newskoseli.Com

मन्त्री रवीन्द्रलाई सम्झँदै विद्या भट्टराईको दुःखेसो : ‘त्यही दिनचाहिँ शुभयात्रा भन्न पाइँन’

‘जहाँ जाँदा पनि म उहाँलाई शुभयात्रा भनेर बिदाइ गर्थें, त्यही दिन मात्र मलाई शुभयात्रा भन्ने अवसर मिलेन, आज पनि त्यही पश्चात्ताप छ ।’

तत्कालीन मन्त्री तथा नेकपा नेता रवीन्द्रप्रसाद अधिकारीकी पत्नी विद्या भट्टराईले निधन रवीन्द्रको निधन भएको १२औं दिन अधिकारीलाई सम्झँदै यसै भनिन् ।

‘जति हतार नै भए पनि जाने बेला जानकारी गराएर जानुहुन्थ्यो, मैले त्यही दिन शुभयात्रा भन्न पाइँन । घटना त्यही दिन भयो, आज पनि मनमा त्यही कुरा आइरहन्छ’– उनलाई यसैमा आत्मग्लानि छ । परिस्थितिलाई स्वीकार्नुको विकल्प नभएको बताउँदै आफू आघातमा परेको उनले बताइन् ।

राजनीतिक व्यक्तित्व भएकाले रवीन्द्रले आफूलाई समय नदिएको गुनासो नरहेको र दुवै जना काममा भएकाले आफूहरुबीच एक प्रकारको उच्च समझदारी भएको बताउँदै कुनै बेलाकी विद्यार्थी नेत्री विद्याले भनिन्– ‘एक–अर्काप्रतिको सम्मान र माया थियो । श्रीमान् र श्रीमती भन्दै जुनसुकै बेला पनि हामी कुरा शेयर गर्दैनथ्यौं । एक–अर्काको अवस्था र अनुहारलाई पढेर आफ्नो कुरा राख्ने गर्थ्यौं । अन्तिम समयसम्म उहाँले मलाई तपाईं नै भनेर सम्बोधन गर्नुभयो । मन्त्री भएपछि मात्रै उहाँसँग अलि बढी सँगै बस्ने अवसर मिलेको थियो ।’

जीवनमा पहिलो पल्ट आफूलाई एकदम नराम्रो लागेको वाइड बडी जहाज काण्ड भन्दै विद्याले धेरै पछि आफूले सो विषयमा सोध्दा उनले भनेका थिए– ‘सिस्टमबाट अन्तिम किस्ता गयो, नगएको भए जहाज आउँदैनथ्यो । मेरो कुनै संलग्नता छैन विद्या, चिन्ता लिनु पर्दैन । यो सबै वायुसेवा निगमलाई डुबाउने खेल हो । निजी कम्पनीहरुबाट यो खेल सुरु भएको छ । मलाई सिध्याउने खेल हो तर म जिरोबाट पनि आउन सक्छु । यो सबै राजनीतिका लागि बनाइएको एजेन्डा हो, म गलत छैन ।’

आफू जुन कुरामा खुशी हुन सकिन्छ, त्यसैमा रमाउनुपर्छ भन्ने मान्यता राख्ने अधिकारीले आफूलाई कुनै पनि कुरामा दबाव नदिएको र आफू अब्बल हुनुपर्छ भन्ने मान्यता राखेको विद्याले बताइन् । ‘राजनीतिमा महिलाको आगमन र अस्तित्वलाई अझै पनि सहज स्वीकारेको पाइँदैन । अहिले म पीडामा नै छु, राजनीतिमा जाने–नजानेबारे सोच बनाएकी छैन तर उहाँको सपना पूरा गर्ने दायित्वबाट म अलग हुन मिल्दैन ।’

त्यो कविता र स्वर मेरो होइन…

घटना भएको केही घन्टाभित्रै ‘अधिकारीकी श्रीमती विद्याको मन रुवाउने कविता’ भनेर सामाजिक सञ्जालभरि सार्वजनिक गरिएको भिडियोप्रति भट्टराईले आपत्ति जनाएकी छन् ।

‘घटना भएको केही घन्टामा नै मेरो नामको कविता र स्वर भन्दै युट्युब र सामाजिक सञ्जालमा राखिएको रहेछ । त्यति छिटो, त्यो अवस्थामा म कसरी कविता लेखेर वाचन गर्न सक्छु ? धेरैले मैले नै हो भनेर सोच्नुभएको रहेछ, भेट्न आउनेले पनि सोध्नुभयो । मप्रति सहानुभूति राखेर पीडाको व्यापार जसले गर्नुभयो, त्यो राम्रो भएन । यसले मलाई झनै दुःखी बनाएको छ । यसले भ्रम छर्ने काम भएको छ । को हो, त्यो पत्ता लगाउने प्रयास भैरहेको छ’– उनले भनिन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर