लगाइने प्रशासनिक झन्झट अन्त्य गर्ने हो भने यसको आकार बढ्ने उनको भनाइ छ । निर्यातकर्ता शुक्लाका अनुसार प्रशोधित जडीबुटीको गुणस्तरलाई प्राथमिकता दिए युरोप र अमेरिकी बजारमा यहाँको जडीबुटीको पहिचान हुनेछ । कच्चा पदार्थ बिक्री गरेर मात्र नेपालको जडीबुटीले बजारमा राम्रो मूल्य पाउन नसकेपछि प्रशोधन नै गर्ने गरी स्थानीय व्यवसायीले ठूलो लगानीमा उद्योग खोलेका हुन् ।

सत्यम इन्टरनेसनल, बाहुबली हर्बल, हिमालय हर्बलजस्ता उद्योगले यहाँ भण्डारण हुने जडीबुटी प्रशोधन गरेर बिक्री गर्दै आएका छन् । कच्चा पदार्थभन्दा प्रशोधित जडीबुटी निकासीमा सहज र मुनाफा समेत हुने गरेको जडीबुटी व्यवसायी सङ्घका पूर्वउपाध्यक्ष शकीलअहमद जसगढले बताए । सरकारका तर्फबाट पनि प्रशोधित जडीबुटी निर्यातका लागि प्राथमिकता दिइए तापनि व्यवहारमा कार्यान्वयन हुन नसकेको उनको गुनासो छ ।

‘हालसम्म जे–जति गरिरहेका छौं, सबै निजी क्षेत्रका व्यवसायीबाट भएको छ,’ जसगढले भने– ‘सरकारले जडीबुटी व्यवसायीलाई सधैं आश्वासन दिने मात्र काम भएको छ, सरकारी सहयोग हुन सके नेपाली जडीबुटीले युरोप र अमेरिकामा स्थायी बजार बनाउन सक्दछन् ।’

प्रतिकृया दिनुहोस्

Google AdSense

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

Google AdSense

आजको विनिमय दर