newskoseli.Com

प्रक्षेपण भयो पहिलो नेपाली स्याटेलाइट : यसरी खुशी व्यक्त गरे शिक्षामन्त्री पोखरेलले (स्ट्याटससहित)

नेपालको इतिहासमै पहिलो पटक आफ्नै भूउपग्रह स्याटेलाइट प्रक्षेपण गरिएको छ । नेपाली समय अनुसार बिहीबार बिहान साढे २ बजे अमेरिकाको भर्जिनिया, वल्लोप्सद्विपस्थित प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको हाे ।

नेपाली झन्डा अङ्कित ‘नानो स्याटेलाइट’ ले इतिहास रच्दै यस दिनलाई नेपाली भूउपग्रह प्रविधिको विकासका लागि महत्त्वपूर्ण दिनका रुपमा स्थापित गरेको विश्वास शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले व्यक्त गरेका छन् ।

बिहीबार बिहान सामाजिक सञ्जाल ‘फेसबुक’ मा ‘स्ट्याटस’ लेख्दै मन्त्री पोखरेलले भनेका छन्– ‘अहिलेसम्म पूर्ण रुपमा अरुको स्याटेलाइटमा भर पर्नु परेको नेपाललाई नास्टको सहयोगमा बनाइएको र ‘नेपाल स्याट वान’ नाम राखिएको स्याटेलाइट आईएसएसका लागि कार्गो लिएर जाने एन्टारेस रकेटमा पठाइएको छ । यो स्याटेलाइटको प्रक्षेपणले नेपाललाई भूउपग्रहमा पूर्णरुपले आत्मनिर्भर बनाउन नसक्ने भए पनि पहिलोपल्ट नेपाली विद्यार्थीहरु आभाष मास्के र हरिराम श्रेष्ठको टोलीले बनाएको नेपालको झन्डा अंकित भूउपग्रह अन्तरिक्षमा पठाइनु नेपालीहरुको लागि अत्यन्त खुशीको कुरा हो ।’

मन्त्री पोखरेलले अगाडि लेखेका छन्– ‘यो स्याटेलाइटले लो अर्बिट अन्तर्गत पृथ्वीबाट ४ सय किलोमिटरको दुरीमा रहेर पृथ्वीलाई परिक्रमा गर्नेछ र एक पटक परिक्रमा गर्नका लागि यसलाई ९० मिनेट लाग्ने जानकारीमा आएको छ भने यसले दैनिक १६ पटक पृथ्वीको परिक्रमा गर्नेछ । यो १६ पटक पृथ्वीको परिक्रमा गर्ने क्रममा यसलाई पृथ्वीको भूतलको फोटो खिँच्ने कामका लागि प्रयोग गर्न सकिने छ र यसले नेपालमा रहेका रुख बिरुवाहरुको र यहाँको भौगोलिक अवस्थाका तस्बिरहरु मात्रै लिन सक्ने बताइएको छ ।’

स्याटेलाइट प्रक्षेपणप्रति प्रशन्नता व्यक्त गर्दै शिक्षामन्त्री पोखरेलले अन्त्यमा लेखेका छन्– ‘नेपाली युवा वैज्ञानिकहरुको सफलताले सम्पूर्ण राष्ट्र हर्षित छ । यस परियोजनालाई सफल बनाउन मद्धत गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु र मलाई आशा छ– आगामी दिनहरुमा हाम्रा वैज्ञानिकहरुले राष्ट्रको समृद्धिको यात्रालाई सही गति र दिशा दिने खालका सफल कार्यहरु सम्पन्न गर्नेछन्, यसमा सरकारको पूर्ण साथ सहयोग रहने पनि विश्वास दिलाउन चाहन्छु ।’

यस्तो छ मन्त्री पोखरेलको ‘स्ट्याटस’–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर