NewsKoseli.Com

सर्वोच्चको फैसला : ‘बागदरबार भत्काउन मिल्दैन’

यस्तो छ राणाकालीन ‘बागदरबार’ अर्थात् ‘हरिभवन’ को इतिहास !

काठमाडौं महानगरपालिकाले बागदरबार भत्काएर नयाँ भवन बनाउन नपाउने भएको छ । १२ र २९ वैशाख, २०७२ को भूकम्पका कारण पूर्णरुपमा क्षति पुगेको उक्त दरबार भत्काएर नयाँ बनाउने कामपाको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेकाले योजना विफल भएको हो ।

बागदरबार नभत्काउन माग गर्दै अदालतमा परेको रिट निवेदनमा मङ्गलबार न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सपना प्रधानको संयुक्त इजलासले सो आदेश जारी गरेको थियो । उक्त आदेशमा महानगरले भवन भत्काउन दिएको ठेक्का पनि बदर गरिएको छ । महानगरसँग बागदरबारको भोगचलनको मात्रै अधिकार रहेको तर स्वामित्व नरहेको भन्दै सर्वोच्चले यस्तो फैसला गरेको हो ।

आदेशमा बागदरबार संरक्षणका लागि १५ दिनभित्र पुरातत्त्व विभागका महानिर्देशकको संयोजकत्वमा विज्ञ टोली बनाउन परमादेश जारी भएको थियो । उक्त भवन निर्माण भएको सय वर्ष नपुगेको तर भूकम्पका कारण जीर्ण भएको भन्दै महानगरले भत्काउन खोजेकामा सय वर्ष नभए पनि कलात्मक भवन संरक्षण गर्नुपर्ने भएकाले सो विषयमा प्रवेश गर्नै नपरेको कुरा परमादेशमा उल्लेख छ ।

भूकम्पपछि बागदरबार भत्काउन लाग्दा विरोध भएपछि कामपाले प्रबलीकरण गर्ने निर्णय गरेको थियो । तर, विद्यासुन्दर शाक्य महानगर प्रमुखमा निर्वाचित भएपछि फेरि बागदरबार भत्काउने निर्णय गरेर ठेक्का प्रक्रिया अघि बढाए । उनले यो भवन ‘बागदरबार’ नभएर ‘हरिभवन’ भएको तर्क अघि सारेका थिए । करिव १८ रोपनी क्षेत्रफलमा निर्माण भएको ‘हरिभवन’ तीन तलाको छ । प्राचीनकाल, मध्यकाल र आधुनिककाल गरी तीन कालखण्डको ढाँचामा उक्त भवन निर्माण गर्ने कामपाको योजना थियो ।

यसअघि पनि ‘सम्पदा बचाऔं’ अभियानकर्मीले उक्त दरबार संरक्षण गर्न आग्रह गर्दै आएका थिए । भत्काउने काम सुरु भएको तीन महिनामा सक्ने र १ अर्ब ५० करोड रूपैयाँको लागतमा पुनर्निर्माण गरिने कामपाको योजना थियो । भूकम्प र त्यसपछिका परकम्पनबाट कार्यालय सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको बागदरबारका राजश्व विभाग र सहरी विकास विभाग बाहेक कामपाका अन्य विभाग जिल्ला समन्वय समिति, बबरमहल, राष्ट्रिय सभागृह र सुन्धारामा रहेको जेडीए कम्प्लेक्समा सञ्चालन भइरहेका छन् ।

भीमसेन थापाले राजा गीर्वाणवीरविक्रम शाहबाट लालमोहर लगाएर धेरै जग्गा हात पारेको र विक्रम संवत् १८६८ तिर बागरदरबार बनेको इतिहासकार दिनेशराज पन्त बताउँछन् । उनी भन्छन्– ‘अहिलेको भवन बागदरबारको भवन होइन, बागदरबार धेरै जमिनमा बनाइएको र ठूलो थियो । हालको दरबार हरि शम्शेरले भोगचलन गरेका हुनाले हरिभवन भनिएको हो तर उक्त दरबारलाई बागदरबार भन्दा पनि फरक पर्दैन ।’

वि.सं. १९०१ मा भीमसेन थापाका भतिजा माथवरसिंह प्रधानमन्त्री भएपछि त्यसअघि सरकारीकरण भएको दरबार पुनः माथवरलाई नै फिर्ता गरिएको थियो । त्यसको एक वर्षपछि वि.सं. १९०२ मा तत्कालीन राजा राजेन्द्रको योजनामा उनकै भान्जा जङ्बहादुरबाट माथवरसिंहको हत्या भएपछि दरबारलाई पुनः सरकारीकरण गरिएको इतिहासकार पुरुषोत्तमशमशेर जबराको भनाइ छ ।

उपेन्द्रविक्रम शाहपछि उनका छोरा भूपेन्द्रविक्रमले त्यस दरबारलाई उपयोग गरेका थिए । वि.सं. १९९० को भूकम्पले त्यहाँको संरचना जीर्ण बनाएकाले पुनर्निर्माण गर्ने समयमा भूपेन्द्रविक्रमका जेठा छोरा मोहनविक्रम पुल्चोकतिर सरे । त्यसपछि उक्त दरबार जुद्धशमशेरका छोरीज्वाइँ हरि शमशेरले भोग चलन गरेकाले सो भवनलाई हरिभवन भनिएको हो ।

वि.सं. २००७ पछि सरकारी स्वामित्वमा रहेको सो दरबारमा केही समय अर्थ मन्त्रालय बसेको थियो । वि.सं. २०६० पुस २८ मा तत्कालीन श्री ५ को सरकारले उक्त दरबार कामपालाई दिएकाले त्यसै वर्ष चैत २७ देखि त्यहाँ महानगर सरेको थियो ।

प्रतिकृया दिनुहोस्

Google AdSense

न्युजकोसेलीसँग जोडिन यो पेज लाइक गर्नुहोस्–

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

Google AdSense

आजको विनिमय दर